केपी शर्मा ओली नेतृत्वको सरकारको काम गराइबारे निरन्तर आलोचना गर्दै आएका नेपाली कांग्रेस महामन्त्री गगन थापाले काम गराइको शैली सरकारले परिवर्तन गर्न जरूरी रहेको बताएका छन्।
नागरिकको असन्तुष्टि चिर्न सरकारको अहिलेको जस्तो काम गराइले नपुग्ने पनि महामन्त्री थापाले बताए।
सरकारले कार्यशैली बदल्न नसके यसको विकल्पको बारेमा सोच्नुपर्ने अवस्था आउनसक्ने महामन्त्री थापा बताउँछन्।
महामन्त्री थापासँग न्युज एजेन्सी नेपालले गरेको अन्तर्वार्ता:
केही महिना यता देश दौडाहमा हुनुहन्छ, के भन्छन् जनता?
म पार्टीको कार्यक्रममा सहभागी हुँदा पार्टीका साथीहरूमा ठूलो उत्साह देखेको छु, ऊर्जा पनि छ उत्सव जस्तो छ। नाचगान छ, जुलुस भेला छ। तर म यतिमै सीमित भएर आएको भए उत्सव रौनक छ, जताततै भन्ने भाव बोकेर आउँथे होला। तर मैले बाहिर यस्तो देखेपनि भित्र पत्रपत्र खोलेर हेर्दा अरू पनि धेरै कुरा छन् र मैले बुझ्ने प्रयास गर्नपर्छ भनेर सचेततापूर्वक म गएको ठाउँमा मैले रात बिताएँ।
पार्टीको तल्लो तहमा काम गर्ने र पार्टी बाहिरका साथीहरूसँग पनि अन्तर्क्रिया गरेँ। शैक्षिक संस्था, स्वास्थ्य संस्थाहरू, निजी क्षेत्रका साथीहरूलगायत विभिन्न पेसाका साथीहरूसँग कुरा गरेँ र यसबाट मैले साझा देखेको कुरा एकै ठाउँमा राखेर हेरेँ, म पहिला पहिला समाजमा निराशा छ भन्थेँ तर यसबाट मैले निराशा छ भन्न छोडेँ। समाजमा असन्तुष्टि, बेचैनी हो भन्ने पुष्टि भयो।
भिडिओ:
निराशा र असन्तुष्टिमा फरक छ। निराशा भनेको आशा मरिसकेको, अब केही पनि हुँदैन भनेर हातखुट्टा छोडेको तर असन्तुष्टि भनेको कस्तो किसिमको भाव हो भने त्यो छटपटाहट, व्याकुलता। जे भइरहेको छ त्यसबाट सन्तुष्ट नभएको किनकि त्यो भन्दा राम्रो हुनुपथ्र्यो भन्ने ठानेको र यो भन्दा राम्रो हुन सक्थ्यो भन्ने उसलाई लागेको, मैले यो पाएको छु। योभन्दा अझै राम्रो गर्न सकिन्थ्या किन भएन भन्ने खालको छ, यसलाई राजनीतिक नेतृत्वले, प्रशासनिक नेतृत्वले नकारात्मक रूपमा नलिएर यो नै ऊर्जा बन्न सक्छ भन्ने ठान्यौ भने यो मौका पनि हो फेरि। असन्तुष्टिलाई एकदम छिटो सन्तुष्टिमा बदल्न सकिन्छ।
त्यसैले म मिश्रित भाव बोकेर आएको छु। म उत्सव, रौनक मात्रै देखेर आएको छैन, त्यहाँ भित्र भएको बैचैनी, व्याकुलता, असन्तुष्टि पनि देखेर आएको छु। काठमाडौंमा बसेर सबैतिर निराशा छ भनेर भन्ने कोसिस गरिरहेको छ त्यस्तो होइन। थुप्रो कुराहरूको बदलाव भइरहेको छ तर राष्ट्रियस्तरमा भइरहेका घटना र त्यसको भाष्यका कारणले गर्दा सिर्जित भएको एउटा भाव छ यसलाई चिर्न सकिन्छ भन्ने एउटा खालको यो मिश्रित भाव बोकेर म फर्किएर आएको छु।
दुई ठूला दलको सरकार हुँदा पनि निराशा किन, उही प्रवृत्ति किन दोहोरिएको?
मैले अलि अगाडिको एउटा प्रसंग स्मरण गराउँछु। प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, हामी सत्ता साझेदारीमा यात्रा गर्दै थियौँ। मैले संसदमा उभिएर उहाँलाई भनेको थिएँ कि प्रधानमन्त्री भनेको संसदीय प्रणालीमा जहाजको क्याप्टेन हो। सबैलाई बुझाउनुपर्छ सबैको आफ्नो भूमिका हुन्छ तर यति धेरै अख्तियारी र यति धेरै निर्णायक शक्ति हुन्छ जहाजलाई कतातिर लैजाने भन्ने उसैले निर्णय गर्छ।
तपाईं के सोच्नुहुन्छ, प्राथमिकत के हो, तपाईंको ध्यान के हो यसमा निर्भर गर्छ। तपाईंलाई शुभेक्षा पनि र खबरदारी पनि छ भनेको म सम्झिन्छु। त्यसको केही समयपछि संसदमै उभिएर उहाँलाई भनेँ, तपाई कति धेरै फुर्सद हो? कतिपय कार्यक्रमको निम्तो आउँदा म भ्याउँदिन भनेर म गइनँ। तर मैले नभ्याएको कार्यक्रममा तपाईं प्रमुख अतिथि भएर जानुभएको छ वा तपाईं प्रमुख अतिथि भएको कार्यक्रम मैले भ्याइनँ। कति धेरै फुर्सद हो? मैले किन सम्झाएको भने अहिले मात्रै होइन त्यतिबेला पनि सत्तासाझेदारी दलको एउटा जिम्मेवारीमा थिएँ।
म प्रधानमन्त्रीसँग नजिक पनि थिएँ, मद्दत पनि गरिरहेको थिएँ मेरो कर्तव्य पनि थियो। तर हामी चाहन्थ्यौँ प्रधानमन्त्रीले युद्धस्तरमा काम गरोस् युद्धस्तरको अर्थ नै फरक हुन्छ मनोविज्ञान नै फरक हुन्छ, उसलाई यति धेरै परिणामको भोक हुन्छ, चिन्ता र डर हुन्छ उसले अरू कुनै पनि सुविधाको प्रयोग गर्दैन, त्यसैले सोच्छ, फोकस हुन्छ।
यसरी काम गर्नुपर्छ भनेर हामीहरूमा छटपटी भइरहेको बेलामा हामी बिँड तात्ने, ताप्के पूरै उत्सवको मुडमा छ, आनन्द छ, घुमीघुमी हिँडेको छ, प्राथमिकता पनि छैन। जे मन लाग्छ बोलेको छ, कता हिँडेको हो थाहा छैन। वर्षौंसम्म समय उपलब्ध छ भनेको जस्तो ठानेको छ।
आफै सत्ता साझेदार दलको नेतृत्वदायी भूमिकामा रहेको व्यक्ति, अझ सरकार सञ्चालनको लागि सघाउन बनेको संयन्त्रको सदस्य, यस्तो आलोचना गर्न सुहाउँछ?
मैले बेलाबेलामा राख्ने प्रश्नहरू सरकार असफल बनाऊँ, यसलाई न्याकौँ भनेर होइन। हिजो प्रचण्डको सरकार सफल बनाउन खोजियो तर बिँड तात्यो ताप्के तातेन के गर्ने? ठ्याक्कै अहिले पनि त्यस्तै भइरहेको छ। हामीमा जुन छटपटाहट छ तर जिम्मेवारी बोकेकाहरूमा त्यो स्तरको छटपटाहट छ कि छैन भनेर प्रष्ट गरेको। त्यसकारण मेरो ठाउँबाट गर्नैपर्ने प्रश्न गरेको हो भन्ने लाग्छ। बाहिरबाट एक ठाउँमा छ यस्तो प्रश्न गर्दा असहज लागिरहेको पनि होला। यो कुरा मैले किन भनेको भने समय फेर्ने हो भने म नेकपा एमालेसँगको सत्ता साझेदारीमा छु प्रधानमन्त्री फेरिनु भएको छ। तपाईंले उठाउनुभएको प्रवृत्तिको कुरासँग जोडेर भनेको तर अहिलेको सन्दर्भमा उठाएको होइन जतिखेर जिम्मेवारीमा छौँ त्यतिबेला पूरा गर्न चाहन्छौँ। म अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सफल होस् भन्ने चाहन्छु। र म यो सरकारलाई सफल बनाउन मेरो ठाउँबाट हरसम्भव प्रयास गरिरहेको छु र गर्छु।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अनि अरू नेताहरूको सार्वजनिक अभिव्यक्तिले राजनीतिक वृत्तमा दोधार र अलमल देखाएको छ, सरकारमा बसेर सरकारको विरोध जस्तो!
नेपाली कांग्रेस पार्टीले बाइ च्वाइस नै राजनीतिक समझदारीमा साझेदारीमा प्रवेश गरेका हौँ। पछिल्लो समयमा कांग्रेसले आर्जन गरेको प्रतिष्ठा भनेको कुनै पनि सत्ता साझेदारीको मार्गमा प्रवेश गरिसकेपछि कांग्रेसले बेइमानी गर्दैन, उबाट त्यस्तो बेइमान हुँदैन भन्ने हो। कम्तीमा प्रतिष्ठा गुमाउन चाहँदैनौं। त्यसको मूल्यमा कहिलेकहीँ चुकाउनुपर्ने अवस्था पनि आउला तर पनि हामी सचेत छौं। हाम्रो कारणले सरकार तलमाथि हुँदैन भन्ने कुरामा हामी सचेत छौं तर हामी के कुरामा चिन्तित छौँ भने सरकार टिक्यो तर बिकेन भने त सबैभन्दा ठूलो मूल्य हामीले चुकाउनुपर्ने हुन्छ। कांग्रेसका अहिलेको साथीहरूको चिन्ता भनेको सरकार टिकोस् र टिकाउन लाग्छौं। तपाईंले अलि कन्फ्युजनको कुरा गर्नुभयो यसले पनि सुनिएको होला कि गगन थापा, महामन्त्री विश्वप्रकाश शर्माहरू सरकारप्रतिको धारणा के हो? के उनीहरु सरकार टिकाउन चाहँदैनन्? पटक्कै होइन, पार्टीले गरेको समझदारी वा निर्णयभन्दा तलमाथि छँदैछैनौं। हामीलाई मन्त्री हुनु पनि छैन सरकारको दैनिकी खेलमा पर्नु पनि छैन। हामी सरकार सफल बनाउनु छ भने त्यो खेलमा लाग्ने कुरै भएन।
तर यो सरकारको भ्यालु पनि बढ्नु पनि पर्यो भन्नेकुरा हो। सरकारप्रति विश्वसनीयत बढ्नुपर्यो। किनभने ठूलो शरीर त हाम्रो छ नि! हामीले यत्रो सरकार बोकेर हिँडेका छौं। टाउको जसको भए पनि शरीर त हाम्रो हो नि, लड्यो भने बढी घाउ त हामीले खान्छौं नि। त्यसैले यो सकारको विश्वसनीयता बढोस्, सरकारको रेटिङ बढोस् धन्यवाद दिने शुभेक्षा दिने मान्छेको संख्या बढोस् भन्ने हो। फ्याक्टमा बढिरहेको छैन। अब यसलाई ढाकछपोप गरेर लुकाएर राख्ने कि, के गर्ने भनेर चिन्तन गर्न चाहन्छौँ। जस्ले गर्दा परिणाममा सरकार टिकोस् पनि बिकोस् पनि। र यसको फाइदा नेपाली कांग्रेसलाई पनि होस् भन्ने हाम्रो चिन्ता यसमा हो।
यो सरकार गठन हुनुअघि जे—जे समस्या थिए सबै ज्युँका त्युँ छन्, अझ थपिएका छन्, यस्तो अवस्थामा कांग्रेसको जिम्मेवारी के, प्रधानमन्त्री र एमाले मात्रै जिम्मेवार हुनुपर्ने हो र?
आज यहाँ देखिएका थुप्रै समस्या यो सककारले सिर्जना गरेको होइन तर ऊ के भनेर आएको हो भने योभन्दा अगाडिको सरकारले, परिवन्धले, नेतृत्वले हाम्रा शैलीले जे-जे कारणले सिर्जना भएका समस्या हल गर्ने जोखिम उठाउँछु, तागत पनि राख्छु त्यसको परीक्षण होस् भनेर आएको सरकार हो नि त यो। त्यसैले हामीले पनि ज्यान फालेर सहयोग गरेको हो। यो विषयमा केही महिना शंकाको सुविधा पनि पाएकै हो प्रारम्भमा। प्रारम्भमा जसले असन्तुष्टि व्यक्त गर्नुभयो त्यतिखेर त्यो सानो थियो आग्रहको साथमा थियो किनभने त्यो भर्खर सुरू भएको थियो। त्यो बेलामा सबैले शंकाको सुविधा दिएको हो। हामीले पनि तात्तिएको पनि हो।
जस्तो उदाहरणका लागि तपाईंले शिक्षक कर्मचारी आदिको उदाहरण दिनुभयो, हामीले ठिक समयमा ठिक निर्णय लिएर काम गर्न सकिरहेको भए अहिले यिनै साथीहरुले के भनिरहेका हुन्थे भने मेरो वर्षौंदेखिको समस्या थिए यो सरकार आएपछि यसले मेरो समस्या सुन्यो, बुझ्यो र अगाडि बढायो भन्ने अवस्था हुन्थ्यो, यिनै विधेयकहरूको सन्दर्भमा। म अहिले पनि सम्झिन्छु कि पार्टीको नेताहरूको बैठकमा मैले प्रस्ताव लिएर गएको कतिवटा विधेयक बनाउनु पर्छ? कति दिनभित्र बनाउ सकिन्छ? कुन तरिकाले बनाउन सकिन्छ भनेर छलफल गरेको कुराहरू म सम्झन्छु। सुरूमा त्यतातिर हाम्रो ध्यान पनि पुग्यो नेतृत्वको पनि। सबैले के महशुस गरेको अवस्था भयो भने हामी एउटा ठूलो राजनीतिक जिम्मेवारी बोकेर वाचा गरेर आएका छौँ भन्ने भयो। अलि पछाडि सुविस्ताको महशुस गर्न थाल्यो, हामीसँग बहुमत छ कसले हल्लाउँछ र भन्या जस्तो भयो।
अर्को कुरा धेरै पत्र नकेलाऊँ, तपाईंले भने जस्तो ठिक कुरा भन्नुभयो नि एउटा सामान्य रूपमा गर्नुपर्ने नेतृत्वमा गर्नुपर्ने निर्णय समयमै नगर्दाखेरि त दर्जनौं प्रश्नहरू आए नि त, समस्याहरु आए। यहाँ भएका प्रश्नहरूको त उत्तर दिएर प्रश्न घटाउनुपर्ने ठाउँमा हामी कुनै मन्त्रालयको वा कुनै संस्थाको नेतृत्वको लागि निर्णय गरेर अनावश्यक प्रश्नहरूको भारी बोक्न पुगेकाछौं।
अहिले गर्नुपर्ने निर्णय नगरेर प्रश्नको भरी बोक्नुपर्ने अवस्थामा पुगेका छौं। हाम्रो लिडरसिपसँगको असन्तुष्टि भन्नुस् वा तनाव बढेको यिनै कुराहरुले हो तर यो काम हामीले गर्ने होइन, कसले गर्नेभन्दा लिडर अफ डे, गभर्मेन्ट अफ द डेले गर्छ, प्रधानमन्त्री भनेको ताप्के हो, मन्त्रिपरिषद्को नेतृत्व उसले गर्छ। यस्ता कुराहरू समयमा नगर्दा समग्र गठबन्धनमाथि नै वा हामीप्रति नै विश्वासको ठूलो प्रश्न आएको छ भन्नेकुरा नबुझिदिँदा समस्या आयो। हामी कस्तो अफ्ठ्यारोमा छौं, तपाईंले अघि भन्नुभएको जस्तो अब मैले भनिरहेको कुरा कतिलाई लाग्न सक्छ कि आफै जिम्मेवारीमा बस्ने अनि आफै प्रश्न गर्ने, हामीसँगै रिस उठ्छ। हामी जिम्मेवारीमा छौँ गराउन खोजिरहेका छौं, भइरहेको छैन। अब के भन्ने त? जिम्मा लिन पनि सकिँदैन किनभने हामी आफैँले गर्ने होइन। गुनासो नगरौं प्रश्न नगरौँ भन्यो भने पनि हामी के गरिरहेका छौं भनेर बताउनुपर्ने पनि भयो। हामी अनावश्यक समस्यामा परिरहेका छौं।
कांग्रेसको आन्तरिक राजनीतिले गर्दा सरकारलाई काम गर्न अप्ठेरो परेको त होइन?
मलाई यस्तो लाग्छ, जस्तो नेपाली कांग्रेस पार्टीसँग गठबन्धन गर्ने सबै दलले के कुरा बुझ्दाखेरि दललाई सजिलो हुन्छ भने कांग्रेसको आफ्नै खालको बनावट छ, संरचना छ। यहाँ भित्र संख्याको मात्रै कुरा पनि हुँदैन। योसँग काम गर्न केही कुरामा सहज पनि छ र केही कुरामा ध्यान पनि पुर्याउनु पर्छ। अहिले म र अर्को महामन्त्री दुवै जना हाम्रो सभापतिलाई मद्दत गरिरहेका पनि छौं र मद्दत पुर्याउन पनि चाहन्छौं, सभापतिसँगको सम्बन्धलाई थप सहज बनाउन चाहन्छौं। हिजो प्रचण्डजी सरकार हुँदै गर्दा नेपाली कांग्रेससँगको सम्बन्ध कांग्रेसलाई डिल गर्दाखेरि केही अप्ठ्यारा थिए किनकी हाम्रो भित्रको सम्बन्ध सहज थिएन, उहाँले भन्नुहुन्थ्यो कांग्रेसका को—कोसँग डिल गरौं भनेर।
अहिले फरक छ, एमालेको नेतृत्वलाई सहज छ वास्तवमा। कांग्रेसभित्रको शक्ति सन्तुलन संघर्षको कुराले गर्दा जहाँसम्म हाम्रो कुरा छ, अहिले सरकार सञ्चालन गर्नेले केही पनि अप्ठ्यारो महशुस गर्नु पर्दैन, हिजो यस्तो थिएन। हाम्रो कुरा कसरी बुझिदिनु पर्यो भने गभर्मेन्ट्सको कुरा, डेलिभरीका कुरा भयो, सार्वजनिक वृत्तमा सरकारको प्रशंसा गर्न पायौं भने हामी भन्दा ठूलो प्रचारक अरु कोही पनि हुँदैन।
कांग्रेसमा यस्ता खालका परिस्थिति छन् कि मैले ठिक निर्णय गरेँ भने मेरो पार्टीले भन्दा पनि कांग्रेसको मान्छेले प्रशंसा गर्छ। तपाईंलाई म स्मरण गराऔं, केही समय अगाडि सरकारले गति लिँदै गर्दा हामीले सरकारको प्रशंसा गर्दा के आलोचना खेपिरहेका थियौं भने तपाईंहरू एमालेसँग भोलि प्रतिष्पर्धा गर्नुपर्छ भन्नेकुरा बिर्सिराख्नुभएको छ, तपाईंहरू केपी ओली भन्दा पनि ठूलो केपी ओलीको प्रशंसक हुनुभयो भन्ने खालका कतिपय ठाउँमा आरोप लाग्यो तर त्यसले केही पनि फरक पारेन। अहिले पनि हामी त्यही गर्न चाहन्छौं, सरकार सञ्चालन गर्ने मान्छेको यदि धेरै प्रशंसा गर्न पाइयोस् कामको व्याख्या गर्न पाइयोस् भन्ने छ। हामीले बनाएको शैली नै यही हो।
यो पार्टीभित्रको डाइनामिक्स बुझिदिनु पर्छ, यो नबुझिदिँदा षड्यन्त्र पो गर्यो कि, अस्तिसम्म मेरोबारेमा राम्रो भन्थ्यो अहिले किन नराम्रो भन्न थाल्यो, कहीँ कतै साँठगाँठ पो भयो कि? यसरी भन्ने अवस्था बन्दो रहेछ। हिजो प्रचण्डलाई पनि त्यो लाग्यो। अहिलेको प्रधानमन्त्रीलाई पनि त्यो कुरा लाग्न सक्छ। हामी कसरी सोच्छौं भन्नेकुरा नबुझिदिँदा पनि त्यो समस्या भयो भन्ने ठान्छु।
तपाईंहरू सबैभन्दा ठूलो दल, यो सरकारले डेलिभरि दिएन भने अर्को डेलिभरि दिनसक्ने सरकार किन नबनाउने, जनतालाई सहजता दिन नसक्ने निष्कर्ष हो भने सरकारको विकल्प सोच्न सकिँदैन?
तपाईंसँग कुरा गरिरहेको यो क्षणसम्म व्यक्तिगत रूपमा पनि र पार्टीको संस्थागत हिसाबमा पनि हामी एमालेसँग गरेको समझदारीको विकल्प खोज्नुपर्छ भन्ने कुराको प्रारम्भिक चरणमा पनि छैनौं। मैले अघि पनि भनेँ कि गरेको राजनीतिक समझदारीप्रति इमान्दार हुने र त्यसलाई कार्यान्वयन गर्ने जुन हामीले प्रतिष्ठा आर्जन गरेका छौं, हामी त्यसलाई निरन्तरता दिन चाहन्छौं। अहिले त्यस्तो खालको विकल्पको बारेमा न सोचेका छौं, न चिन्तन गरेका छौं न हामीबीचमा कुनै छलफल नै गरेका छौं।
तर अहिलेको यही अवस्थाको निरन्तरताको निम्ति के हुनैपर्छ भन्ने कुरा हो भने सरकारले डेलिभरी गरेन भने हामी सधैंभर यसरी नै सोचिरहन्छौं भन्ने त हुँदैन र हामी त्यस्तो खालको कुनै पनि अवस्था नआओस् भन्ने चाहन्छौं। यो बेलामा हाम्रो तपाईंले जति प्रश्न उठाउनु भयो त्यसमा सोचेका पनि छैनौं सोच्ने अवस्था पनि नआओस् भन्ने हामी चाहन्छौं। हाम्रो अहिलेको एउटै शर्त भनेको नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारले केही जोखिम उठाउनु पर्यो सुशासनको सन्दर्भमा, आर्थिक क्षेत्रमा ल्याउने सुधारका सन्दर्भमा, मानिसहरूमा भएको बेचैनीलाई कम गर्ने बाटोतफै उद्यत छ भन्ने उसलाई महशुस गराउनु पर्यो आफ्ना एक्सनहरूबाट, अहिलेलाई यत्तिनै खोजेको हो ।
सरकारमा कांग्रेसले पठाएको प्रतिनिधिहरूको कारण काम गर्न नसकेको हो कि, त्यसरी पनि त हेर्नुपर्ला नि होइन, यदि सघाउने, डेलिभरी दिने शर्तमा?
त्यो हो भने उहाँले खुला भन्नुपर्यो, जसरी हामी भनिरहेका छौं कि हामीलाई तपाईंले काम गरेको चित्त बुझेको छैन, गति पनि चित्त बुझेको छैन। कतिपय निर्णय चित्त बुझेको छैन। सुरूमा यसले लय पक्रेको थियो तर त्यसलाई निरन्तरता दिन सकेन। अझै पनि समय छ सम्हाल्न सक्ने ठाउँ छ तर जे गरिरहेको छ परिणाम आउँदैन तरिका बदल्नुपर्यो भनेर भनिरहेका छौं। हाम्रो बारेमा त्यस्तो केही कुरा छ भने भन्नुपर्यो हामी छलफल गर्न तयार छौं।
अब के र कसरी गर्ने?
बिट मार्ने बेलामा पहिलो प्रश्नसँग जोडेर भन्छु, म अहिले गाउँठाउँ जाँदै गर्दा आज तपाईंसँग प्रश्नोत्तर भएजस्तै साथीहरूसँग कुराकानी हुन्छ। भएन भन्नुहुन्छ, म सुन्छु आफ्नो कुरा भन्छु। अन्तिममा गएर कसरी टुङ्ग्याउँछौं भने तपाईंले भएन भनेको कुरा मैले सुनेँ, तपाईंको कुरासँग म सहमत छु तर यसको आजको दिनमा हामीसँग भएको उपलब्ध उपचार र उपयुक्त उपचारको बाटो भनेको अहिले जे भइरहेको छ यसलाई सच्याउनुपर्छ। यसलाई सुधार गर्न लगाउनु पर्छ।
सच्चिएन भने के गर्ने भन्नेबाटै त्यो दुविधाका साथ सच्याउने कुरा त्यो सच्चिँदैन। अहिलेका लागि यो सच्याउने हो। काम गर्ने तरिका, शैली, आचरणमा सुधार ल्याउने हो। यसको प्राथमिकतामा सुधार ल्याउने हो। यसमा फोकस गर्ने, यसमै काम गर्ने हो तर त्यसका लागि सुरूवात कहाँबाट गर्नुपर्यो भने जे भइरहेको छ ठिक भइरहेको छैन योभन्दा राम्रो हुनसक्छ भन्ने जुन असन्तुष्टि नागरिकको तहमा हामीले कुरा गर्यौं हामीसँग पनि त्यो असन्तुष्टि छ, असन्तुष्टि नै सुधारका निम्ति प्रारम्भ हो असन्तुष्टि छ भन्ने कुराबाट सुरू गर्नुपर्यो। यहीबाट जानुपर्छ भनेर भनेका छौं अहिलेका लागि यहाँसम्म मात्रै सोच्नुपर्छ भन्ने ठान्छु।
भिडिओ: