जनता समाजवादी पार्टीका सांसदसमेत रहेका पूर्व वन मन्त्री वीरेन्द्रप्रसाद महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको बताएका छन्।
छोराको समकक्षता पत्र लिन सानोठिमी गए पनि समयमा काम नभएपछि ५ हजार रुपैयाँ घुस दिएको र काम बनेको महतोले आइतबारको प्रतिनिधि सभा बैठकमा सुनाए।
‘म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु, कसले पत्याउँछ? पत्याउनु हुन्छ? मेरो छोराको समकक्षता गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म यो मिलेन त्यो मिलेन भने। म आफै गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भने,’ उनले भने, ‘कागज मिलेन भन्दै चिया खाने समय भयो भने ४ बजेसम्म आएनन्। बिचौलियालाई गएर ५ हजार दिएँ, ५ मिनेटमा काम गरेर ल्याइदियो। अनि हामी सुशासनको कुरा गर्छौं।’
उनले देशमा तलदेखि माथिसम्म बिचौलिया र भ्रष्टाचारले जरो गाडेको पनि बताए।