महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौंमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन्।
सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको बताउँदै मन्त्री चौधरीले ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न नसकेको बताइन। 'सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको छ। तथापि, ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न सकिरहेको छैन', उनले भनिन्, 'नेपाल सरकार सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।'
बालबालिकाहरूका सन्दर्भमा सरकारले सबै बालबालिकालाई विद्यालयसम्म पुर्याउनका निम्ति कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उनले उक्त कार्यक्रमलाई क्रमशः माध्यमिक तहसम्म नै लैजाने विषयमा सरकार सकारात्मक र प्रतिबद्ध रहेको बताइन।
'विगत लामो समयदेखि सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यद्यपि यस विषयमा अझै बढाउनुपर्ने आवश्यकता छ', मन्त्री चौधरीले भनिन्, 'बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ । यस विषयमा नेपाल सरकारले सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।'