नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिने बताएका छन्।
गत असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय पनि उल्लेख छ। त्यसतर्फ लक्षित गर्दै सभापति देउवाले अहिलेको व्यवस्था थप सुदृढ हुने गरी संविधान संशोधन गरिने बताए।
प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वास मतको प्रस्तावमाथि छलफलमा भाग लिएर बोलेका सभापति देउवाले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ। संविधान प्रारम्भ भएको ८ वर्ष पूरा भएको छ। यसको सबल पक्ष र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो। संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिनेछ।’
संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबीच संवाद, सहमतिबाट गर्नु उचित हुन्छ भन्नेमा आफूहरू प्रष्ट रहेको देउवाको भनाइ छ।
सभापति देउवाले प्रधानमन्त्री ओलीलाई विश्वास मत दिने पार्टीको निर्णय भएको पनि बताएका छन्।
‘प्रधानमन्त्री अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ। उहाँका मन्त्रिमण्डलमा रहेका साथीहरू पनि योग्य र सक्षम हुनुहुन्छ,’ देउवाले भने, ‘उहाँहरूको नेतृत्वमा मुलुकले उन्नतीको नयाँ बाटो समात्नेछ भन्ने मैले विश्वास लिएको छु।’
सभापति देउवाले राजनीतिलाई स्थिरताका बाटोतर्फ उन्मुख गराउन अहिलेको सरकार बनेले सफल हुने विश्वास पनि व्यक्त गरेका छन्।
‘तसर्थ असार १७ गते भएको कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ रहनेछ र एमाले पनि दृढ रहनेछ भन्ने कुरामा पूर्ण रूपले विश्वस्त छु,’ उनले भने, ‘त्यसैले कांग्रेसले प्रधानमन्त्रीले मागेको विश्वास मतको प्रस्तावका पक्षमा मत दिनेछ। अन्य दलहरूलाई पनि विश्वास मतको पक्षमा मतदान गर्न अपिल गर्दछु।’