स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर निधन भएकाहरूको परिवार तथा आफन्तहरूलाई भेटेका छन्।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर बिहीबार मन्त्री पौडेलले जहाज दुर्घटनाका बारेमा अध्ययन गर्न सरकारले समिति बनाइसकेको र गहन रूपमा अनुसन्धान हुने बताए।
बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनीषरत्न शाक्य घाइते छन्। उनको उपचार भइरहेको छ।
जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखेर पोस्टमर्टम गरिएको छ। शव पोस्टमर्टम गरेपछि मात्रै परिवार तथा आफन्तलाई बुझाउने तयारी छ।
जहाज दुर्घटनामा परेकाहरूका परिवारका सदस्य तथा आफन्तहरूसँग त्रिवि शिक्षण अस्पताल परिसरमा मन्त्री पौडेलले कुराकानी गरेका हुन्।
मन्त्री पौडेलले शुक्रबारसम्म सबै शव पोस्टमर्टम गरेर परिवार तथा आफन्तलाई जिम्मा लगाउने तयारी रहेको बताएका छन्।
‘पहिचान भएको शवलाई भोलि बेलुकासम्म रिलिज गर्न सकिन्छ। छिटोभन्दा छिटो शव पहिचान गर्ने गरी काम भइरहेको छ,’ उनले भने।
उनले जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको र ४५ दिनको समय दिइएको बताए।
(न्युज एजेन्सी नेपाल)