नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) को १० औं महाधिवेशन उद्घाटन समारोहमा आइतबार बोल्दै सभापति देउवाले एकीकृत समाजवादीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा नेपालको राजनीतिमा सकारात्मक, महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेको उल्लेख गरेका हुन्।
‘एकीकृत समाजवादीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्वपूर्ण, निर्णायक, भूमिका निर्वाह गरेको छ,’ उनले भने, ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत् मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्वपूर्ण एजेण्डा हुन्।’
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिवद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको सभापति देउवाले बताए।
‘भविष्यमा पनि यसको निरन्तरता हुनेछ भन्ने विश्वास लिएको छु,’ सभापति देउवाले भने।
सभापति देउवाले नेपालको राजनीतिमा, मुलुकमा शान्ति स्थापना गर्ने सवालमा, संविधान निर्माणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए।