बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरकी ६५ वर्षीय उजेली विकलाई वर्षाको मौसम आउन लाग्यो भन्ने सम्झिँदा पनि मुटु चिसो हुन्छ।
दुई वर्षअघि २०७८ साल भदौ १३ र असोज ४ गते बुटवलबाट पूर्वीउत्तरको चुरेबाट झरेको पहिरोले घर भत्काएको घटनाले उनलाई तर्साइरहन्छ।
असोज ४ गते पूर्णिमाको दिन थियो। सबेरै उठेर उजेली बिहानको नित्यकर्म गरी पूर्णिमाका देवतालाई चढाउन खिर पकाउँदै थिइन्। बाहिर पानी दर्किंदै थियो।
घर नजिकैको खोल्सीमा भेल आएको थियो। त्यो दिन गड्याङगुडुङ गर्दै अचानक घरभित्रै पहिरोको भेल पस्यो। घरको अघिल्लो भागका दुई कोठा पक्की भए पनि पछाडिका दुईवटा कोठा कच्ची थिए।
कच्ची कोठाको भित्ता फुटाएर पसेको ढुंगासहितको भेलले कोठाका सबै सामान बगाइदियो।
त्यो दिनको घटना सम्झिँदै उजेलीले भनिन्, ‘हेर्दाहेर्दै घरका दुबै कोठा पहिरोले पुरिए। हामी पानीमा भिज्दै दौडिएर बाटोपारि पुगेर बाँच्यौं।’
त्यसअघि भदौ १३ गते आएको पहिरोले पनि घरमा क्षति पुर्याएको थियो। भोलिपल्ट १४ गते कृष्णजन्माष्टमी थियो। उजेली र श्रीमान् विनबहादुर घरमा काम गर्दै थिए।
अचानक चुरेबाट आएको पहिरोको भेल घरभित्रै पस्यो। उजेलीले अघिल्लो दिन किनेर ल्याएको चामल, घिउतेल, दाल, तरकारी र सबै सामान भेलले बगायो।
दुई पटक पहिरोले घरमा क्षति पुर्याएपछि उजेलीलाई वडा कार्यालयमार्फत बुटवल उपमहानगरपालिकाले राहत स्वरूप २५ हजार रूपैयाँ, दुई बण्डल जस्तापाता र चार वटा फलामे पाइप दिएको थियो।
उनले भनिन्, ‘पहिरोले घर भत्काएपछि चार महिना कोठा भाडामा लिएर बस्यौं। राहत भनेर दिएको पैसा भाडा तिर्न ठिक्क भयो। टिन र पाइप पाएपछि ऋणधन गरेर दुईवटा कोठा उठायौँ र घरमा बस्न थाल्यौं। गत वर्ष पहिरो आएन तर आउने वर्षामा के हुने हो भन्ने डर छ सम्झेरै मन आतिन्छ।'
उजेलीको परिवार ज्योतिनगरमा बस्न थालेको ४० वर्ष भयो। ज्योतिनगर पहिलेदेखि नै पहिरोको जोखिम मानिएको क्षेत्र हो।
२०५५ साल भदौ २० गते गएको पहिरोले ज्योतिनगरका कम्तीमा ६० वटा घरमा क्षति पुगेको थियो। त्यसपछि तीन वर्षयता फेरि पहिरो आउन थालेको छ।
करिब ४० वर्षदेखि ज्योतिनगरमा बस्दै आएका चेतबहादुर कुमालका अनुसार पहिले पश्चिमतर्फको भागबाट झरेको पहिरो अहिले पूर्वतर्फ सर्दै गएको छ।
उनले भने, ‘हामी बसेको ठाउँमा पहिले कहिल्यै पहिरोको डर थिएन। तीन वर्षदेखि पहिरो आउन थालेको हो।’
२०७८ भदौ दोस्रो साता दुईपटक र असोज पहिलो साता एकपटक आएको पहिरोले डेढ दर्जन घर पुरिएका थिए, ५० भन्दा बढी घरमा क्षति पुगेको थियो। असोज ४ गतेको पहिरोले घर पुरिएपछि प्रेम आचार्य, गणेश पंगेनी लगायतका परिवार विस्थापित भए।
चेतबहादुरले गुनासो गरे, ‘हाम्रो घर पहिरोले पुरिएको छ। बुटवल उपमहानगरपालिकाले पूर्ण क्षति भएका हामीजस्ता परिवारलाई अहिलेसम्म कुनै राहत दिएको छैन।’
स्थानीय तहको दोस्रो निर्वाचन भएर जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दा पनि राहत नपाएको उनले बताए।
उनले भने, ‘उपमहानगरपालिकाका मेयरलाई यही विषयमा कुरा गर्न धेरैपटक भेट्न खोजेँ तर भेट्न चाहनुभएन। उपमेयर यही टोलका बासिन्दा हुनुहुन्छ। उहाँले पनि कुनै वास्ता गर्नुभएको छैन।’
