प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईमाथि विशेष अदालतले उठाएको प्रश्नबारे सरकारसँग जबाफ मागेको छ।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले विशेष अदालतले नैतिक प्रश्न उठएको व्यक्तिलाई पदमा निरन्तरता दिइएको विषयमा सरकारसँग जबाफ माग गरेको हो।
'अख्तियार प्रमुखमाथि अदालतले नै नैतिक प्रश्न उठाएपछि उहाँलाई पदमा निरन्तरता दिनु र नैतिक धरातल गुमाइसकेका व्यक्तिहरू आफ्नो पदमा बसिरहनू कुनै अर्थमा शोभनीय हुँदैन,' उनले भने।
सुशासनको दाबी गर्ने प्रधानमन्त्री र सरकार भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई जोगाउने सुरक्षाकवच त होइन भन्ने प्रश्न जन्मिएको पनि उनले बताए।
'यसमा सरकारको जबाफका लागि सभामुखबाट रूलिङको माग गर्दछु,' उनले भने।