नेकपा (माओवादी केन्द्र)का वरिष्ठ अध्यक्ष नारायणकाजी श्रेष्ठले जिम्मेवारी दिए नेतृत्व सम्हाल्न तयार हुनपर्ने बताएका छन्।
नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा बुधबार बिहान पेरिसडाँडामा आयोजित कार्यक्रममा श्रेष्ठले अध्यक्ष प्रचण्डले चाहेको खण्डमा आफूहरू नेतृत्व लिन तयार रहनुपर्ने बताएका हुन्।
‘अध्यक्ष कमरेडले मैले ३५ वर्ष पार्टीको अध्यक्षता गरेँ, मैले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये कोहीलाई तपाईंहरु अब चलाउनुस् भनेर कुनैदिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ,’ उनले भने।
यसरी रूपान्तरण प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्षले गरेर अघि बढ्नु र त्यसमा सबैले साथ दिनु अहिलेको आवश्यकता रहेको उनले बताए।
श्रेष्ठले माओवादी केन्द्रका लागि सरकारमा रहनु वा बाहिर आउनु ठूलो कुरा नभएको पनि बताए। यद्यपि अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भूमिका महत्वपूर्ण रहने बताए।
‘त्यसको आवश्यकताअनुसार हामी अघि बढ्छौँ। सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक, आक्रोशको ढंगले प्रस्तुत गर्दैनौं। हाम्रो पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैं प्रयत्न भइरहेको छ। जुन सरकार अहिले बनेको छ, त्यो सरकारले के राष्ट्रियताको रक्षा गर्दछ, जो हामीले दृढतापूर्वक अघि बढाएका थियौँ। उपलब्धि रक्षा गर्नुको सट्टा प्रतिगमनतिर लैजाने त होइन भन्ने आशंका आएका छन्,’ उनले भने।
यसप्रति सचेत हुनुपर्ने पनि उनले बताए।
वर्तमान सरकारले सुशासन स्थापित भन्दा भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर त जाँदैन भन्ने प्रश्न आएको पनि उनले बताए।