अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य टुकाभद्र हमालले आरक्षण र समानुपातिक प्रणाली समानताको बाधक बनिरहेको बताएकी छन्।
महिलाहरूको सहभागिता कत्ति पनि नभएको अवस्थामा संविधानमै ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको भए पनि अब भने समानताको लागि लड्ने बेला आएको हमालले बताइन्।
अनेमसंघ रूपन्देहीको दशौं जिल्ला सम्मेलनको बुटवलमा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हमालले राणा शासनदेखि पञ्चायत फाल्न र बहुदलदेखि गणतन्त्र स्थापना गर्दासम्म महिलाहरूको लडाइँ ३३ प्रतिशतका लागि मात्र नभई समानताका लागि भएको उल्लेख गरिन्।
उनले नालापानीको युद्धदेखि राणा, पञ्चायत र राजतन्त्रको विरूद्धमा भएका हरेक आन्दोलनमा अग्रपंक्तिमा उभिएर लडेका महिलाहरू प्रतिफल पाउँदा भने सधैं पछाडि रहने गरेको बताइन्।
‘देशलाई उपनिवेशिक हुनबाट जोगाउन महिलाहरूले नालापानीमा पनि युद्ध लडेका थिए, मुलुकलाई राणा, पञ्चायत र राजतन्त्रबाट मुक्ति दिलाउन ०७ सालदेखि २०६२/६३ सालसम्मका हरेक आन्दोलनमा साधना प्रधान, साहना प्रधान, मंगलादेवी सिंह लगायत लाखौं महिलाहरूको रगत पसिना बगेको छ,’ उनले भनिन्।
केन्द्रीय अध्यक्ष हमालले अबको आन्दोलन आरक्षण र समानुपातिकभन्दा समानताका लागि हुनुपर्ने बताइन्।