गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्ने बताएका छन्।
बुधबार ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो।
जहाजमा रहेका क्याप्टेन मनीष शाक्य मात्रै जीवित छन् भने १८ जनाको मृत्यु भएको छ।
घटनास्थल निरीक्षमा पुगेका गृहमन्त्री लेखकले दु:खद घटना घटेको र यसको छानबिन गर्ने बताएका छन्।
‘दु:खद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौं,’ लेखकले पत्रकारहरूसँग भने, ‘विस्तृतमा छानबिन गर्छौं, दुर्घटना कसरी र किन भयो भन्ने पनि अध्ययन गर्नुपर्यो। अध्ययन गरिसकेपछि दुर्घटना नहुनेतर्फ ठोस कदम चाल्नुपर्छ।’
गृहमन्त्री लेखकले हवाई दुर्घटना न्यूनीकरणका लागि नीतिगत, कानुनी, प्राविधिक र जनशक्तिलगायतमा ठोस रूपमा सरकारले काम गर्ने पनि बताए।
जहाज दुर्घटनापछि अग्निनियन्त्रकहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत उद्धारमा खटिएका थिए।
क्याप्टेन शाक्यलाई उद्धार गरेर उपचार गर्न अस्पताल पुर्याइएको थियो। उनी बोल्न सक्ने र खतरामुक्त अवस्थामा रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
सौर्यको ९ एन-एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो।
यो पनि: सौर्य एयरलाइन्स दुर्घटनामा १७ नेपाली र एक यमनका नागरिकको मृत्यु