दाङको तुलसीपुर उपमहानगरपालिका – ११ हस्नापुरमा नेकपा एमालेका स्वर्गीय नेता श्रीमणि आचार्यको शालिक अनावरण गरिएको छ।
हस्नापुर–बेलटाकुरा खानेपानी संस्थाको परिसरभित्र उनको पूर्ण कदको शालिक स्थापना गरिएको हो।
आचार्यको शालिक एमाले महासचिव शंकर पोखरेल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरी लगायतले संयुक्त रूपमा अनावरण गरेका थिए।
श्रीमणिको शालिक निर्माणका लागि झन्डै २६ लाख जति आर्थिक संकलन भएको थियो।
तुलसीपुर–११ का वडाध्यक्ष मानबहादुर रावतले पूर्ण कदको शालिक निर्माण गरी दाङसम्म ल्याउन झन्डै दश लाख जति खर्च लागेको बताए। राजनीतिक मात्रै नभई श्रीमणि सामाजिक व्यक्तित्व भएका कारण सबै पार्टीका लागि उनी साझा व्यक्ति सरह भएको हुँदा सबैले सहयोग गरेको वडाध्यक्ष रावतले तर्क गरे।
श्रीमणिको शालिक स्थापना गरिएको हस्नापुर–बेलटाकुरा खानेपानी संस्थाको परिसर सार्वजनिक जग्गा हो। श्रीमणिले नै यी गाउँमा खानेपानीको समस्या समाधान गर्न यो आयोजनाको परिकल्पना गरेको वडाध्यक्ष रावतले बताए।
शालिक स्थापना भएको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सोही अनुरूप नयाँ संरचना निर्माण गर्ने उद्देश्य रहेको वडाध्यक्ष रावतले सुनाए।
शालिक अनावरणपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुरूमै एमाले महासचिव शंकर पोखरेलले स्व. श्रीमणिको ब्यक्तित्वका कारण शालिक अनावरण कार्यक्रम राजनीतिक सम्मेलन जस्तै बन्न पुगेको बताएका थिए।
कांग्रेस नेता दीपक गिरीले स्व. श्रीमणि निष्ठाको राजनीति गर्ने एक जना सामाजिक अभियन्ता भएको चर्चा गरे।
श्रीमणि एमाले दाङका संस्थापक नेता मध्येका हुन्। जो ८ वर्ष एमाले दाङको नेतृत्वमा थिए। हेकुली, श्रीगाउँ, उरहरी माविमा गरी साढे १९ वर्ष अध्यापनमा बिताएका अर्थशास्त्रका स्नातक उनी जागिरबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए।
२०१० सालमा जन्मिएका श्रीमणिको २०६४ पुस ३ गते क्यान्सरका कारण उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो।