परराष्ट्रमन्त्री आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताएकी छन्।
संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरूले राखेका जिज्ञासामा उनले सो स्पष्ट पारेकी हुन्।
सांसदहरूले नेपाल सरकारले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्ने बारेमा परराष्ट्रमन्त्री राणासँग सो प्रश्न गरेका हुन्।
मन्त्री राणाले भनिन्, 'यस परियोजनाको ‘फ्रेमवर्क डकुमेन्ट’ मा नेपाल सरकारले पहिले नै हस्ताक्षर गरिसकेको छ। अब यसको कार्यान्वयनको मोडल के कस्तो हुने, यसलाई अनुदान या ऋण केमा सञ्चालन गर्ने भन्ने विषय निर्णय भइसकेको छैन, सर्वपक्षीय रूपमा सबैसँग आवश्यक छलफल गरी पछि निर्णय गर्नेछौं। यसमा व्यापक छलफल गर्नेछौं, जसरी एमसिसी परियोजनाका बारेमा पनि सबैसँग व्यापक रूपमा छलफल गरेर नै संसद्ले पारित गरेको थियो।'
परराष्ट्रमन्त्री राणाले नेपालले परराष्ट्र नीति निर्माण तथा कार्यान्वयन गर्दा नेपालको राष्ट्रियता, नेपालको हित र नेपाली नागरिकलाई केन्द्रमा राखेर बनाइने स्पष्ट गर्दै नेपालमा निर्माण हुने वैदेशिक सहायताका परियोजनाहरूमा पनि यो पक्षलाई राम्रोसँग ध्यान दिइने धारणा राखिन्।
सांसदहरूको जिज्ञासामा मन्त्री राणाले नेपालको परराष्ट्र नीति पञ्चशीलका सिद्धान्तका मूल्या मान्यता एवं असंलग्नतामा आधारित नै हुने पनि स्पष्ट पारिन्।
इपिजीको प्रतिवेदनका विषयमा सोधिएको एक प्रश्नमा उनले भनिन्, ‘सो प्रतिवेदन दुवै देशको सहमतिबाट नै बुझ्ने भन्ने रहेछ, तर कहाँ गएर रोकिएको छ भन्ने विषयमा अध्ययन गरेर अघि बढिने छ।’
हाल बङ्गलादेशमा विकसित घटनाक्रममा सबै नेपाली नागरिक सुरक्षित रहेको जानकारी पनि उनले गराइन्। त्यहाँ अप्ठ्यारोमा परेका नेपाली विद्यार्थीहरूका लागि मन्त्रालयले अलग्गै डेस्क राखेर तथा ढाकास्थित नेपाली दूतावासलाई सक्रिय गराएर नेपाल आउन चाहनेलाई यहाँ आउनका लागि सहजीकरण गरिएको र बाँकी त्यहाँ रहेकाहरुको सुरक्षाका लागि ध्यान दिन निर्देशन दिइएको पनि मन्त्री राणाले जानकारी दिइन्। उनले हिजोसम्म करिब एक हजार चार सय विद्यार्थी नेपाल आइसकेको र त्यहाँ रहेकाहरू पनि सुरक्षित रहेका पनि जानकारी गराए।
विदेशी भूमिमा यस्तै प्रकारका असहज परिस्थितिहरू उत्पन्न हुन जाँदा नेपालले आफ्ना नागरिकको उद्धारका लागि राष्ट्रियस्तरको कुनै त्यस्तो मापदण्ड नबनाएकाले नेपालीहरूको उद्धारका लागि अप्ठ्यारो हुने गरेको बङ्गलादेशको यो पछिल्लो घटनाबाट पाठ सिकिएकाले आगामी दिनमा यस कार्यका लागि एक विशेष प्रकारको मापदण्ड निर्माण गरिने पनि उनले जानकारी दिइन्।
त्यसैगरी, रूस युक्रेन युद्धका कारण रूसी सेनामा रहेका नेपालीहरूको उद्धार र देश फिर्तीका लागि उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको पनि जानकारी गराइन्। रूसी सेनामा ३४ जना नेपालीले ज्यान गुमाएका, २२ जनाको डिएनए परीक्षणका लागि दिइएको पुष्टि हुन बाँकी रहेको र युक्रेनमा युद्धबन्दीका रूपमा छजना रहेका जानकारी पनि उनले दिइन्।
त्यस्तै, इसराइल प्यालेस्टाइन युद्धमा बेपत्ता बनाइएका विपिन जोशीको उद्धारका लागि नेपाल सरकारले सुरूदेखि नै उच्च तहमा द्विपक्षीय बहुपक्षीयस्तरमा कूटनीतिक पहल निरन्तर रूपमा गर्दै आएको पनि मन्त्री राणाले जानकारी दिइन्। रासस