लुम्बिनीमा नेकपा एमाले र नेपाली कांग्रेसले आधा-आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेका छन्।
बुधबार बिहान दुई प्रमुख सत्ता साझेदार दलहरू बीचमा भएको सहमति पत्रमा पहिलो चरणमा एमाले र दोस्रो चरणमा नेपाली कांग्रेसले नेतृत्व गर्ने भन्ने लिखित सहमति गरेका छन्। सहमति पत्र अनुसार यी दुई दलले प्रदेशमा आधा/आधा समय नेतृत्व गर्ने भएका छन्।
त्यस्तै, सरकार सञ्चालनका एमाले र कांग्रेसबाट ३/३ सदस्य गरी ६ सदस्य कार्य सम्पादन समिति गठन गरिएको छ। एमालेबाट मन्त्रीसमेत रहेका भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र बुधबार मात्रै प्रमुख सचेतकबाट राजीनामा दिएका तुलसीप्रसाद चौधरी छन्।
कांग्रेसको तर्फबाट प्रमुख सचेतक जन्मजय तिमिल्सिना, मन्त्री धनेन्द्र कार्की र बैजनाथ कलवार छन्।
दुई दलका बीचमा भएको सहमति अनुसार सरकार सञ्चालनका सम्बन्धमा मन्त्रिमण्डल गठन, जिम्मेवारी बाँडफाँट, नीतिगत र कार्यसम्पादनमा एकीकृत धारणा बनाउनका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्ने सहमति पनि भएको छ।
सरकार सञ्चालनका लागि नीतिगत सोच र दृष्टिकोण प्रारूप निर्माण तथा निर्देशन गर्नका लागि दुई दलका प्रमुखहरू रहने व्यवस्था गरिएको छ।