स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले देशका सरकारी अस्पतालहरूमा जनशक्तिको चरम अभाव रहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा स्वास्थ्य मन्त्रालयको बजेटबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री यादवले अस्पतालहरूमा जनशक्ति अभावले भएका उपकरणहरू पनि सञ्चालनमा आउन नसकेको बताएका हुन्।
त्यसकारण आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो निर्णय नै देशभरका अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेको बताए।
उनले नेपालका सरकारी अस्पतालहरू २५ वर्ष पहिलेको जनशक्तिबाट चलिरहेको पनि बताए।
'विनाजनशक्ति केही हुँदैन। २५ वर्ष पहिलेको जनशक्तिले चलिरहेको छ। अस्पतालको माग धेरै छ तर जनशक्ति छैन। विना जनशक्ति उपकरण पठाए पनि के गर्ने, कसले चलाइदिने?,' उनले भने।
यसपालि अस्पतालहरूमा जनशक्ति बढाउन प्रधानमन्त्री र अर्थमन्त्री पनि सकारात्मक रहेको मन्त्री यादवले बताए।