अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकसँग फोनमा कुराकानी गरेका छन्।
अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्याएपछि प्रधानमन्त्रीले लेखकसँग फोनमा कुराकानी गरेका हुन्।
‘आज पनि देशैभर अविरल बर्षा भइरहेको छ। बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
त्यस्तै, उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमतामा खटाइएको उनले बताए।
‘सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउनु होला। मौसमविदहरूका अनुसार आज पनि वर्षा हुनेछ। उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं,’ उनले लेखेका छन्।