नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यूटावर निर्माण गरी कस्तो विकासको मोडल तयार पारेको भन्दै प्रश्न गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले दमकमा भ्यू टावर निर्माण गरी उर्जा-उत्पादनमा लगानी गरेको हो वा रोजगारी सिर्जनाको क्षेत्रमा लगानी गरेको भन्दै प्रश्न गरेका छन्।
उनले आफ्ना पुराना कार्यकाल हेरेर विकासको मोडल कस्तो थियो भनेर हेर्न पनि अनुरोध गरेका छन्।
‘विकासको मोडल कस्तो छ सम्माननीय प्रधानमन्त्री ज्यूको एक पटक फर्केर हेर्नुस् साढे तीन वर्षमा। दमकको भ्यू टावर कति अर्बको हो, प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यू टावर सुरू गरेपछि देशैभरिका ७५३ पालिकाहरूले गाउँगाउँमा भ्यूटावर बनाउन सुरू भएको होइन?,’ उनले प्रश्न गरे, ‘नेतृत्वले उर्जा उत्पादनमा लगानी गरेको हो कि रोजगारी सिर्जना गर्नेमा लगानी गरेको हो?’
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भन्दै विदेशबाट लिइएको ऋणलाई त्यसमा प्रयोग गरेको पनि आरोप लगाए। त्यस्तै प्रकृतिको काम गर्न नहुने पनि उनले बताए।
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा ऋण लिएर लगाएको अभ्यास छ। जसमा जंगलको झारहरू उखेल्दै, क्याप लगाउने, केही ड्रेस लगाएर हिँड्ने अनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर केही कार्यकर्तालाई रोजगारी दिने अनि विदेशी ऋणलाई खर्च गर्ने ढंगले हुँदैन,’ उनले भने।
उनले सभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने बताएका छन्।