काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा दुई दिनदेखि लगातार वर्षा भइरहेको छ। बिहीबार रातिदेखि पानी पर्न सुरू भएकोमा शुक्रबारदेखि लगातार झरी परिरहेको छ।
वर्षाका कारण काठमाडौं उपत्यकाका साना ठूला नदी खोलाहरुमा बाढी आएको छ। वर्षापछिको विपदमा परी काठमाडौं उपत्यकामा शनिबार ३२ जनाको मृत्यु भएको छ।
विभिन्न स्थानमा घर टहराहरूमा क्षति पुगेको छ भने सडकमै भल बग्दा यातायात समेत अवरूद्ध भएको छ।
देशका अन्यत्र भूभागमा पनि लगातारको वर्षाले अफरातफरी मच्चाएको छ।
मनसुनसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण लगातार पानी परिरहेको मौसमविद गोविन्द झाले जानकारी दिए। साथै अरब सागरबाट मोइस्चर (जलवाष्पयुक्त हावा) प्रवेश गरेका कारण पनि घनघोर वर्षा भएको उनले बताए।
उनले काठमाडौं उपत्यकामा शनिबार रातिदेखि वर्षाको परिमाण कम हुने बताएका छन्। आज रातिसम्म उपत्यकामा पानी पर्न केही रोकिने सम्भावना नरहेको उनले बताए।
'रातिसम्म पानी रोकिने र फेरि पर्ने क्रम चलिरहन्छ। इन्टेन्सिटी कम हुन सक्छ तर पानी परिरहन्छ,' उनले भने।
देशका अरू भूभागहरुमा पनि भोलिदेखि मौसम केही सुधार हुने सम्भावना रहेको उनले बताए।
'आज रातिदेखि तुलनात्मक रूपमा कम पानी पर्ने र भोलिदेखि मौसम थप सुधार हुने सम्भावना छ,' उनले भने।
यद्यपि केही स्थानहरूमा भोलि दिउँसो पनि भारी वर्षाको सम्भावना रहेको उनले बताए।
'शुक्रबार र शनिबारको भन्दा चाहीँ कम पानी पर्छ।त्यसपछि क्रमशः मौसम सुधार हुँदै जाने देखिएको छ,' मौसमविद झाले भने।
अर्का मौसमविद् शान्ति कँडेलले पनि भोलिसम्मै वर्षा हुने सम्भावना रहेको बताएकी छन्।
'पानी पर्ने क्रम भोलि बिहान सम्म जारी रहन्छ। तुलनात्मक रूपमा आज रातिदेखि थोरै कम हुने देखिन्छ। तर भोलिसम्म पर्छ। त्यसपछि क्रमशः सुधार हुँदै जान्छ,' उनले भनिन्।
शनिबार दिउँसोदेखि रातिसम्म पनि वर्षा निरन्तर भइरहने देखिएको उनले बताइन्।
'कतिखेर अलिकति खुलेको जस्तो हुने, कतिखेर केही नदेखिएको जस्तो हुने भइरहन्छ। पानी चाहीँ परिरहन्छ। निरन्तर नै रहन्छ,' उनले भनिन्।
मौसमविद् झाले अरब सागरबाट आएको मोइस्चर भएपछि पानी कम पर्ने बताए।
'अहिलेको प्रणाली जानका लागि मोइस्चर कट अप हुनुपर्छ,' उनले भने।