प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।
नीति तथा कार्यक्रम प्रस्तुतपछि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन मंगलबार अपराह्न बसेको बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको हो।
सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेर वेल घेर्न पुगेका थिए। उनीहरूले 'सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गर' जस्ता नाराबाजी गरेका थिए।
सभामुख घिमिरेले महत्वपूर्ण कार्यसूची रहेको बताएका थिए। उनले अधिवेशन सुरू भएदेखि नै कतिपय पत्र र राष्ट्रपतिलाई धन्यवाद दिन नपाएको पनि बताएका थिए। उनले केही पत्र पढेर आजको कार्यसूचीमा जाने बताएका थिए।
उनले अध्यादेशलाई अधिवेशन सुरू भएकै दिनमा टेबल गर्नुपर्ने भए पनि अहिलेसम्म टेबल नभएको बताएका थिए।
कांग्रेस सांसदहरूले 'सहकारी ठगलाई कारबाही गर, संसदीय समिति गठन गर' जस्ता नारा लगाएका थिए।
कांग्रेस सांसदहरूले नाराबाजी गर्दा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी पनि बसेको ठाउँबाट उठेका थिए।
सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेले बोल्न समय माग गरेको पनि बताएका थिए।
कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आजको कार्यसूचीमा सबै कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराएका थिए।
सभामुख घिमिरेले प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको बताए।
प्रतिनिधि सभाले पनि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन पाएन। यसअघि राष्ट्रिय सभामा पनि कांग्रेस सांसदहरूले अवरोध गरेपछि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पेस हुन पाएको थिएन। राष्ट्रपति पौडेलले मंगलबार अपराह्न संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेको छ।
तस्बिरहरू: