राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले भारतले कडाइ साथ नाकाबन्दी नगरेकै कारण मधेस आन्दोलन असफल भएको बताएका छन्।
बुधबार आफ्नै पुस्तक ‘अधुरा क्रान्ति’ विमोचनमा बोल्दै महतोले संविधान जारी गरेपछि भारतले कडा रूपमा नाकाबन्दी नगर्दा मधेस आन्दोलन असफल भएको बताएका हुन्।
महतोका अनुसार भारतले कडाइ नाकाबन्दी नगरिदिँदा ६ महिना लामो मधेस आन्दोलन निरर्थक बनेको हो।
‘जति आयात अन्य समयमा भएको थियो, त्यति नै नाकाबन्दी भएको बेला पनि आयात भएको देखिन्छ। त्यतिबेलाको राष्ट्र बैंकको रिपोर्टले त्यही भनिरहेको छ। वीरगञ्जबाहेक अन्य नाका त खुलेकै थियो। वीरगञ्ज नाकामा हजारौं मधेसी जनता उपस्थित भएको र बुलडोजर लगाएर हटाउने अवस्था नभएकाले नाकाजाम भएको हो। त्यही भएर वस्तु आयात भएन। अन्य नाकाबाट ग्यासका बुलेट आएकै हो त!,’ उनले भने, ‘भारतले नाकाबन्दी गरेको भए त्यत्रो सामान कसरी आयो? नाकाबन्दी भारतले कसरी लगायो? नाकाबन्दी गर्यो, नाकाबन्दी गर्यो! हामी पनि परेशान, भारत पनि परेशान! नाकाबन्दी भारतले गरेको भए त भइहाल्थ्यो नि! नगरेर पो बिगार्यो त हामीलाई!’
महतोले सुगौली सन्धिअनुसार भारतले व्यवहार नगरेको पनि बताए। २०६४ फागुनमा दोस्रो मधेस आन्दोलन हुँदा त्यतिबेला पनि भारतकै मध्यस्थतामा ८ बुँदे सहमति गरिएको उनले बताए। सम्झौताअनुसार संविधान सभाको निर्वाचन भएको तर त्यसले मधेसीको माग पूरा हुने गरी संविधान बनाउन भारतले पहल नगरिदिएको उनको कथन थियो।
‘सुगौली सन्धिमा केही भूमि आदानप्रदान गर्ने गरी सीमा निर्धारण भयो। नयाँ मुलुकका रूपमा बाँके बर्दिया, कैलाली कञ्चनपुर नेपाललाई हस्तान्तरण गरियो। सुगौली सन्धिको दफामा यहाँका जनताप्रति कुनै प्रकारको विभेद, तलमाथि गर्नुहुँदैन भनेर तत्कालीन इष्ट इन्डिया कम्पनी र नेपालका बीचमा सहमति भएको थियो। तर सम्झौताअनुसार व्यवहार भएन,’ उनले भने, ‘२०६४ साल फागुन १४ गते दोस्रो मधेस आन्दोलनमा ८ बुँदे सम्झौता भारतको मध्यस्थतामा भएको थियो। त्यतिबेला नेपाल सरकारको अनुरोधमा भारत सरकारले मध्यस्थता गरेको थियो। त्यतिबेलाको सम्झौताअनुसार संविधान नबनाएपछि हामीले कसलाई भन्ने? भारतलाई भन्ने त हो। भारतले पूरा गराइदिनुपर्थ्यो!’
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक महतोले राजनीतिक जीवनी समेटिएको कृति लेखेका हुन्। कृतिलाई पाइन प्रकाशनले बजारमा ल्याएको हो।