नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महनिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा दिएको अभिव्यक्तिप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा संघीय सांसदहरुले आपत्ती जनाएका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो संचालनको विषयमा विहिबार साँझ भैरहवामा आयोजित कार्यक्रममा बोल्ने क्रममा महानिर्देशक प्रदीप अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानहरुका लागि बजार नभएकाले यसलाई आन्तरिक विमानस्थल बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए।
‘भैरहवा, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सबै क्यान अन्तर्गतकै भएकाले काठमाडौं आउने जहाज घटाएर भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न सकिएला तर, बजारका हिसाबले हेर्ने हो भने काठमाडौंबाहेक अर्को विमानस्थल चल्न सक्दैन यही सत्य हो,’ महानिर्देशक अधिकारीले भने।
अहिले विभिन्न पाँचवटा विमान कम्पनीले भैरहवाबाट सातामा २४ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको तर, यात्रु नहुँदा कतिपय विमानहरु भैरहवामा अवतरण र उडान मात्र गर्दै आएकाले यो विमानस्थल चल्न नसक्ने बताएका थिए।
‘अहिले पनि धेरै दवाब र विरोधकाबीच विमान कम्पनीहरुलाई डण्डा लगाएर भैरहवा पठाइएको छ जुन टेक्निकल कारणले हो भन्नेपनि सबैले बुझेकै कुरा हो। यत्तिको विमानस्थल आन्तरिक पनि चाहिन्छ भनेर चित्त बुझाउनुस् के गर्नु छ अब उपाय यहि हो यसको,’ अधिकारीले भनेका थिए।
महानिर्देशक अधिकारीले अहिले सधैभरी घाटा खाएर विमानस्थल सञ्चालन नहुने बताएर कार्यक्रमबाट बाहिरिएका थिए।
कार्यक्रममा बोल्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले बनाएको कार्ययोजनालाई खण्डित हुने गरी बोल्ने अधिकार सरकारी निकायमा रहेका कुनैपनि कर्मचारीलाई नभएको भन्दै जनतालाई निराशा बनाउने खालका अभिव्यक्ति बन्द गर्न सचेत बनाए।
सरकारले आवश्यकता देखेर भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको र यसको संचालनका लागि पनि कार्ययोजना बनाइरहेको उल्लेख गर्दै सरकारको निर्णय कार्यान्वयन गर्ने तहमा बसेका व्यक्तिले नै नकारात्मक अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएका थिए।
‘विमानस्थल सञ्चालनको योजना सरकारले बनाउने हो सम्बन्धित निकायमा बसेकाहरुले सरकारका योजनालाई कार्यान्वयन गर्ने हो तर, विमानस्थल संचालनका लागि श्रम, स्वास्थ्य, भिसा सम्बन्धि कार्यालय सञ्चालन गर्न सरकारले दिएका निर्देशन र निर्णय कार्यान्वयन नगर्ने विमानस्थल चल्दैन भनेर अफवाह फैलाउने कार्यप्रति मेरो आपत्ती छ,’ मुख्यमन्त्री आचार्यले भने।
मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय उडानले बुटवल भैरहवामा मात्र नभई सिंगो लुम्बिनी प्रदेशमा उत्साह जगाएको बताउँदै संघीय सरकारलाई यहाँबाट भिसा स्वीकृति, श्रम स्वीकृति र स्वास्थ्य परिक्षणको काम अघि बढाउन आग्रह गरे।
विमानस्थल सञ्चालनमा आएपछि लगानीको थप वातावरण तयार भएको र सरकारले लगानीमैत्री कानुन बनाएरै लगानीकर्तालाई आकर्षित गर्ने बताए।
‘मन खोलेर लगानी गर्नुस, सरकार वातावरण बनाउन प्रतिबद्ध छ। कानुन बाधक छन् भने हामी त्यसलाई संशोधन गर्न तयार छौं,' उनले भने।
मुख्यमन्त्री आचार्यले नियमित उडानका लागि नै विमानस्थलमा जहाजहरु आउन थालेकाले अब उडान नरोकिने बताए।
‘चीनको सिचुआनबाट पनि गौतमबुद्ध विमानस्थलमा सिधा दैनिक उडानका लागि पनि पहल गरेका छौं,' उनले भने।
हालै चीनको सिचुआन प्रान्तको भ्रमणको क्रममा लुम्बिनीमा सिधा हवाई उडानको बारेमा प्रस्ताव राखेको मुख्यमन्त्री आचार्यले बताए।
‘भर्खर म चीन गएर आएँ। चिनको सिचुवानबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि दैनिक उडान गराउनुपर्छ भनेर कुरा राखेको छु,' उनले भने, ‘त्यहाँको प्रदेश सरकारले हामीले संघीय सरकारसँग कुरा गरेर अगाडि बढाउँछौं भनेको छ। अन्तर्राष्ट्रिय फोरमहरुमा हामीले यो कुरा गरिरहेका छौं,’।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पनि महानिर्देशक अधिकारीको अभिव्यक्तिबारे आपत्ति जनाए।
‘जिम्मेवार निकायमा रहेका व्यक्तिको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति प्रति मैले खेद व्यक्त गर्दछु,’ ढकालले भने।
संघीय सांसद बासुदेव घिमिरेले सरकारले विमानस्थल चल्छ भनेर चलाएपछि त्यसकाविरुद्ध नकारात्मक सन्देश प्रवाह गर्ने अधिकार कसैलाई पनि नभएको बताए। उनले संचालन गर्नेबित्तिकै नाफा खाएका कुनैपनि व्यवसाय नहुने भन्दै विमानस्थलपनि एक प्रकारको व्यवसाय भएकोले संचालन गर्ने बित्तिकै नाफा हुन्छ भनेर नसोच्न आग्रह गरे।
‘सुरु हुनेबित्तिकै नाफा हुने व्यवसाय कुन छ,विमानस्थल पनि त्यस्तै हो, सरकारले घाटा सहेर भएपनि संचालन गर्ने भनेपछि सरकारको निर्णय कार्यान्वयन गर्ने निकायले निर्णय कार्यान्वयन गर्ने हो, जनतालाई निराश बनाउँदै हिँड्ने छुट कसैलाई छैन,’ घिमिरेले भने।
उनले विमानस्थल सञ्चालन भयो भनेर उत्साहित भइरहेको निजी क्षेत्रलाई उत्प्रेरणा दिनुपर्ने व्यक्तिले विमानस्थल चल्दैन यसलाई आन्तरिक बनाउनुस् भनेर निराशा बाँड्दै हिँड्नु आपत्तिजनक रहेको बताए।
कार्यक्रममा उद्योगी, व्यवसायीहरुले विमानस्थल चलायमान हुँदा बेग्लै आशाको सञ्चार भएको र यसलाई कायम राख्दै दिगो बनाउन आग्रह गरेका थिए।
विमानस्थलमा आरएनपी एआर प्रविधि जडानको तयारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रविधि जडानको तयारी गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले कम भिजिबिलिटीमा पनि जहाजहरु उडान तथा अवतरणका लागि आरएनपी एआर प्रविधि जडानको तयारी अगाडी बढेको बताए।
भुलका अनुसार आरएनपी एआर प्रविधि भू–उपग्रहमा आधारित प्रविधि हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिउँद याममा लाग्ने बाक्लो हुस्सुका कारण जहाजहरुको अवतरण तथा उडान प्रभावित हुने भएकोले कम भिजिबिलिटीमा पनि जहाज उडान अवतरण गराउन मिल्ने प्रविधि जडानको तयारी गरिएको हो।
आगामी माघ महिनाभित्रै आरएनपी एआर प्रविधि जडान गर्ने गरी तयारी अघि बढेको भुलले बताए।
यसअघि नै विमानस्थलमा जडान गरिएको आइएलएस क्याट टु (इन्स्ट्रमेन्टल ल्यान्डिङ सिस्टम) को विकल्पमा आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको हो। यो प्रविधि संचालनमा आएपछि आठ सय मिटर हाराहारीको भिजिबिलिटीमा पनि जहाज नियमित उडान हुन सक्नेछ।
हाल भैरहवामा भिओआर डिएमई (परम्परागत प्रविधि) मा आधारित उडान तथा अवतरणका लागि एकहजार आठसय मिटर सम्म भिजिबिलिटी आवश्यक पर्छ। तर बाक्लो हुस्सु लाग्ने भैरहवामा पुस माघ महिनामा भिजिबिलिटी अत्यन्त न्यून हुन्छ।
जहाजहरुको उडान तथा अवतरण प्रभावित हुन थालेपछि भू–उपग्रह (स्याटलाइट बेस नेभिगेसन) मा आधारित रहेर आरएनपी एआर जडानको प्रक्रिया अगाडि बढाइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
हाल विमानस्थलमा जडान गरिएको आईएलएस प्रविधि सञ्चालनका लागि भारतबाट अनुमति नपाएपछि त्यसको विकल्पमा आफू भैरहवा आएपछि नै आरएनपी एआर प्रविधि जडानका लागि प्रक्रिया अगाडि बढाएको तिवारीको भनाइ छ।
आरएनपी एआर नेभिगेसन प्रणालीले बाक्लो हुस्सु र कुहिरो लागेको खराब मौसममा पनि जहाजलाई सुरक्षित उडान अवतरणका लागि मद्दत पुग्ने उनले बताए।
तिवारीका अनुसार उक्त प्रविधि जडानका लागि विमास्थलले थप खर्च गर्नुपर्दैन। विमान कम्पनीहरु जसको जहाजमा त्यो उडान विधिमा अवतरण गर्ने प्रणाली छ ती जहाजहरु त्यही प्रविधिमार्फत कम भिजिबिलिटीमा पनि अवतरण गर्न सक्छन्।