प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र सुशासनको निम्ति संविधान संसोधन गरिने बताएका छन्।
आइतबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले संविधान विकासको बाधक हुन नहुने र भएको खण्डमा त्यसलाई संसोधन गर्नुपर्ने बताएका हुन्।
तर त्यो संसोधन देश र जनताको हितमा हुने उनले बताए।
'विकासको निम्ति गर्नेछौं, सुशासनको निम्ति गर्नेछौं। जनतालाई सेवा सुविधा उपलब्ध गराउन गर्नेछौं। गलत दिशातर्फ देशलाई धकेल्नका लागि संविधान संसोधन गरिनेछैन,' उनले भने।
त्यसकारण आशा छ यस मामिलामा सिंगो देश एक हुने र राष्ट्रिय सहमति हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री ओलीले बताए।
उनले दुई तिहाइले संविधान संसोधन हुने भएपनि संसोधन गर्दा सबै मिलेर गर्नुपर्ने बताए। इतिहासमा पनि संविधान संसोधन गर्दा सबै दलहरू मिलेर गरिएको स्मरण गरे।
'दुई पटक संसोधन भइसक्यो। दुई तिहाईले मात्र होइन सबैले मिलेर बनाएका हौं। अहिलेसम्म सबैले मिलेर संसोधन गरेका छौं,' उनले भने, 'अर्को संसोधन पनि देशको हितको पक्षमा गर्नेछौं।'