निर्वाचनका बेला आफूहरूलाई जिताए पहिरोको समस्या सधैंका लागि समाधान गर्छौं भनेर जितेकाहरूले अहिले वाचा बिर्सिएको उनको गुनासो छ।
बुटवल उपहमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकालले पहिरोपीडित प्रेम आचार्यको परिवारले घरभाडा तिर्न नसकेको भन्ने कुरा आएपछि कार्यपालिका बैठकले निर्णय गरी ५१ हजार रुपैयाँ दिएको र अन्यलाई उपलब्ध गराउन नसकिएको बताए।
२०७९ साल असार १४ गते पनि भेल बस्तीमा पस्दा ओम चार वटा घरमा क्षति भएको थियो। ती परिवारलाई भने नगरपालिकाले २५ हजार रूपैयाँका दरले राहत उपलब्ध गराएको वडा अध्यक्ष ढकालले बताए।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम कार्यान्वयन इकाई कार्यालयका अनुसार ज्योतिनगर क्षेत्रमा झरेको पहिरो नयाँ होइन। यहाँ २०३३ सालदेखि नै पहिरो सम्भावना देखिएको थियो।
त्यति बेला चुरेमा मानवीय अतिक्रमण हालको जति धेरै थिएन।
ज्योतिनगरमा बसोबास बढ्दै जान थालेपछि जंगलक्षेत्रमा पनि मानवीय अतिक्रमण बढ्दै गयो। बस्ती बढ्दै गएपछि सडक बनाउन डोजरको प्रयोग हुन थाल्यो। अन्ततः २०५५ सालमा आएको पहिरोबाट ५७ घरपरिवार विस्थापित भएका थिए।
त्यसपछि ज्योतिनगरमा पहिरोको त्रास बढ्दै गयो। सरकारबाट पहिरो नियन्त्रणका लागि केही प्रयास गरे पनि दीर्घकालीन समाधानको काम भएन। जोखिममा रहेको बस्ती २०५७ सालमा तामनगरमा जग्गा दिएर स्थानान्तरण गरियो।
पहिरो गएको स्थानमा रुखबिरुवा उम्रिएर पहिरो देखिन छोड्यो। सरकारले तामनगरमा जग्गा दिएर स्थानान्तरण गर्यो तर ज्योतिनगरको जग्गाको लगतकट्टा गरेन। पहिरोले खैरो भएको ठाउँ हरियो भएपछि तामनगरमा सरेका विस्थापित पुरानै थलोमा फर्किए।
तामनगरमा सरेकी सीता मल्ल केही वर्षपछि ज्योतिनगरमै फर्किन्।
तामनगरमा दानव खोला किनारमा १० धुर जग्गा दिएपछि ज्योतिनगरमै फर्किएको उनले बताइन्।
२०७८ भदौ १३ गते आएको पहिरोले सीताको दुई तले घरको आधा भाग पुरिदियो। केही महिना भाडामा बसेको उनको परिवार वर्षा सकिएपछि पहिरो पन्छाएर त्यही घरमा बस्दै आएको छ।
फेरि दुई वर्षदेखि पहिरोको जोखिम झेलिरहेकी सीता सरकारले आफूहरूलाई अन्यत्र लैजानेभन्दा पहिरो नियन्त्रणको दीर्घकालीन उपाय गर्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, ‘वर्षौंदेखि बसेका छौँ। ज्योतिनगरमा घरमात्र होइन भावना पनि जोडिएको छ। अन्त जान मन लाग्दैन।’
२०५५ सालमा पहिरो गएर क्षति पुर्याएको ज्योतिनगरमा २३ वर्षपछि पहिरो फर्केपछि स्थानीय बासिन्दा र बुटवल उपमहानगर कार्यालयको टाउको दुखाइ बनेको छ। ज्योतिनगर र लक्ष्मीनगरमाथिको चुरे पहाडबाट वर्षामा जुनसुकै दिन पहिरो झर्न सक्ने गरी धाँजा फाटिएको छ।
बुटवलको शिर ज्योतिनगर र लक्ष्मीनगर पहिरोको उच्च जोखिममा छन्।
वर्षाको पानी धाँजाबाट बग्दा पहिरोको जोखिम बढेको छ। बुटवल उपमहानगरको वडा नम्बर ३ र ४ मा पर्ने ज्योतिनगर, मिलनटोल, लक्ष्मीनगर, बमघाट, गोलपार्क र संगमटोलका सयौँ घरमा पहिरोको जोखिम छ।
ज्योतिनगर र लक्ष्मीनगरमा अलिक ठूलो पहिरो आयो भने त्यसले क्षति यी बस्तीमा मात्र सीमित नभई गोलपार्क र बुटवल बहुमुखी क्याम्पससम्म असर पर्न सक्नेछ। ज्योतिनगरस्थित जनज्योति प्राथमिक विद्यालयको भवन र ज्योतिनगर खानेपानी आयोजनाको पानीट्यांकीमा दुई वर्षअघि नै पहिरोले क्षति पुर्याएको छ।
