नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन्।
आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै विश्वको ध्रुविकृत राजनीति, भूराजनीतिका कारणले नेपाल निकै ठूलो दबाबमा रहेको उनले बताए।
‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ। नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुविकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा छ भन्नेकुरा यहाँहरू सबैलाई थाहा छ,’ उनले भने।
उनले नेपाल सुन्दर र स्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताए।
‘हाम्रो देश सुन्दर पनि छ, हाम्रो देश निकै स्रोत साधनले सम्पन्न पनि छ। सुन्दरता र स्रोत साधनले सम्पन्न हुनु भनेको निकै चुनौतिपूर्ण हो,’ उनले भने, ‘सुन्दरतामा सबैको आँखा पर्छ। आज सम्पूर्ण कुतत्वहरूको आँखा नेपालमा परिरहेको पनि हामी राम्रोसँग देख्न सक्छौं।’