संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असार महिनाभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका छन्।
प्रतिनिधि सभामो सोमबारको बैठकमा बोल्दै मन्त्री गुप्ताले आगामी आर्थिक वर्ष सुरू हुन अगाडि नै निमित्तको भरमा चलेका स्थानीय तहको संख्या शून्यमा झार्ने बताएका हुन्।
उनले आफूले मन्त्रालय सम्हाल्दा साढे तीन सय पालिका निमित्तको भरमा चलेकोमा हाल देशभर १८५ पालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका उल्लेख गरे।
उनले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै कर्मचारीको तलब वृद्धि गर्न नसकिएको समेत स्पष्ट पारे।
उनले भने, ‘अहिले हामीले सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृत दिन पाएका छैनौँ। यो यथार्थ हो। तर मैले मन्त्रालय सम्हालेको बेला लगभग साढे तीन सय पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए। अहिले हामीले त्यसलाई एक सय ८५ मा झारेका छौँ। यही असार २० गते १६ जना अधिकृत लोक सेवा आयोगबाट आउँदै छन्। श्रावणको महिनासम्ममा हामी यसलाई शून्यमा झार्ने अवस्था निर्माण गर्दैछौँ। तलब वृद्धिको पनि अवस्था आएको छ माननीयज्यूहरूलाई देशको आर्थिक अवस्थाको बारेमा अवगत नै छ। त्यसलाई मध्यनजर गरेर यसपालि तलब वृद्धि भएन।’
स्थानीय तहमा हुने गरेको प्रमुख प्रशासकीय अधिकृतको समस्याको दीर्घकालीन समाधान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री गुप्ताले बताए। —न्युज एजेन्सी नेपाल