चुरेको साढे एक किलोमिटर लामो पहिरोको तल्लो भागमा कम्तीमा सात सय घरधुरीको बसोवास छ।
पछिल्लो दुई वर्षमा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम कार्यान्वयन इकाई कार्यालय र बुटवल उपमहानगरपालिका मार्फत पहिरो नियन्त्रणका लागि कम्तीमा पाँच करोड रुपैयाँ खर्च गरिए पनि पहिलो नियन्त्रण प्रभावकारी बन्न सकेको छैन।
वडा नम्बर ३ का वडा सदस्य अमृत खड्काका अनुसार बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदानअन्तर्गत ४ करोड ५० लाख रूपैयाँ र विपद प्राधिकरणमार्फत ४५ लाख रुपैयाँमा चेकड्याम, रिटर्निङ वाल, बक्स कल्भर्ट लगायतका जोखिम न्यूनीकरण गर्ने गरी काम भइरहेको छ।
वडा सदस्य खड्का अहिले भइरहेको काम अल्पकालीन समाधानमात्र हो, दीर्घकालीन समस्या समाधानको लागि दुई वर्षपहिले विज्ञहरूले दिएको प्रतिवेदनअनुसार नियन्त्रणका उपाय गर्नुपर्छ।
अध्ययन प्रतिवेदनले चुरेको भन्डै डेढ किलोमिटर लम्बाइमा धाँजा फाटेको छ।
ज्योतिनगर र लक्ष्मीनगरमाथिको श्रवनडाँडामा जमिन ८० मिटर तलसम्म धस्किएको छ। वडा सदस्य खड्का दीर्घकालीन समाधानको लागि विज्ञको प्रतिवेदनले दिएको सुझाबअनुसार काम गर्नुपर्ने बताउँछन्।
मिलनटोल पहिरो नियन्त्रण समितिका अध्यक्ष दीपक थापा अहिले भइरहेको रोकथामको प्रयास प्रभावकारी बन्ने विश्वासमा छन्।
उनी भन्छन्, ‘दुई वर्षपहिले मिलनटोलमा गएको पहिरो नियन्त्रणको लागि चेक ड्याम बनाउने र पानीको मुहान एकत्रित गरी खोल्सीबाट पानी बगाएपछि गत वर्ष पहिरो आएन। अहिले त्यही काम बढाउँदै लगेका छौँ।’
वडा नम्बर ३ का अध्यक्ष ढकालका अनुसार ज्योतिनगरमाथि चुरेमा छरिएका पानीका मुहान एकत्रित गरी एउटै खोल्सीबाट बग्ने बनाइएको छ।
यसकारण अब पहिरो नझर्नेमा विश्वस्त छन्। बस्तीमा आउने भेल रोक्न र पानीको बहाव बस्तीबाहिर फर्काउन विभिन्न ठाउँमा चेकड्याम र खोल्सी बनाइएको उनले बताए।उनका अनुसार गत वर्ष मिलन टोलमा आउने पानीको भल तर्काएपछि बस्तीमा पहिरो आएन। यस वर्ष ज्योतिनगरमा पनि मुहान तर्काउने काम हुँदैछ। उनले यहाँको पहिरोको दीर्घकालीन समाधानको लागि उपमहानगरपालिकाको मात्रै प्रयासले नहुने भएकाले प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए।
तल्लो भागमा लगाएको ढुंगाको पर्खालले पहिरो रोकिन्छ भन्नेमा आफूहरूलाई विश्वास नभएको उनको भनाइ छ।
भूगर्भविद् डा. रञ्जनकुमार दाहाल, सिँचाइ डिभिजन कार्यालयका प्रकाश दास उलक लगायत सहभागी टोलीले ज्योतिनगरमाथिको श्रवनडाँडा नै बगिरहेकाले ग्याबिन वाल र ग्याबिन चेक ड्यामले पहिरो नियन्त्रण हुन नसक्ने निष्कर्ष दिएको छ।
भूगर्भविद् श्रीकमल द्विवेदी जालीमा ढुंगा भरेर ज्योतिनगरको पहिरो नियन्त्रण नहुने बताउँछन्।
‘बगिरहेको चुरेमा ग्याबिन जाली लगाएर र ड्याम बनाएर रोकिन्छ भन्नु मुर्खता हो,’ उनी भन्छन्, ‘यसले राज्यको करोडौं लगानीमात्र खेर गइरहेको छ।’
२०५५ सालमा गएको पहिरोपछिको अध्ययनले नै ज्योतिनगर क्षेत्र बसोवासका लागि अत्यन्त जोखिमपूर्ण मानिएकाले पहिरो प्रभावितहरूलाई तामनगरमा स्थानान्तरण गरिसकेको द्विवेदीको भनाइ छ। उनका अनुसार जग्गा दिएर स्थानान्तरण गरिए पनि जग्गाको लगतकट्टा नगर्ने सरकारको कमजोरीको कारण ज्योतिनगरमा पहिरोको समस्या दोहोरिएको हो।