प्रतिनिधि सभामा उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसा इन्टरभ्यूका लागि अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा प्रश्न उठेको छ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सत्तापक्षले त्यसको विरोध गर्दा प्रतिपक्षी दलका सांसदहरूले उपसभामुखको बचाऊ गरेका छन्।
अमेरिकी दूतावासलाई उपसभामुख राना मगरले पठाएको पत्रको विषयमा सुरूमै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाए। उनले यसरी पदको दुरूपयोग गरी पत्र पठाएपछि पदमा बसिरहन मिल्ने वा नमिल्ने भन्दै प्रश्न गरे।
‘संसदसँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिका भिसाको अन्तर्वार्ताको लागि प्रयोग गरेको पत्र हामीसँग प्राप्त भयो। यस्तो अवस्थामा उपसभामुखले अब संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन?,’ उनले प्रश्न गरे।
खतिवडाले संसदसँग कुनै पनि असम्बन्धित भएका व्यक्तिहरूको अन्तर्वार्ता मिलाइदिनका लागि किन पत्र लेखिएको भनेर उनले प्रश्न गरेका छन्। यसले संसदको मात्रै नभएर देशकै अपमान भएको उनले बताए। यसमा छानबिन गर्नुपर्ने उनको माग छ।
‘यो भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद हुन सक्दैन। कन्सल्टेन्सी जस्तो नबनाइयोस्,’ उनले भने।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपसभामुख राना मगरको बचाऊ गरे। उनले सत्तापक्ष संवैधानिक परिषदमा अल्पमतमा परेकाले यो नियोजित रूपमा ल्याइएको बताए।
‘उपसभामुखको विषय अहिले आयो। एक वर्षअघिको कुरा। राजनैतिक र नैतिक प्रश्न हो यो यसलाई स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘संवैधानिक परिषदमा तपाईंहरू अल्पमतमा परेको भनेर जुन उद्देश्यका साथ यसलाई हाइलाइट गरिएको छ यदी साँच्चै त्यो कुरा हो भने मान्छेका अधिकारका कुराप्रति, मान्छेको चरित्र हत्याप्रति यो संसदले न्याय गर्नुपर्छ।’
राजनीतिक र नैतिक प्रश्नका बारेमा छलफल गर्न सकिने पनि उनले बताए। तर संवैधानिक परिषदमा रातारात केही निर्णय गर्नका लागि नियोजित रूपमा यो मुद्दालाई अगाडि बढाइएको भए प्रतिपक्षले सशक्त ढंगले प्रतिवाद गर्ने पनि उनले बताए।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पनि उपसभामुख राना मगरको बचाऊ गरेकी छन्।
उनले उपसभामुखको नामबाट मिडिया ट्रायल भइरहेको समेत बताइन्।
‘उपसभामुख इन्दिरा रानामगरको नामबाट जुन मिडिया ट्रायल भइरहेको छ त्यसमा म घोर आपत्ति जनाउन चाहन्छु,’ उनले भनिन्, ‘यो पद्दति बनाउने हो भने यही छ नि हैन। सदनबाट, सडकबाट, एउटा अमुक मान्छेलाई भिसा चाहियो भनेर पुत्ला जलाउँदै, आम सभा गरेको यही सभाका सांसदहरूले होइन? यदी आचरणको कुरा गर्ने हो भने गरौं। सबै जनाको आचरण हेरौं। सबै जनाको लेटरप्याडबाट केके निस्किएको छ हेरौं। र साँच्चै पद्दति बनाऔं।’
उनले उपसभामुखले पठाएको पत्र महाअभियोग नै लगाउनुपर्ने विषय हो कि होइन भनेर प्रश्न पनि गरिन्।
‘तपाईंहरूलाई मनलाग्यो मिडिया ट्रायल गर्यो। मानव तस्करी भन्ने जस्तो ठूलो आरोप यस्तो आनन्दका साथ तपाईंहरूले घोषणा गर्नुभयो। घोषणा गर्नुस्। न त भुटानी शरणार्थी कसले गरेको हो भनेर। त्यो आँट छ?’
उनले विभिन्न चुनौतिको सामना गरी आएकी एक महिलालाई नहेप्न चेतावनी समेत दिइन्।
सुमनापछि बोलेका नेकपा एमालेका सांसद दामोदार पौडेल बैरागीले भने उपसभामुख रानामगरको विरूद्धमा बोलेका थिए। उनले सांसद सुमनाले मिडिया ट्रायल भनेर लगाएको आरोपको खण्डन पत्र स्वयंले गर्ने बताए।
‘मिडिया ट्रायल हो कि के हो पत्र आफैंले बोल्छ। पत्र मात्रैले बोल्दैन। स्वयं उपसभामुखको विज्ञप्ति पनि बोल्छ। मैले मानव तस्करी गरेको हो भन्ने बोल्छ त्यो पत्रले,’ उनले भने, ‘त्यसैगरी त्यतिमात्रे बोल्दैन। अझै मलाई बोल्न पर्दैन भन्ने लागेको थियो। नबोलौं कमिकमजोरी हुनपनि सक्छ भन्ने लागेको पनि थियो। तर फेरि देशको चौथो दल हौं, युवा हौं नयाँ हौं, उनीहरूले गरेनन् भनेर तथ्य बजार्नेहरूको विज्ञप्ति पढियो लेनदेन छ भन्ने उहाँहरूको विज्ञप्तिमा आयो। कसको लेनदेन छ कुरा चाहियो।’
इजराइलमा नेपालीले ज्यान गुमाउँदा, रूसमा नेपालीले ज्यान गुमाउँदा, भारतमा नेपाली अलपत्र पर्दा कसैको करूणाभाव नजागेको र कसैले विज्ञप्ति ननिकालेको भन्दै उनले टिप्पणी गरेका थिए।
पदको दुरूपयोग गरी महिलाहरूको सम्मेलनमा पुरूषलाई सिफारिस गरेको भन्दै उनले आपत्ति जनाए। यस विषयमा संसदले छानबिन गर्नुपर्ने उनको भनाइ छ।