बझाङ–१ को प्रदेश सभा उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ।
सोमबार दिउँसो सकिएको मत गणनाअनुसार एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१४ मत ल्याएका थिए। जबकि यो क्षेत्रमा जमानत जोगाउन उम्मेदवारले २ हजार ९७० मत ल्याउनुपर्ने थियो।
बझाङमा २९ हजार ७०५ मत सदर भएको थियो।
कुन उम्मेदवारले कति ल्याए मत? हेर्नुहोस्:
निर्वाचन आयोगका अनुसार जमानत जोगाउन उम्मेदवारले १० प्रतिशत सदर मत कटाउनुपर्ने हुन्छ।
आयोगका अनुसार प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्दा पाँच हजार रुपैयाँ धरौटी लाग्नेछ। महिला, दलित अल्पसंख्यक वा आर्थिक रुपले विपन्नहरूले धरौटी रकममा आधा छुट पाउँछन्।
सदर मतको १० प्रतिशत कटाउनले उक्त धरौटी रकम फिर्ता पाउँछ।
बझाङमा ११ हजार ६१३ मत ल्याएर एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याएका छन्। यी तीन जना उम्मेदवारले मात्रै धरौटी जोगाए।
राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत, नेपाल मजदुर किसान पार्टीलगायत ८ जना उम्मेदवारको धरौटी जफत भएको छ।
यो पनि: गठबन्धन नभएको बझाङको चुनावमा कसको कति मत?