राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू खुसी भएको बताएका छन्।
प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वास मतको प्रस्तावमाथि छलफलमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले तर प्रधानमन्त्री ओलीलाई विश्वास मत भने नदिने बताए।
‘केपी शर्मा ओली प्रधानमन्त्री बन्नु हुँदा स्वाभाविक रूपमा प्रतिपक्षी दलहरूमध्ये म बेसी खुसी हुन्छु, किनभने दुईचोटि मेरो पार्टीले उहाँलाई मत दिएको छ र मैले पनि मत लिएको छु,’ उनले भने, ‘फेरि पनि उहाँलाई बधाई दिन चाहन्छु। गएको चुनावमा तीन जिल्लामा हामी मिलेर चुनाव लडेका थियौं।’
एमालेलाई प्रतिनिधि सभामा १० र प्रदेश सभामा २२ ठाउँमा सहयोग गरेको लिङ्देनको भनाइ छ।
‘अन्य दलहरूसँग पनि हाम्रो सम्बन्ध राम्रो छ। तर एमालेसँग विशेष छ,’ लिङ्देनले भने, ‘एमाले नेतृत्वमा सरकार बन्दा र ओली प्रधानमन्त्री हुँदा हामी खुसी छौं।’
उनले विश्वास मत भने नदिने बताएका छन्। एमाले महासचिव शंकर पोखरेलले एक अन्तर्वार्तामा दुई दलीय व्यवस्थामा जानुपर्ने कुरा बताएको पनि उनले बताए।
‘कांग्रेस-एमाले मात्रै भएको देश कस्तो हुन्छ होला? अरू दलहरू हुँदा त यस्तो छ,’ उनले भने, ‘यो खतराबाट देशलाई जोगाउनको लागि पनि राप्रपा प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं।’
मुलुकमा अस्थिरता ल्याउनुमा दुई ठूला मुख्य दलहरू दोषी रहेको उनले आरोप लगाए। ठूला दलको प्रवृत्ति र चरित्रका कारण राजनीति अस्थिर भएको पनि उनले बताए।
प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।