प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावमा छलफल चलिरहेको छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावमा दुई घन्टा छलफल चल्ने सुरूमै बताएका थिए।
विश्वासको मतको प्रस्तावमाथि छलफल भइरहँदा सदनमा सांसदको संख्या पातलिँदै गएको छ।
आश्चर्यको कुरा त प्रधानमन्त्री नै आफ्नो प्रस्ताव राखेर संसदबाट बाहिरिएका थिए।
उनले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोलुञ्जेल सुने। आफूलाई मत नदिने बताइसकेका दल बोल्न थालेपछि बाहिरिए।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री नभएकोबारे टिप्पणी गरेनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रधानमन्त्री भए, नभएको ख्याल गरेनन्।
तर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको रित्तो कुर्सीतिर हेर्दै कतै बसेर सुनिरहनुभएको होला भन्दै प्रधानमन्त्री निर्वाचित भएकोमा खुसी व्यक्त गरे। धन्यवाद भने। अन्तिममा प्रस्तावको पक्षमा मत नदिने बताए।
सबैभन्दा कडा टिप्पणी माधवकुमार नेपालको थियो।
‘सर्वप्रथम त प्रधानमन्त्री नियुक्त हुनुभएकोमा केपी शर्मा ओलीलाई औपचारिकरूपमा बधाई ज्ञापन गर्न चाहन्छु। मैले प्रधानमन्त्रीज्यूलाई देखिरहेको छैन। उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनुभएको छ। तर उहाँ यो हलबाट बेपत्ता हुनुहुन्छ। उहाँले संसदलाई महत्त्व नदिएको लाग्यो। उहाँका लागि महत्त्वपूर्ण कुरा भनेको आजको सदनमा आजको पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचार, धारणाहरू सुन्ने धैर्य राख्नुपर्छ,’ उनले भने, ‘सम्भवतः अरूका वचन सहन नसक्ने ठान्नुभएको हो कि क्या हो ? तर कसैका वचन पनि कटु निस्किएका छैनन्। कर्णप्रिय छन्। मेरा पनि कर्णप्रिय नै होलान् भन्ने ठान्छु। मात्रै उहाँको उपस्थितिका निम्ति सम्झाउन खोजेको हुँ।’
यसपछि सदनमा भएका अरू सांसदले प्रधानमन्त्रीको कुर्सीतिर हेर्दै मुखामुख गर्न थाले।
विश्वासको मत मागिसकेपछि छलफलमा भाग लिएका दलका नेताहरूले उठाएका प्रश्न सुनेर त्यसको जवाफ दिनु प्रधानमन्त्रीको नैतिक दायित्व हो।
तर एमालेका मुख्य सचेतक महेश बर्तौलाले सचिवालयले टिपिराखेको छ भन्ने जवाफ दिए।
सेतोपाटीसँग कुरा गर्दै उनले प्रधानमन्त्री संसद बाहिर नगएको र पूरा समय सुन्न अनुकूल नहुने प्रकृतिको जवाफ दिए।
‘उहाँ यही सदनमै हुनुहुन्छ। उहाँले पनि सुन्नुभएको छ। सचिवालयले पनि टिपिराखेको छ। त्यसैको आधारमा जवाफ दिनुहुन्छ,’ उनले भने।
यसबारे हामीले संसद सचिवालयका कर्मचारीलाई पनि सोधेका छौं।
संघीय संसद भवनभित्र प्रधानमन्त्रीको छुट्टै कक्ष छ। प्रधानमन्त्री त्यहाँ बसेर आराम गर्ने, भेटघाट गर्ने गर्छन्।
विश्वासको मत मागेर प्रधानमन्त्री ओली त्यहीँ गएका थिए। त्यहाँ ३२ इन्चको टेलिभिजन राखिएको छ। त्यहीँबाट आफ्नो विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सुनेको ती कर्मचारीले बताए।
माओवादी सांसद वर्षमान पुन बोलिरहेका बेला बाहिरिएका प्रधानमन्त्री ओली राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी बोलिरहेका बेला प्रतिनिधि सभा बैठक कक्षमा पुगेका छन्।