फेवातालमाथि पाममा हर्पनखोला किनारको सिमसार क्षेत्रमा घरेडी प्लटिङ छ। प्लटिङमा जग्गा कित्ताकाट गर्न ढुंगा–सिमेन्टको गारो लगाइएको छ। प्लटिङको बीचमा साँघुरो पक्की सडक छ।
प्लटिङमै जोडिएको अर्को जग्गामा खेती हुने गरेको छ। यसमा कास्कीकोटका जमुना गिरीले अधियाँ खेती गरेको ५८ वर्ष भयो। उनले खेती गरेको १२ रोपनी जग्गाको माथिल्लो भागमा पनि उसैगरी प्लटिङ गरिएको छ।
चारैतिर प्लटिङ गर्दा सिमसारबाट पानी बग्न पाएको छैन। धान काट्दै गरेको खेतमा दलदले हिलो छ। गिरीका अनुसार खेतबाट बग्नुपर्ने पानी प्लटिङले रोकेको छ।
‘खेतको पानी बगेर जाने ठाउँ प्लटिङले रोकिदिएको छ। प्लटिङ गर्दा सिमसार पुरिएको छ,’ उनी भन्छन्, ‘अब हाम्रो खेतमात्र प्लटिङ हुन बाँकी छ।’
गिरी परिवारले २०१८ सालमा खेती सुरू गर्दा ३८ मुरीसम्म धान फल्थ्यो। धान उत्पादन घट्दै गएर गत वर्ष २२ मुरीमात्र फल्यो। प्लटिङकै कारण यस वर्ष अझै उत्पादन घट्ने गिरीको भनाइ छ।
‘चारैतिर प्लटिङ छ। सिमेन्ट र ढुंगाको गारो लगाएका छन्। खेतबाट पानी बग्न पाएको छैन,’ उनी भन्छन्, ‘सरकारले सिमसार हो भनेर प्लटिङ गर्न रोक्नुपथ्र्यो। कृषि क्षेत्र भनेको भए पनि हुन्थ्यो। जथाभावी प्लटिङ गर्न दिँदा धान खेतमा उत्पादन आधा घटेको छ।’
गिरीले धान रोप्ने गरेको खेत २०३५ सालको नापीमा रूखकुमारी कोइरालाको नाममा दर्ता भएको थियो। उनको निधनपछि उनका छोराहरूका नाममा गएको छ।
गरी परिवारले २०१८ सालदेखि नै कोइराला परिवारलाई धानको अधियाँ बुझाउँदै आएको छ। सिमसार क्षेत्र भएकाले फेवाफाँटमा पानीको अभाव छैन। प्राकृतिकरूपमै मलिलो माटो भएकाले अतिरिक्त मल आवश्यक पर्दैन। हर्पन खोलाको पानी रसाएरै खेतमा आइपुग्छ।
प्लटिङले गर्दा फाँटको कृषि प्रणालीमा असर पर्न थालेको उनको भनाइ छ।
प्लटिङका कारणले फेवाफाँटमा गिरी धान रोप्ने गरेको खेतमा उत्पादन घटे पनि समग्र पोखरामा भने यसपालि उत्पादन बढ्ने प्रक्षेपण छ। पोखरा महानगरका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार यस वर्ष धान खेतीका लागि मौसम अनुकूल भएकाले उत्पादन बढ्ने प्रक्षेपण गरिएको हो।
‘यसपालि धान रोप्ने बेला पानीको अभाव भएन। मल र बिउको पनि अभाव भएन,’ उनले भने, ‘धान थन्क्याउने बेला पनि मौसम राम्रो भयो। धानमा क्षति भएन। यसपालि उत्पादन बढ्ने अनुमान छ।’
पोखरा महानगरमा ११ हजार दुई सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ। यसमध्ये आधा खेतमा सिँचाइ सुविधा उपलब्ध छ। गत वर्ष पोखरामा ३६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष ४० हजार मेट्रिक टन पुग्ने प्रक्षेपण गरिएको कडरियाले बताए।
पोखरामा धान फल्ने मुख्य फाँटहरू प्लटिङले मासिँदै गएको गिरीको भनाइ छ।
‘हेमजामा केही वर्ष अघिसम्म लहलह धान झुल्थ्यो। अहिले पूरै फाँट घर र प्लटिङले भरिएको छ,’ उनी भन्छन्, ‘अब हेमजाजस्तै फेवाफाँट पनि केही वर्षमा घरले भरिन्छ।’
कृषिको जमिन तीव्र गतिमा मासिँदै गएकोमा उनी चिन्तित छन्।
‘हेमजामा धानैधान हुन्थ्यो। अहिले घरैघर छन्। फेवा फाँटको हालत त्यस्तै छ,’ उनले स्थानीय जनप्रतिनिधिप्रति निराशा प्रकट गरे, ‘सबैभन्दा ठूलो कृषि हो नि! महानगरले कृषि क्षेत्रलाई आवास क्षेत्र बनाउन दिएपछि कसको के लाग्छ र!’
पोखरा महानगरले गरेको जग्गा वर्गीकरणमा फेवाफाँट गैरकृषि क्षेत्रमा परेको छ। यसको अर्थ आवास क्षेत्र र औद्योगिक क्षेत्र भन्ने हुन्छ।
नेपाल सरकारको भू–उपयोग नीतिअनुसार कृषि, आवास, व्यावसायिक, आद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल–सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वका गरी १० वटा क्षेत्रमा जग्गा वर्गीकरण गर्नुपर्छ। यसबाहेक सरकारले तोकेको अन्य क्षेत्र पनि हुन सक्छ।
जग्गाको वर्गीकरणको जिम्मेवारी स्थानीय तहमा छ।
भूउपयोग नीति अनुसार फेवातालमाथिको क्षेत्र सिमसार क्षेत्रका रूपमा वर्गीकृत हुनुपर्ने थियो। हर्पन खोला फेवातालको मुख्य स्रोत भएकाले पनि फेवाफाँट संरक्षित हुनुपर्ने थियो।
पोखरा महानगरले भने फेवाफाँटलाई गैरकृषि क्षेत्रमा राखेर प्लटिङलाई वैधता दिएको छ। गत वर्ष महानगरको अनुमतिमा सिमसार पुरिएपछि विरोध भएको थियो।
विरोधपछि मेयर धनराज आचार्यले प्लटिङ भत्काउने भन्दै सिमसार पुरेको ठाउँमा डोजर चलाएका थिए। सिमसार क्षेत्रमा पुगेर उनले पुरिएको सिमसार उधिन्ने वचन दिएका थिए तर त्यसतर्फ कुनै पनि काम भएको छैन।
पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाका अनुसार सिमसारमा प्लटिङ गर्न र खरिद–बिक्री गर्न रोक लगाएको छ।
‘सिमसार क्षेत्रमा प्लटिङ, कित्ताकाट र खरिद रोकेका छौँ। भइसकेको प्लटिङ भत्काउँछौँ,’ उनी भन्छन्, ‘पोखराको जग्गा कृषि क्षेत्र र गैरकृषि क्षेत्र भनेर मात्रै छुट्ट्याएका छौँ। भू–उपयोग नीतिअनुसार गर्न बाँकी छ।’
फेवाफाँट सिमसार क्षेत्रका रूपमा जोगाउने विषयमा महानगरले चासो देखाएको छैन भन्ने तथ्य त्यहाँ भइरहेको प्लटिङले प्रष्ट पार्छ।