जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्म बढेको बताएका छन्।
आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको बताएका हुन्।
उनले लोकतान्त्रिक संस्थाहरू विस्तारै प्रभावहीन हुँदै गएको बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र दुर्घटनामा जान लाग्दा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले ठूलो योगदान गरेको उनले बताए। संसद भंग गरी मुलुक स्वेच्छाचारी शासनतर्फ धकेलिँदा उनले योगदान गरेको बताए।
‘जुन बेला संसदलाई असंवैधानिक तरिकाले दुई-दुई पटक भंग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकेलिँदै गरिएको थियो। त्यो बेलामा लोकतन्त्र रक्षा गर्न, प्राप्त अधिकार जोगाउन, प्राप्त उपलब्धि संस्थागत गर्न आवश्यक थियो,’ उनले भने, ‘त्यो आवश्यक परेको बेलामा यहाँहरुले विद्रोह गर्नुभयो। र आज संघीय गणतन्त्रको रक्षा भयो। यो ऐतिहासिक आवश्यकता थियो।’
उनले आज पनि लोकतन्त्र विस्तारै कमजोर भइरहेको बताए।
अहिले लोकतन्त्रको खतरा राजनीतिक दलहरू भित्रबाट नै रहेको बताए।
-न्युज एजेन्सी नेपाल