लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताएका छन्।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रको सेवाका लागि सरकार र समुदायबीच सहकार्य गरिने बताएका हुन्।
‘म गम्भीर रोगलाई जितेर यहाँसम्म आइपुगेको छु। बिरामी हुँदा कस्तो अनुभूति हुन्छ, परिवारले कस्तो संकट भोग्नुपर्छ त्यो सबै अनुभूति मसँग छ। त्यसैले स्वास्थ्य क्षेत्रमा बिरामी र तिनका परिवारले भोग्ने समस्याहरू समाधान गर्न सरकार तयार छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पनि मिल्यो, हामी सुधार गर्ने ठाउँमा छौं। अनुभूति हुनेगरी सुधार गर्छौं।’
मुख्यमन्त्री आचार्यले मुटुसँगै मिर्गौलाको उपचार र डायलाइसिस सेवालाई पनि सहज बनाउने बताए।
समुदायबाट स्वास्थ्य क्षेत्रमा गरिएको योगदानको प्रशंसा गर्दै उनले अस्पतालको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको जग्गा प्राप्ति र भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
पूर्वस्वास्थ्यमन्त्री विष्णु पन्थीले सरकारी स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको ढिलासुस्ती र लापरबाहीका कारण सरकारले स्वास्थ्य उपचारमा आलोचना खेप्नुपरेको भन्दै सरकारले गरेका नीति नियमहरूको कार्यान्वयन गर्ने तहमा बसेका कर्मचारीहरू नसुध्रिएसम्म कुनै पनि क्षेत्र सुधार गर्न नसकिने बताए।
उनले सरकारले अगाडि सारेका स्वास्थ्यका योजनाहरू कार्यान्वयन गर्न र सहज बनाउन कर्मचारी र स्वास्थ्यकर्मी पूर्ण रूपमा तयार हुनुपर्ने बताए।
‘कपिलवस्तुको जितपुरमा डायलाइसिस सेन्टरको अनुमति ल्याउन म आफै दुई वर्षसम्म धाउँदा पनि सकस परेको छ। दुई वर्ष निरन्तर पहल गर्दा बल्ल अनुमति ल्याउन सकियो, यस्तो ढिलासुस्तीले जनताले कहिले सहज र सुलभ रूपमा स्वास्थ्य सेवा पाऊन सक्छन्, कर्मचारी तहबाट ढिलासुस्ती हुनु राम्रो होइन,’ पन्थीले भने।
प्रदेशसभा सदस्य चिन्तामणि पाण्डेले समुदायले स्वतःस्फुर्त रूपमा सञ्चालन गरेका गैरनाफामूलक संस्थाले सरकारले सघाउनुपर्ने बताए।