लुम्बिनी प्रदेश सभाबाट राजीनामा घोषणा गरेका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन्।
आइतबार बसेकाे प्रदेश सभाको बैठकमा विशेष सम्बाेधन गर्दै मुख्यमन्त्री महराले राजीनामा दिएको घाेषणा गरेका थिए। राजीनामाको घोषणा पछि आइतबार साँझ नै प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा पत्र बुझाएका हुन्।
मुख्यमन्त्री महराकाे राजीनामासँगै लुम्बिनीमा अब नयाँ सत्ता समीकरण अनुसार सरकार गठन गर्ने बाटो खुलेको छ। केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए।
महरा गत चैत्र २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए। एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका महराले राजीनामा दिँदा भने उनको पक्षमा ११ जना मात्र सांंसद छन्।
८७ सदस्यीय प्रदेश सभामा केन्द्रीय समीकरण अनुसार एमाले र कांग्रेस सरकारका लागि स्पष्ट बहुमत छ। लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांंसद छन्। सरकार गठनका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ।