पार्टीका आन्तरिक बैठक आन्तरिकमात्रै हुन्छन् भन्ने पुरानो मान्यता भत्काउँदै पुरानो दल नेपाली कांग्रेसले यसपटक नयाँ मानक स्थापित गर्यो। नेपाली राजनीतिक दलहरू यसअघि कहिल्यै नगरेको पार्टीको केन्द्रीय समिति बैठकको सुरूदेखि अन्त्यसम्म लाइभ गर्यो। पार्टीका बैठकमा नेताहरूले कस्ता कुरा उठाउँदा रहेछन् र उनीहरूको प्राथमिकता के कुरामा हुँदो रहेछ भन्ने कम्तीमा नेपाली कांग्रेसको राजनीति बुझ्न चाहेनहरूले यसपालि प्रष्टै बुझेका छन्। कांग्रेसको यसपालिको बैठकको समीक्षा र आगामी योजनाबारे सेतोपाटीकी बिनु सुवेदीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँगको कुराकानीको सम्पादित अंश:
तपाईंहरूको केन्द्रीय समिति बैठकमा प्रत्यक्ष प्रसारण नयाँ विषय भयो, त्यसलाई एउटा साइडमा राखेर कुरा गर्ने हो भने नेपाली कांग्रेस केन्द्रीय समितिको यसपालिको बैठक पुरानै निरन्तरता हो कि केही नयाँ कुरा पनि भयो?
नेपाली कांग्रेस आफैंमा निरन्तरतामा नवीनताको प्रतिनिधि हो भनेर हामी भन्छौं। अब कन्जरभेटिभ भनेर पार्टी नै खोल्ने चलन पनि छ। बेलायतमा त कन्जरभेटिभ नामको दल नै छ। कतिपय कन्जरभेटिभ कुराहरूलाई प्रतिनिधित्व गर्ने भनेर नेपाली कांग्रेसलाई आरोप पनि लाग्छ। कतिपय सन्दर्भमा यथास्थितिवादी हो कि भन्ने पनि पर्छ।
नेपाली समाजमा कांग्रेसबाहेक अरू दलहरू पनि छन्। तर कांग्रेस पार्टीलाई विचारका रूपमा भन्नेभन्दा पनि कतिपय चलिआएका परम्परालाई पनि प्रतिनिधित्व गर्छ। नेपाली समाजमा ७० वर्षयता कांग्रेसले हरेक कालखण्डमा नवीनताको प्रतिनिधित्व गर्छ। तर कांग्रेसको अहिलेको बैठकले लाइभ गर्यो त्यसकारण निकै चासो भयो। सबैको ध्यान भयो, राष्ट्रिय चर्चा भयो। त्यो त सामान्य कुरा हो। सामान्य कुराको असामान्य चर्चामात्रै भएको हो। संसारमा त्यो नयाँ कुरा होइन, एउटा दलले गर्दा नयाँ लागेको हो।
विषयवस्तुमा के भयो भन्ने सन्दर्भमा चाहिँ आत्मसमीक्षा भयो, आत्मआलोचना भयो, अहिलेका विषयवस्तुलाई गम्भीरतापूर्वक हेरियो। फरक-फरक ठाउँमा धारणा राखिरहेकाहरूले एक ठाउँमा आएर धारणा राख्नुभयो। सामाजिक राजनीतिक सन्दर्भमा अहिलेको समाजको, अहिलेको जीवनको धारणा बनायो। आन्तरिक जीवनलाई व्यवस्थित गर्न केही कार्ययोजना बनायो। नीति अधिवेशनका रूपमा गर्नुपर्ने, सम्पादन गर्नुपर्ने विषयवस्तुसमेत सम्पादन गर्नेगरी महासमितिको बैठक निर्धारण गर्यो। राष्ट्रिय रूपमा सम्पन्न गर्नुपर्ने अभियानको घोषणा गरेर बैठक विधिवत् रूपमा सम्पन्न गरिएको छ।
बैठकमा नेताहरूले बोलेको सुन्दाखेरि अनुभूति पनि भयो, नेपाली कांग्रेसमा पुरातन सोचहरूको बाहुल्यता रहेछ है?
पार्टीभित्र दुबैखाले मतहरू हुन्छन्। कोही बेला विगतमा भइहरेका कुराहरू नै राम्रा थिए भन्ने लागिरहेको हुन्छ, कोही बेलाचाँहि विगतभन्दा राम्रो गर्दैछौं भन्ने लागिरहेको हुन्छ। कोही बेला यो फरक पनि अपुग भएको छ, अझै परिवर्तनकारी काम गर्नुपर्छ भन्ने लागिरहेको हुन्छ। नेपाली कांग्रेस राजनीतिक दलमात्रै होइन, नेपाली भेला हो। आम रूपमा समाजको प्रतिविम्ब हो। त्यस हिसाबले नेपाली समाजमा रहेका सबै विषयवस्तुहरू त्यहाँ छन्। धर्मनिरपेक्षता होइन हिन्दु राष्ट्र हुनुपर्छ भन्ने भावनाहरू पनि त्यहाँ छन्। संविधानले संघीयता भन्छ, संघीयतामा गइयो तर नजान पर्थ्यो भन्ने भावना पनि त्यहाँ छ। त्यसकारण कतिपय कुराहरूको सन्दर्भमा कांग्रेस एउटा साझा बहसको फोरमजस्तो भयो। तर कांग्रेसलाई सारमा बुझ्दा केमा बुझ्ने? फरक मतमा होइन निर्णयमा बुझ्नुपर्छ। निर्णयमा जे छ त्योचाहिँ साझा हुन्छ।
धर्म, संस्कृतिको कुरा एउटा भयो तर भ्रष्टाचारीलाई जोगाउन पर्छ, निलम्बन गर्नु हुन्न भन्ने आवाज उठ्ने र त्यो विषयमा निर्णय नै नगर्ने त पुरातनवादको पनि चरम नमुना होइन र?
कांग्रेसले गरेको निर्णयमा हेर्नुभयो भने अहिले भ्रष्टाचारका फाइलहरू खुल्दै गर्दा हामी दुईटा पक्षले साथमा छौं। एउटाचाहिँ फाइल खुल्नका लागि बनेका कानुनहरू चाहे अख्तियार दुरूपयोग अनुसन्धान ऐन २०४८ को कुरा होस् या भ्रष्टाचार निवारण ऐन २०५९ को कुरा होस् पुरानो मुलुकी ऐनलाई परिमार्जन गरेर संशोधन गरेर मुलुकी अपराध संहिता २०७४ मा बनेर ०७५ मा लागु भएको होस्। यसलाई निर्माण गर्दै गर्दा अग्रपंक्तिमा नेपाली कांग्रेस पार्टी नै हो नि त। त्यो गर्दै गर्दाखेरि कांग्रेसको कुनै नेता कुनै कालखण्डमा नपर्ने गरी बनाइने छ भनेर भनिएको त थिएन। कानुन निर्माणमा राज्यलाई सशक्तिकरणका सवालमा कांग्रेसको जुन संलग्नता, सहभागिता र नेतृत्व छ त्यसलाई पनि बैठकले स्मरण गरेको छ। र त्यो स्मृति किन गरेको छ भन्दा नक्कली भुटानी शरणार्थीको सन्दर्भमा भएको अनियमितता, ललिता निवास प्रकरणमा भएको भ्रष्टाचार, अहिले सुनको प्रकणको सन्दर्भमा कांग्रेस पार्टीको साथ, समर्थन र सहयोग छ। हामी आफैं सरकारमा सहभागी छौं र यी मुद्दालाई निष्कर्षमा पुर्याउन पर्छ भनेर कांग्रेसले निर्णय गरेको छ। कुनै व्यक्तिको बारेमा के बोल्यो बोलेन भन्दा पनि कहाँ उभिएको छ, कुन दृष्टिकोणमा उभिएको छ भन्दा त्यहाँ उभिएको छ। त्यसकारणले व्यक्तिको विषयमा कसले के भन्नुभयो भन्दा पनि सारमा कांग्रेस कहाँ उभियो त त्यसमा त कसैले होइन यो निर्णय गर्न हुन्नथ्यो भनेर त कोही आएन।
अमुर्त कुरा किन गर्नुभएको? अर्का महामन्त्री गगन थापाले त फरक मत नै राख्नुभएको छ, त्यो विषयमा। महामन्त्रीले नै फरक मत राख्नुपर्ने स्थिति कसरी आइपुग्यो त? यसले त भ्रष्टाचारमा कांग्रेसको माया-मोह बाँकी नै रैछ भन्ने पनि देखाउँछ नि?
कांग्रेसको माया-मोह बाँकी भएको भए ती कानुन बनाउन अग्रसरता किन लिन्थ्यो र!
त्यो विगतको कुरा हो नि?
निकट विगतकै कुरा हो नि त। ०७४ सालमा मुलुकी अपराध संहिता बनाएको हो। त्यस्तै गरेर अहिले मिटरब्याजसम्बन्धी कानुन ल्याउँदै गर्दा अग्रसरता लिएको हो। अथवा नेपाली कांग्रेस पार्टी सरकारमा छ, आफ्ना कोही नेता मुछिदै हुनुहुन्छ भाग भनेर भगाउँदै गएर कहीँ घरबाट खोजेर ल्याउनुपर्ने अवस्था त बनाएको हैन। कांग्रेस पार्टी कसैलाई पनि जोगाउन संस्थागत रूपमा लागेको छैन। कोही व्यक्तिको कुरा होला, म व्यक्तिगत कुरातिर जान्नँ। तर नेपाली कांग्रेस पार्टीले जिम्मा के लिन्छ भन्दा नेपाली कांग्रेस कसैलाई जोगाउन लाग्दैन। जोगाउन लागेको भए कांग्रेसकै सरकार थियो, प्रहरीले कांग्रेसको सुन्थ्यो होला, त्यहाँ हुनुहुन्छ नपक्रिनु भनिन्थ्यो होला। भागेर जानु भनिन्थ्यो होला। त्यस्तो केही पनि गरिएन। यसलाई कसरी पनि हेर्नुपर्छ भने अमुक कुनै दलले चाहिँ व्यक्तिलाई निलम्बन गरिदिने तर संसदको रोष्टममा उभिएर निर्दाेष फसाउन खोजिँदैछ भन्ने त्यो कुरा बढी परिपक्व र जिम्मेवार हो कि निलम्बन गर्यो/गरेन भन्दा पनि कानुनलाई सशक्तिकरण गर्ने र अदालतले गर्दै गरेको विषयमा अदालतले गरेको फैसलालाई मानेर जानुपर्छ। राज्यले कठोरतापूर्वक जुन फाइल खोलेको छ, त्यसलाई कार्यान्वयन गरेर जानुपर्छ भन्ने कुराचाहिँ ठीक हो? सैद्धान्तिक कुरामात्रै के भन्न मिल्छ भने निर्दोष कोही नफसून्, दोषी कोही नउम्किऊन्।सैद्धान्तिक रूपमा भन्नुपर्ने यत्ति हो। दलहरूले दिनुपर्ने साथ राज्यले गरेको अनुसन्धानलाई सघाउने हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताबारे एमालेले भन्दा हामीले राम्रै काम गर्यौैं भन्ने हो तपाईंको कुरा?
यसलाई राम्रो, नराम्रो भनेर तुलना गर्दिनँ तर मैले मात्रै के भन्छु भने आफ्नो पार्टीको चाहिँ डकुमेन्टमा कारबाही गरेको भनिदिने अनि संसदको रोष्टम प्रयोग गरेर निर्दोष फसाउने भन्ने। भनिसकेपछि त निर्दोष हो भने त किन निकालेको भन्ने कुरा आउने भयो नि त।
कांग्रेस र एमाले उस्तै उस्तै त भए नि?
त्यो विल्कुलै होइन। उनले गरेको कति ठीक गरे, कति बेठीक गरे म भन्दिनँ। संसारमा भ्रष्टाचारमा कारबाही गर्ने भनेको कसले हो?, अदालते। राज्यले गर्दै गरेको अनुसन्धान र अदालतमा चल्दै गरेको न्यायिक प्रक्रियालाई असर पुर्याउने गरी संसदको रोष्टममा उभिएर या पार्टीको बैठकमा उभिएर बोल्नु हुँदैन। पार्टीको बैठकमा कसैले व्यक्तिगत रूपमा प्रतिरक्षा गर्न चाहने अलग कुरा भयो। संस्थागत रूपमा गर्यो कि गरेन। नेपाली कांग्रेसको संस्थागत प्रतिनिधित्व सभापति, महामन्त्रीहरूले गर्छन्। हामी संस्थागत प्रतिनिधित्व गर्नेहरूले बैठकमा होस् या रोष्टममा उभिएर संसदमा होस् अमुक व्यक्तिको प्रतिरक्षा हामी गर्न चाहन्छौं, अमुक व्यक्तिलाई कारबाही गरिनुहुन्न, अमुक व्यक्ति निर्दाेष हुनुहुन्छ भन्नेजस्ता कुराहरू बोल्दैनौं। हाम्रो डकुमेन्टले भुटानी शरणार्थीको सन्दर्भमा कडाभन्दा कडा अनुसन्धान अझै गहिराइसम्म गएर जो-जो दोषी छन् खोज भनेका छौं। कहीँ रिहाइ गर, छोड, निर्दाेष हुनुहुन्छ भनेर कुनै पनि दृष्टिकोण संसदबाट पनि आउँदैन। बैठकबाट पनि आउँदैन।
सामाजिक सञ्जालमा हेर्दा नेपाली कांग्रेसका दुई जना महामन्त्री सेलिब्रेटी, सबैले वाहवाही गरेका, राम्रो काम गर्छन् भनिएका, सबैले मानेकाजस्तो महसुस हुन्थ्यो तर जब कांग्रेसको आन्तरिक बैठकमा हेरियो अनि थाहा भयो कि, तपाईंहरूलाई त धेरै पेल्दा रैछन नि है?
तपाईंले पुरानो एउटा दल र नयाँ एउटा दलको बैठक लाइभ गरेका दिन त्यहाँका सभापतिको त्यहाँका महामन्त्रीको यही रूपमा आलोचना गर्न स्वतन्त्रता कत्तिको हुन्छ? नेपाली कांग्रेसको पार्टीमा सभापतिको कमजोरी केलाइयो। महामन्त्रीहरूको कमजोरी केलाइयो, मुस्कुराउँदै हामीले त्यो कुरामा जवाफ दियौं। निर्णयमा के भयो भने, महामन्त्रीले राखेका सबै प्रस्तावहरू पास भए। तपाईंले कहाँ हेर्नुपर्यो भने व्यक्तिहरूले राखेको दृष्टिकोण एउटा हुन्छ, अन्तिममा सबै मिलेर पारित गरेको डकुमेन्ट एउटा हुन्छ। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले राखेको दश बुँदे प्रस्ताव र नेपाली कांग्रेस पार्टीको सञ्चालन गर्न निर्माण गरेको कार्यतालिका केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकृत गरेको भए व्यक्तिगत धारणाको पछाडि संगठनले अस्वीकृत गरेको हुन्थ्यो। अन्तिममा निर्णय गर्दा कहाँ आइपुग्यो भन्दा सबै मिलेर कमी-कमजोरी केलाइयो होला, के गरियो होला तर त्यसलाई पारित गरेर गइयो। हामी सबै एकै ठाउँमा मूर्तिकृत भएर संगठन साझा ठाउँमा उभियो। त्यसलाई कसरी बुझ्नुपर्यो भने आलोचनालाई निषेध गरेर गन्तव्यमा पुगिँदैन। नेपाली कांग्रेस पार्टीभित्र हो त महाधिवेशन हुँदैखेरि नै सभापतिसँगको ठूलो संख्याले जितेको छ। त्यसैले त मैले बैठकमै भनें- सभापतिज्यू तपाईंलाई छायाँ भएर साथ दिएका साथीहरूलाई तपाईंले कोही कोही बेला यसरी पनि सोच्नुपर्छ के मलाई छायाँ भएर साथ दिनेहरू हो, ऐना भएर साथ दिँदै गर्दा मलाई त क्षतिको डर हुँदैन, तिमीलाई क्षतिको केको डर? भनेर सोध्नुपर्छ। साथीहरूले भनेको त्यो कुरालाई पनि हामीले ग्रहण गरेर मुस्कुराएर हामीले त्यसलाई हार्दिकतापूर्वक लिएर जान्छौं।
महामन्त्रीहरू भनेको सभापतिलाई सहयोग गर्न, पार्टीलाई सफल बनाउन मुख्य खम्बा नै हुन् तर सभापतिलाई यहाँहरूले पटक्कै सहयोग गर्नुभएन भनेर धेरै कुरा उठ्यो नि केन्द्रीय कार्यसमिति बैठकमा?
अब सबैको आ-आफ्नो बुझाइ हो। कतिपय साथीहरूले के भन्दिनुभयो भने सभापतिलाई खुइलाइयो। पछि मैले भनें- गाली र आलोचनाको व्याख्या फरक हुन्छ नि त। त्यो त बुझ्न पर्यो नि।
त्यसैले कुनै कुरामा सभापतिले ढिलो गर्नुभयो, काम सक्नुभएन। दुई महिनामा बनाउन पर्ने विभाग बनेन, किन बनेन बनाउन पर्यो नि सभापतिज्यू भन्दा त्यसलाई आलोचना भनिँदैन। त्यसलाई सच्याउने कुरा भनिन्छ, सुझाव भनिन्छ, गाली त भन्दै भनिन्न। त्यसैले नेपाली कांग्रेसमा के छ भने सभापतिलाई महामन्त्रीहरूले सहयोग गरेर जाने सवालमा व्यक्तिगत रूपमा डडेल्धुराको रुवाखोला किनारको गन्यापधुरा गाउँपालिकाको एकजना कोही देउवा थरको व्यक्तिलाई आलोचना गरेको हैन। नेपाली कांग्रेसको सभापति हो नि। उहाँ त सिनियर पनि, उमेरमा हामीभन्दा धेरै पाको पनि। उहाँले विद्यार्थी राजनीति गर्दै गर्दा म जन्मेकै थिइनँ। गगन थापा झनै जन्मेका थिएनन्। हाम्रो त कर्तव्य के हुन्छ भने सिनियर भन्ने हिसाबले मात्रै होइन पार्टीका सभापतिलाई महामन्त्रीले सहयोग गर्नुपर्छ र महामन्त्रीहरूलाई सभापतिले उत्तिकै साथ दिएर जानुपर्छ। जस्तो घर बन्दै गर्दा रड र इँटा दुइटैको प्रयोग भएको हुन्छ। रडले इँटालाई, इँटाले रडलाई सहयोग गरेको हुन्छ र धेरै कारणले त्यो घर बलियो भएको हुन्छ। सभापतिलाई हामीले असहयोग गर्नुपर्ने कारण के हुन्छ र? किन हुन्छ र? सभापतिसँग प्रतिष्पर्धा हुन्छ। विमति हुन्छ? बैठकमै खुलेआम हामीले विमति राखेको सुन्नुभयो। त्यो त हुन्छ त। अहिले पनि कतिपय कुरा पर्यो भने हुन्छ।
अहिले तपाईसँग कुरा गर्नुअघि दुई महामन्त्री र सभापति बसेर त्यहाँबाट सिधै म यहाँ आएको छु। दुई महामन्त्री र सभापति बसेर कोशी प्रदेशको सन्दर्भमा सल्लाह गर्यौं। विभागहरू बनाउने कुरामा सल्लाह गर्यौं। बैठकमा भएका कुराको समीक्षा गर्यौं। त्यो सौहार्दता, हार्दिकता सबै छ। सभापतिलाई हामीले हाम्रो साथ रहन्छ। सभापति र महामन्त्रीहरू मिलेरै संगठनलाई हाँकेर जाने हो।
महाधिवेशन भएको दुई वर्ष लगभग हुन थालिसक्यो, आश लाग्दा महामन्त्रीहरूसँग आशमात्रै गरियो खास काम भएन भन्ने छँदै छ। यो त स्वीकार्नुहुन्छ होला नि?
बैठकमै बोल्दा पनि मैले भनेको छु- हाम्रो भागको कमजोरीलाई हामीले आत्मसमीक्षा गर्छौं, त्यसको जिम्मा लिन्छौं।
म महामन्त्री निर्वाचित भएको हप्ता-दश दिन पछाडिको कुरा हो, लाइनमा बसेको एउटा भाइले फोन गर्नुभयो र भन्नुभयो- दाइ, लाइनमा बसेको यत्रो बेर भइसक्यो, दाइ महामन्त्री हुनुभएको छ। यहाँ हाम्रो हैरानी छ।
मान्छेलाई कस्तो हुन्छ भने कुनै ठाउँमा कोही व्यक्तिलाई ल्याइसकेपछि त्यो मान्छेले सबै गर्देला, उसले फोनबाटै भनिदिएर पनि ठिक होला। तर मुख्य कुरा प्रणालीको रूपान्तरण हो। पपुलिजमको समाजमा के हुन्छ भने व्यक्तिप्रति धेरै आशा हुन्छ। ‘कोई आएगा, कुछ करेगा’ भन्ने खालको हुन्छ। हामीसँग पनि धेरै अपेक्षा भयो होला। हाम्रो सीमितता कति छ भन्ने पो हो। कांग्रेस पार्टीको सहचालक हो हामी, चालक सभापति हुनुहुन्छ। सहचालकको लिमिटेसन एउटा गाडीमा कति हुन्छ? त्यति गर्ने हाम्रो कर्तव्य हो। त्यो पर्याप्त गर्यौं त भन्दा गरेका छैनौं। अब प्रयत्न गरिँदैछ। संगठित रूपमा हामीले गर्दैछौं। जे कमजोरी भएको छ, त्यसलाई आत्मआलोचना गर्छौं, आत्मसमीक्षा गर्छौं, फेरि बलियो बनाउँछौं।
पछिल्लो समय कांग्रेसको लोकप्रियताको ग्राफ घटेकै देखिन्छ। समानुपातिक मतले पनि त्यो देखाउँछ। अघिल्लो चुनावको हिसाब गर्ने हो भने पनि यहाँहरूको मत घटेकै छ। यही बीचमा संगठनलाई यथास्थितिमा राख्न हुन्न, रूपान्तरण गर्नुपर्छ भन्ने आवाज उठेको छ, त्यसको योजना के छ यहाँहरूसँग?
पार्टीलाई रुपान्तरण गर्ने कुराका लागि अहिले तत्काल तीन वटा कामहरू गरिँदैछ।
एउटा, साउन २० देखि ३० गतेसम्म ७७ जिल्लाहरूमा केन्द्रीय प्रतिनिधिहरू पुग्नुहुन्छ। केद्रीय प्रतिनिधि पुग्दै गर्दा कांग्रेसका सभाहरू भएको, ठूला भाषणहरू भएको त्यति थाहा पाउनुहुन्न। सबै भूमिगत काम गरेकोजस्तो हुन्छ। जिल्ला सभापतिहरूको बैठकले १४ वटा बैठकमा आन्तरिक प्रतिबद्धता व्यक्त गर्यो। तपाईं कांग्रेसले कतिसम्म आन्तरिक रूपमा काम गरेको पनि देख्न सक्नुहुन्छ भने त्यो १४ वटा बुँदामध्ये कुनै एउटा मिडियालाई पनि भनिएको छैन कि १ नम्बरमा के छ, १४ नम्बरमा के छ भनेर। त्यतिसम्म इन्टरनल रूपमा कतिपय कुराहरू राखिएको पनि छ, जिल्ला सभापतिहरूको बैठकले काम गर्ने भनेर जुन प्रतिबद्धता व्यक्त गरेको छ, त्यसलाई विज्ञप्तिको रूपमा दिइएन। आन्तरिक रणनीतिक कुराहरू यस्ता छन्। बल पुर्याउने कुरामा साथ दिन २० गतेदेखि ७७ जना प्रतिनिधिहरू जानुहुन्छ। अब चिठी दिन थाल्छौं। त्यो म्यानेजमेन्टको आन्तरिक कुरा भयो।
अर्को, भदौ १० देखि १४ गते विपी जयन्तीको दिनसम्म काम गर्नेगरी समुदायमा कांग्रेस भनेर पब्लिक लेभलमा जानुहुन्छ। त्यहाँचाहिँ मानिलिउँ कृषि फारममा जानुहोला कोही, गाई फारममा जानुहोला। बन्दै गरेको उद्योगमा जानुहोला, सहिदको घरमा जानुहोला। सिनियरको घरमा जानुहोला, खेलाडी, पुरानो पत्रकार, पुरानो शिक्षकको घरमा जानुहोला। घाइतेकोमा जानुहोला। यसरी कांग्रेस समुदायमा पनि जान्छ। महासमिति बैठकका रूपमा नीति अधिवेशनले गर्ने कामहरू गर्ने भनेर मिति तोकिएको छ, त्यो कुरालाई पनि म्यानेजमेन्ट गर्ने काममा लाग्छौं। अब विभागहरू बनाउने विषय पनि अगाडि बढ्छ।
नेपाली कांग्रेस पार्टी दुई वटा कुरामा गम्भीरतापूर्वक अब ध्यान दिँदैछ। एउटा, आन्तरिक व्यवस्थापन र सांगठनिक गति बढाउने कुरा। अर्को, राजनीतिमा र संसदको भूमिकामा पनि प्रखरतापूर्वक जाने कुरा। संसदको भन्दै गर्दा, संघीय संसददेखि वडा अध्यक्षसम्म सबैको भागमा जे काम तोकिएका छन् त्यसलाई अलि भाइब्रेन्ट तरिकाले लिएर हामी जान्छौं।
तपाईं यता यसो भन्नुहुन्छ उता प्रदेश सभापतिहरू, सहमहामन्त्रीहरूले भूमिका नै पाइएन भन्नुभएको छ नि?
त्यो पनि हाम्रो कार्ययोजनामा नै उल्लेख छ। प्रदेशका सभापतिहरूले बोल्दै गर्दा खोइ, प्रदेशका कार्यक्रम भन्नुभयो। त्यसलाई पछि मैले बोल्दा पनि भनें, जब सम्मानीय राष्ट्रपतिले संघीय प्रदेशको नीति तथा कार्यक्रम भाषण गर्नुहुन्छ त्यसबेला कर्णाली प्रदेशको पनि यो हो, मधेस प्रदेशको पनि यो हो भन्न थाल्नुभयो भने त्यो संघीयता हुँदैन। त्यसैले अहिले कांग्रेसका महामन्त्रीहरूबाट प्रस्तावित भएको के हो भने संघीय केन्द्रीय समितिले वडाको पनि कार्यक्रम भन्ला, प्रदेशको पनि कार्यक्रम भन्ला तर सबै त्यहाँ हुँदैन। जस्तो मानौं प्रदेश १ मा १४ जिल्ला छन्, १४ जिल्लालाई ड्राइभ गर्दैगर्दा त्यहाँको प्रदेश कमिटीमार्फत् गतिविधि गर्नुपर्छ। यी कुरालाई व्यवस्थापन गर्नुपर्छ। प्रदेशले आफैं पनि आफ्नो अन्तर्गतको प्याकेजभित्र बसेर आफ्नो कार्यक्रमको निर्माण गर्छन्। सहमहामन्त्रीजीहरूको सन्दर्भमा पनि मैले भनेको थिएँ कि प्रत्येक काँधलाई जिम्मेवारी हरेक हातलाई काम। उपयुक्त ढंगले जिम्मेवारी छुट्याउन नसक्दा हरेक राजनीतिक दलभित्र दलका सदस्य जगेडामा रहेकोजस्तो अवस्था छ। तपाईं के हुनुहुन्छ भनेर सदस्यलाई सोधियो भने म केन्द्रीय सदस्य भन्नुहुन्छ। जिम्मेवारी के हो भन्दा केन्द्रीय सदस्य भन्नुहुन्छ। केन्द्रीय सदस्यचाहिँ पद हो। जिम्मेवारी भनेको फरक चिज हो। व्यवस्थापन गर्ने कुरामा अहिले हामी लाग्दैछौं, त्यसले सजिलो हुन्छ। त्यसरी नै हामी छुट्याउने क्रममा छौं। अहिलेको बैठकले गरेको महत्वपूर्ण काम यो पनि हो।
सबै पार्टीमा त्यो समस्या छ, कांग्रेसमा झन् धेरै छ। कार्यतालिका बनाउने, कार्ययोजना बनाउने तर कार्यान्वयन गर्ने बेला नहुने छ। यसपालि पनि तपाईंहरूले साहित्यिक सम्मेलनदेखि जनताकहाँ पुग्ने सम्मका कार्यक्रम ल्याउनुभएको छ। ती कार्यान्वयन हुन्छन् भन्ने कुरामा आंशका सुरू भइसकेको छ नि?
कार्यक्रम केही नभइरहँदा कार्यक्रमहरू गर्न पाए हुन्थ्यो भन्ने चाहना हुन्छ। कार्यक्रम घोषणा भएपछि लौ यति धेरै कार्यक्रम भन्ने लाग्न सक्छ। एकै ठाउँ राखेर हेर्यो भने कार्यतालिका त चार पन्नामा छ, बाफ रे कसरी गर्ने होला भन्ने लाग्छ।
तर त्यसलाई छुट्याएर हेर्यो भने १२ महिना छ। एउटा महिनाको काम अर्को महिनामा जुध्दैन। कार्यान्वयन गर्ने भनेको संसारमा कुनै पनि राष्ट्रले लिने नीति, संसदले लिने नीति, संस्थाहरूले लिने नीतिका सन्दर्भमा आशंकाबाट सुरू गर्यो भने सफल हुँदैन। अठोटबाट सुरू गर्यो भने सफल हुन सक्छ। चुनौती भए पनि त्यसलाई पन्छाएर हामी कार्यक्रम सफल पार्दै जान्छौं।
यही केन्द्रीय कार्य समितिको बैठक र अगाडिका विभिन्न दृष्यहरू हेर्दा पनि दुई जना महामन्त्रीहरू अँगालो हालेको, सँगै खाना खाएको हुँदा पनि भाइरलजस्तो देखिएको छ। तपाईंहरू दुई जनाको गठजोड कुन मुकामसम्मका लागि हो?
म पनि पत्रकारितातिरै बाट आएको हुँ। हाम्रोमा पत्रकारहरूको कस्तो छ भने दुई जनाले झगडा गरे भने तपाईंहरूको मिलन कहिले हुन्छ भन्ने हुन्छ। दुई जना मिलेका छन् भने होइन तपाईंहरूको कहाँ गएर टुंगिने हो भन्ने हुन्छ। तर के हो भने मुद्दामा मिलेको हो। कांग्रेसलाई रूपान्तरण गर्ने, समाजलाई नेतृत्व गर्न, व्यवस्थित बनाउने, लोकतन्त्रको समुन्नति गर्ने यो सबै कुरामा हामी दुई भाइको कुरा मिलेको हो। यसको अर्थ हामीभित्र नमिलेका कुरा छैनन् भन्ने त हुँदै होइन नि। कति वटा कुरामा गगन थापा र मेरो विचार मिल्दैन। कतिपय बेला उनी हतारिएर किन अहिल्यै बोलिहालेको भन्ने म सोच्छु। गगनलाई भन्छु पनि। संसदीय दलको नेताको सन्दर्भमा, अहिले नै संसदीय दलको नेताबारे किन बोलिहाल्नुपर्यो। जुन दिन बदल्नुपर्छ, छापामार शैलीमा झ्याप्पै भ्याउने पो सोच्नुपर्छ भनेर मैले भनुँला। उनले होइन भनेर जालान्।
भन्नुभयो कि भन्नुभएन?
मैले गगनलाई भनेको तपाईंमार्फत् बाहिर भन्दैछु नि त। हरेक विषयको एउटा समय हुन्छ। समयलाई ठीक ढंगले बुझेर डिल गरेर जानु राजनीतिक दलको नेतृत्वका लागि परिपक्व जिम्मेवारी हुन्छ भन्ने मैले सोचौंला। गगनलाई होइन यसको बारे त जनमत पनि बनाएर जानुपर्छ भन्ने लाग्ला। त्यसकारण पहिले बोलिहालौं भन्ने पनि होला। सबै कुरा मिल्छ भन्ने हुँदैन। तर के हो भने म र गगन थापा दुईटै विद्यार्थी राजनीतिमा सँगै काम गरेको, केन्द्रीय कमिटीमा सँगै काम गरेको हो। उमेरमा दुई-चार वर्ष म जेठो भएको नाताले मैले सकेसम्म सानो भएर, सुनेर, परिपक्व बनाएर जाने हो।
तपाईंले केन्द्रीय कार्यसमितिको बैठकमा पनि भन्नुभएको थियो, अहिले ०८४ को चुनावको कुरा नगरौं, त्यसअघि पनि कांग्रेसको जिन्दगीमा हुने धेरै चिजहरू छन्। फेरि यहाँहरूको कार्यतालिका कार्यान्वयन भयो भने त ०८२ मा महाधिवेशन पनि हुन्छ। त्यो महाधिवेशनलाई केन्द्रीत गरेर एक जना पार्टीको सभापति हुने अर्को एकजना प्रधानमन्त्री हुने अथवा अर्को एकजना महामन्त्री हुने योजनाअनुसार यहाँहरू अघि बढ्नुभएको हो?
विल्कुलै होइन। अहिले ०८४ को कुरा नगरौं भन्नुको अर्थ ०८२ र ०८३ को गरौं भन्ने त हैन नि। कस्तो हुन्छ भने कसैको घरमा पास्नीमा बोलाएको छ भने पास्नीको कुरामात्रै गर्नु ठीक हुन्छ। बिहेको बारेचाहिँ के सोचाइ छ यिनको भनेर सोध्यो भने व्यवहारिक हुँदैन। कांग्रेसको आगामी महाधिवेशनले रूपान्तरणको सन्दर्भमा ७० वर्षदेखिको निरन्तरतामा नवीनताको राम्रै ढंगको फरक प्रस्तुति हुनेछ। तर त्यो बेलाको म कहाँ, को, कता भनेर अहिल्यै बोल्नुचाहिँ हतारो पनि हुन्छ र सान्दर्भिक पनि हुँदैन।
नेतृत्वको तयारीका हिसाबले २ वर्ष भनेको त्यति लामो समय पनि होइन। यहाँहरूको आन्तरिक तयारी त छ होला? अघि भन्नु पनि भयो, संसदीय दलको नेता फेर्ने नै हो भने झ्याप्प छापामार शैलीमा फेर्नुपर्छ भनेर?
संसदीय दलकै नेता फेर्ने सन्दर्भमा पनि, संसदीय दलको नेता चयन भएको ६ महिनामात्रै हुँदै गर्दा संविधानले कसैलाई तिमीले प्रधानमन्त्री बनाउँछौं भने अस्थितरता भयो, त्यसैले दुई वर्षसम्म नबदल है भन्छ। त्यसको स्प्रिटको जगमा राजनीतिक दलहरूले पनि के सोच्नुपर्छ भने संसदीय दलको नेताको चुनाव भएर चयन भएको ६ महिना पुग्नेबित्तिकै तुरून्तै विकल्पको चर्चा गर भन्दैन। त्यो स्प्रिटमा हामी जानु हुँदैन। त्यसैले यो अहिलेको विषय नै होइन। ठीक समय आउँछ, त्यही समयमै त्यो विषयमा कसरी जाने/नजाने भन्ने हुन्छ। नेपाली कांग्रेसको ०८२ सालको महाधिवेशनको सन्दर्भमा जाँदा पनि कांग्रेस रूपान्तरित, व्यवस्थित प्रखर हुनुपर्छ। जनताको आवाजलाई अझ घनिभूत तरिकाले बोक्ने हुनुपर्छ, सार्प हुनुपर्छ भन्ने कुरासम्म चाहिँ परिकल्पना गर्नु, सोच्नु र त्यस दिशातर्फ अघि बढ्नुचाहिँ जिम्मेवार राजनीतिकर्मीको जिम्मेवारी हुन्छ। त्यो अधिवेशनको बेलामा कांग्रेसको यस्तो परिकल्पना, अझ मैले संसदमा उभिएर बोल्दै गर्दा के भनेको थिएँ भने हामीले ०८० मा वैशाखदेखि १० वर्षमा एउटा साझा दृष्टिकोण बनाएर अबको १५ वर्षमा देश कहाँ पुर्याउन चाहनुहुन्छ, मिसन ०९४ के हुन सक्छ भन्ने कुरामा पो राष्ट्र जानुपर्छ भन्ने कुरा मैले पहिलेदेखि नै बोल्दै आएको छु। त्यसैले ०८२ सालमा को कहाँ कता के भन्ने सामान्य कुरा हो। मेजर कुरा त्यो ०८२ सालमा पुग्दा ०८४ देखि ०९४ सम्म मुलुकलाई विकसित गर्न कांग्रेसलाई कति व्यवस्थित र प्रखर बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ।
नीति अधिवेशन गर्ने भन्नुभएको थियो पहिले। अहिले महासमिति बैठकमात्रै गर्ने भन्नुभएको छ। नीति अधिवेशनलाई छोडर महासमिति बैठकमात्रै गर्ने कुराको तात्पर्य के हो?
विधानले नेपाली कांग्रेसको नीति महाधिवेशनको सन्दर्भमा दृष्टिकोण राख्दा केन्द्रीय कार्यसमितिको बैठकले त्यसबारे आवश्यक व्यवस्था गर्ने छ भनेको छ।
अहिले तपाईंले निर्णयमा हेर्नुभयो भने नेपाली कांग्रेसको नीति महाधिवेशनले गर्ने भनेर निर्धारित भएका विषयहरू सम्पादन गर्नका लागि महासमिति बोलाएको हो। त्योचाहिँ एउटा संरचना हो। नीति अधिवेशनमा केन्द्रीय समितिले मात्रै भाग लिने हो त? त्यो त होइन, सबै महाधिवेशन प्रतिनिधि या जिल्ला कमिटीले मात्रै भाग लिने हो। त्यसका लागि कुन फोरम बोलाउने त?
देशमा संघ, प्रदेश र स्थानीय तह गरी तीन वटा संरचना भएजस्तै नेपाली कांग्रेसको पनि केन्द्रीय समिति छ, महासमिति छ, त्यसपछि प्रदेश समिति छ, जिल्ला समिति छ यस्ता आठ वटा तह छन्। ती आठ वटा तहभित्र महासमिति पनि पर्छ। नीति अधिवेशन महाधिवेशन भएको वर्षमा पो यसको कुरा आयो। तर जुन भएको संरचना छ त्यसलाई निधि महाधिवेशनको कामहरूको रूपमा गर्नका लागि महासमितिले केन्द्रलाई ह्यान्डओभर गरेको छ।
पार्टीमा आबद्ध नेताहरूको निश्चित विचारधारा हुन्छ, त्यहीअनुसार बोल्छन् भन्ने सामान्य बुझाइ हो। कांग्रेसको बैठक हेर्दा त्यस्तो देखिएन, त्यसो हुँदा एउटा निश्चित नीति त यहाँहरूलाई आवश्यक छ नि हैन र?
मूल रूपमा पार्टीले जे नीति लिएको छ, सिद्धान्त लिएको छ, राजनीतिक परिपाटीमा विश्वास गरेको छ त्यो बाटो त अहिले सबैको बाटो भयो। नेपाली कांग्रेसले अपनाएको संसदीय, लोकतान्त्रिक परिपाटीको बाटो त कांग्रेसको मात्रै होइन, कम्युनिष्ट पार्टीहरूले पनि अंगिकार गरेका छन्। नीति छैन भन्ने कुरै भएन, कांग्रेस पार्टीले त्यो नीतिभित्र आफूलाई परिमार्जन गर्ने कुरा, केही संरचनागत हेरफेर गर्ने कुराको छलफल हो। सामान्यत: के हुन्छ भने हरेक राजनीतिक दलले लिएको नीति र सिद्धान्तको समयानुकूल अपडेट गर्ने कुरा त्यसको आलोकमा केही विषयमा धारणा बनाउने कुरालाई नीति भन्दै आइयो। तर मूल रूपमा नेपाली कांग्रेसले लिएको मूल नीति जुन छ, नीतिको जगमा फरक-फरक विचारहरू हुन्छन्।
मूल नीति तपाईंहरूको पुरानो भयो, अपडेट पनि भएन। युवाहरूको संख्या बढाउने नयाँ सदस्यता थप्ने भन्ने कार्ययोजना छ, अहिलेका नागरिकलाई त कांग्रेस कस्तो छ, कसरी चल्छ भन्ने पनि थाहा नहुने स्थिति आइसक्यो, यस्तो बेलामा यस्ताखाले सैद्धान्तिक छलफल पार्टीभित्र किन कम हुन्छन् भन्ने पनि कुरा उठ्छ फेरि?
निश्चय पनि एउटा जीवन्त पार्टीभित्र यो खालको विषयवस्तु उठ्छ। त्यसैले कांग्रेसले अहिले त हाम्रो लाइब्रेरीलाई पनि व्यवस्थापन गर्दैछौं। हामी नियमित रूपमा विभिन्न वैचारिक मन्थनहरू गर्ने विधि बनाउँदैछौं। केन्द्रीय कार्यालयमै फ्राइडे मिट जस्तो कन्सेप्ट बनाएर शून्य समयजस्तो हप्तामा एक दिन विभिन्न तहका नेतृत्वहरू काठमाडौंमा भेट हुने बनाउँदैछौं। नीति अधिवेशनले गर्ने कुराहरू गर्नेगरी महासमिति बोलाउँदैछौं। समुदायमा कांग्रेस भनेर पब्लिकली फलैंचामा बसेर जनताको कुरा सुन्न भनेर हामी जान लाग्दैछौं। साउनको २० देखि ३० सम्म आन्तरिक संरचना व्यवस्थित गर्दैछौं। यो समग्र विषयले वैचारिकता, दृष्टिकोण, सिद्धान्तहरूको समग्र रूपमा परिमार्जन गर्छ।
सैद्धान्तिक नीति, विधि, विचार आफ्नो ठाउँमा छ, फेरि यहाँहरूको त विभागहरू नै के होजस्तो छ, त्यो के हो नि?
विभागहरू बनाउने अहिले बैठकले निर्णय गरेको छ। केन्द्रीय कार्यसमितिलाई के जिम्मा छ भने पास गर्दाखेरि कतिपय कुरा केन्द्रीय कार्यालयले परिमार्जनसहित पारित गर्ने भनेको छ। त्यो परिमार्जनसहित पारित भयो, त्यसमा कतिपय उस्तै खालका विभागहरू छन् भने केन्द्रीय कार्यालयले मिलाउँछन्। केही विभागबारे आवश्यक पर्यो भने केन्द्रीय कार्यसमितिबाट गर्न सकिन्छ। पार्टीले नेपाली समाजमा भएका विषयवस्तुहरू अनुसारको, जस्तो आकस्मिक घटना प्राकृतिक विपद भेल बाढीको कारण त्योसँग सम्बन्धित विभाग के हुन्छ? कुनै जिल्लामा कोहीमाथि आक्रमण भयो, त्यसलाई हेर्ने विभाग कुन हुन्छ? कामको सन्दर्भमा समाजको समग्र विषयको कुनै कुरा नछुटाई हेर्ने गरी विभाग बनायौं त्यो केन्द्रीय कार्यसमितिबाट पारित भएको छ। अबचाहिँ सभापतिज्यूसँग बसेर विभागका प्रमुखहरू चयन गरेर यसले क्रमश: बाहिर जिम्मेवार पाउँदै जान्छ।
४६ वटा विभाग त रित्तै नै छन्, अहिले भर्खरै पूर्णता पाएको तरूण दलमा पनि नेताका छोरीछोरी, नेताका ड्राइभर, नेताका पिएमात्रै भरिए भन्ने अर्को गुनासो पनि छ नि?
कोही साथी राजनीतिक जिम्मेवारीमा काम गर्दै गर्दा कसैको छोरा हुनुहुन्छ। जस्तो, कृष्णप्रसाद सिटौलाज्यूका छोराको बारेमा कुरा आएको छ। ती एउटा योग्य उदाउँदै गरेका मान्छे हुन्। कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर कमिटी चयन गर्न हामीलाई भोट दिने अधिकार लिएर आइसकेका हुन्। उनी राजनीतिमा उदाउँदै छन् अनि फेरि कृष्ण सिटौलाजीको संन्यास पछिमात्रै जिम्मेवारी पाउने भन्ने पनि हुँदैन। एउटा/दुईटा कुरालाई हेरिराखेर सबै छोराछोरी ल्याए भनेर सोच्नुहुन्न।
जो आउनुभएको छ, आएको मान्छे कसैको छोरा भएका कारण अयोग्य भन्ने हुँदैन। कसैको छोरा हो त्यसकारण योग्य भन्ने त झनै हुन्न। त्यसलाई को व्यक्ति हो को हो भन्ने हुन्छ। जस्तो बैठकमा ४/५ जनाले बोल्दा के भन्नुभयो भने ९ सय भोट भएको वडामा २ सय भोट आएको छ। ६७४३ वटा वडा छ, कुनै एउटा वडामा त्यस्तो भयो होला तर ६७४३ वटै वडालाई आरोपित हुने गरी सबै क्रियाशीललाई आलोचित हुने गरी बोल्नुहुँदैन। त्यसैले पछि मैले बोल्दै गर्दा के सोधें- त्यस्तो भएको कहाँ हो?, कुन ठाउँमा हो? बोल्नेले यसरी बोलिदिने, मिडियाले लेख्दा पनि त्यसरी लेखिदिने हुँदा हल्लाखल्ला हुन्छ।कांग्रेसका क्रियाशीलले नै कांग्रेसलाई भोट हाल्दैन भनेकोजस्तो पर्न सक्छ। त्यसो भए यत्रो भोट कसरी आयो त? पहिलो दल कसरी भयो त? तिनै क्रियाशील साथीहरूले केन्द्रमा बसेर विश्वप्रकाशहरूले जति गरेका छन्, त्योभन्दा बढी त गाउँमा बसेर गरेका हुन सक्छन् नि। कतिपय कुराचाहिँ एउटा-दुइटा फाट्टफुट्ट घटना हेरेर समग्रतामा आरोपित गर्न हुन्न। एक से एक योग्य साथीहरू तरूण दलमा आउनुभएको छ। कयौं योग्य साथी छुट्नुभएको छ। उहाँहरूलाई पनि समेट्ने काम विस्तारै पार्टीले गर्छ।