बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनको ५० औं जन्मदिनमा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि पत्र लेखेको खुलासा भएको छ।
सन् २००३ मा एपस्टिनको ५० औं जन्मदिनको अवसरमा ट्रम्पले पत्र लेखेको गत हप्ता अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले खुलासा गरेको थियो। एपस्टिनकी प्रेमिका गलिन म्याक्सवेलको अनुरोधमा एपस्टिनका करिब ५ दर्जन साथीहरूले उनलाई पत्र लेखेका थिए।
तिनीहरूमध्ये २००१ मा अमेरिकी राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल पूरा गरेका क्लिन्टन पनि भएको जर्नलले लेखेको छ।
ट्रम्पले लेखेको अश्लिल पत्रमा एक नग्न महिलाको आकृतिभित्र शब्दहरू लेखिएका थिए। तर क्लिन्टको पत्र भने त्यस्तो नभएर सामान्य खालको छ। ट्रम्पको पत्र जस्तै क्लिन्टको पत्र पनि पढेको भन्दै जर्नलले क्लिन्टको पत्रको पनि व्योहोरा छापेको छ।
क्लिन्टनका प्रवक्ताले जन्मदिनको सन्देशबारे टिप्पणी गर्न अस्वीकार गर्दै एपस्टिनबारे अघिल्लो विज्ञप्तिमै प्रतिक्रिया दिएको बताए भनेर जर्नलले लेखेको छ।
क्लिन्टनले २०१९ मा एपस्टिन दोस्रो पटक पक्राउ पर्नुभन्दा एक दशकभन्दा अघि नै सम्बन्ध तोडिसकेको र एपस्टिनका अपराधबारे थाहा थिएन भनेर अघिल्लो विज्ञप्तिमा क्लिन्टनका प्रवक्ताले भनेका थिए।
ट्रम्पले भने एपस्टिनको ५० औं जन्मदिनमा त्यस्तो पत्र आफूले नलेखेको भन्दै जर्नलविरूद्ध मुद्दा हालिसकेका छन्।
एपस्टिन र उनकी बेलायती प्रेमिका गलिन म्याक्सवेलले अमेरिकाका धनाढ्य र शक्तिशाली राजनीतिज्ञहरूका लागि 'कलिला किशोरीहरू व्यवस्था गर्ने' भनेर केही दशक अघिदेखि चर्चा हुँदै आएको थियो।
उनीहरूले न्यूयोर्क र फ्लोरिडाको पाम–बिचमा रहेका आफ्ना महलमा शक्तिशाली व्यक्तिहरूका लागि मनोरञ्जनको व्यवस्था गर्थे। एपस्टिनको क्यारेबियनमा एउटा निजी टापु नै थियो। उनले आफ्ना पाहुनालाई त्यहाँ लैजान निजी विमान प्रयोग गर्थे।
यस्तो धन्दा चलाउँदा पनि शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्धका कारण एपस्टिनमाथि कुनै छानबिन भएको थिएन।
सन् २००६ मा पहिलोपटक उनलाई बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ गरिएको थियो र १८ महिना कैद सजाय भएको थियो। तर एक विवादास्पद प्रावधानका आधारमा हरेक दिन १६ घन्टासम्म कामका लागि जेलबाहिर जान दिने व्यवस्था गरियो। राजनीतिक पहुँचकै कारण उनले त्यस्तो सहुलियत पाएका थिए।
उनी १८ महिनाको सजाय पूरा नगरी १३ महिनामै रिहा भए। त्यसपछि पनि आफ्नो धन्दा जारी राखेको मानिन्छ।
एपस्टिनले त्यति बेला वेश्यावृत्तिमा प्रयोग गरेका कतिपय किशोरीले हुर्किसकेपछि उक्त घटना सार्वजनिक गरेका थिए।
एक महिलाले वर्षौंअघि आफू किशोरी हुँदा तत्कालीन बेलायती राजकुमार एन्ड्रयू (हालका राजा चार्ल्सका भाइ) ले यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन्।
यही कारणले सन् २०१९ मा एन्ड्रयूलाई सार्वजनिक जिम्मेवारीबाट निलम्बन गरिएको थियो भने २०२२ पछि उनको राजकुमार पद पनि खोसियो। उनले ती महिलालाई करोडौं डलर दिएर अदालत बाहिरै मुद्दा मिलाएका थिए। ती महिलाले गत अप्रिलमा आत्महत्या गरिन्।
उता किशोरीहरूको सार्वजनिक बयानपछि एपस्टिनलाई ट्रम्पको पहिलो कार्यकाल सन् २०१९ मा फेरि पक्राउ गरियो।
उनले २०१९ मै जेलभित्र आत्महत्या गरे। उनकी प्रेमिका म्याक्सवेल भने अहिले पनि जेलमै छिन्।
कतिपयले एपस्टिनको मृत्यु आत्महत्या नभएर हत्या हो भन्ने दाबी गरेका छन्। यस्तो दाबी गर्नेमा ट्रम्पका समर्थक नै थिए। उनीहरू यहाँसम्म भन्थे — डेमोक्र्याटिक पार्टीमा आबद्ध शक्तिशाली व्यक्तिहरू बाल वेश्यावृत्तिमा संलग्न छन्!
एपस्टिनले आफ्ना शक्तिशाली ग्राहकको सूची नै बनाएर राखेका छन् भन्ने पनि ट्रम्पका समर्थकको दाबी थियो। त्यही सूची बाहिरिने डरले डेमोक्र्याटिक पार्टीका शक्तिशाली नेताले एपस्टिनको हत्या गरेको उनीहरू बताउँथे।
उनीहरूले यस्तो आरोप लगाउनुमा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँग एपस्टिनको घनिष्ठ सम्बन्ध एउटा मुख्य कारण थियो।
सन् २००१ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि क्लिन्टनले धेरैपटक एपस्टिनको निजी जहाजमा यात्रा गरेको फ्लाइट लगले देखाएको छ।
ट्रम्पले पनि आफ्नो राजनीतिक लाभका लागि ती आरोपलाई बढावा दिए। दोस्रो कार्यकालका लागि चुनाव प्रचार क्रममा उनले भने, 'मैले चुनाव जितेँ भने एपस्टिनको ग्राहक सूची सार्वजनिक गर्छु।'
उपराष्ट्रपतिका उनका उम्मेदवार जेडी भान्सले पनि 'एपस्टिनको सूची जारी गर्नुपर्छ' भनेका थिए।
यति मात्र होइन, ट्रम्पले अमेरिकी अनुसन्धान संस्था एफबिआईको प्रमुख बनाएका काश पटेल र उपप्रमुख बनाएका डयान बान्जिनोले त उक्त सूची एफबिआईसँग छ भनेर दाबी नै गरेका थिए। त्यो सूची बाहिरिए डेमोक्र्याटिक पार्टी संकटमा पर्ने बान्जिनोको भनाइ थियो।
ट्रम्पले महान्यायाधिवक्ता बनाएकी पाम बन्डीले पनि गत फेब्रुअरीमा ट्रम्पलाई समर्थन गर्ने 'फक्स न्यूज' सँग कुरा गर्दै उक्त सूची आफ्नो डेस्कमा रहेको बताएकी थिइन्। पछि उनले कुरा फेर्दै ग्राहकको सूची नभएर एपस्टिनको फाइल आफ्नो डेस्कमा रहेको बताइन्।
यी सबै घटनाक्रमका कारण ट्रम्प सरकारले उक्त सूची र एपस्टिनसँग सम्बन्धित सबै कुरा सार्वजनिक गर्ने उनका समर्थकको अपेक्षा थियो।
तर ट्रम्प सरकारले सूची त के, यसबारे कुनै पनि नयाँ विवरण सार्वजनिक गरेन। सार्वजनिक गरिएका सबै कुरा पहिल्यै थाहा भइसकेका थिए।
यसबीच ट्रम्पसँग भर्खरै झगडा गरेका टेस्लाका मालिक इलन मस्कको बयान आयो। ट्रम्पले आफू पनि उक्त काण्डमा मुछिने भएपछि सूची सार्वजनिक नगरेको मस्कले आरोप लगाए।
चौतर्फी दबाबपछि ट्रम्प सरकारले भर्खरै एपस्टिनले आत्महत्या गर्नुभन्दा अघिल्लो रातदेखिको जेलको सिसिटिभी फुटेज सार्वजनिक गर्यो। तर अमेरिकी अनलाइन 'वायर्ड' ले उक्त सिसिटिभी फुटेज सम्पादित भएको र तीन मिनेटजतिको भिडिओ काटिएको भनेर समाचार लेख्यो।
यसले झन् धेरै शंका बढायो।
अहिलेसम्म ट्रम्पका समर्थकले यो मामिलामा उनलाई सोझै आरोप लगाएका छैनन्। बरू महान्यायाधिवक्ता बन्डी शक्तिशाली व्यक्तिहरूको गिरोहसँग मिलेको आरोप लगाइरहेका छन्। उनीहरूले बन्डीको राजीनामा पनि मागिरहेका छन्।
यो मामिलामा अझ धेरै सामग्री सार्वजनिक गर्नुपर्छ भनेर अडान लिएका एफबिआई उपप्रमुख बान्जिनोसँग बन्डीको झगडा नै परेको समाचार आएका छन्।
यसबीच ट्रम्पले केही दिनदेखि एपस्टिनको ग्राहक सूची नै नरहेको भन्दै आफ्ना समर्थकलाई सम्झाइरहेका छन्। एपस्टिनको शक्तिशालीहरूसँग सम्बन्ध थियो भन्ने कुरा झूटो भएको पनि उनले बताएका छन्।
कतिसम्म भने, एपस्टिनको मामिला नै डेमोक्र्याटिक पार्टीका समर्थकले उछालेको ट्रम्पको आरोप छ।
विगतमा ट्रम्पले जति झूटो बोले पनि पत्याउने र उनले जे–जे अपराध गरे पनि बेवास्ता गर्ने समर्थकहरूले एपस्टिनको मामिलामा भने उनको कुरा पत्याएका छैनन्। उनीहरूले अझै पनि उक्त सूची सार्वजनिक हुनुपर्छ भनिरहेका छन्।
यो पनि:
बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने जेफ्री एपस्टिनसँगको सम्बन्धले ट्रम्प अप्ठ्यारोमा
ट्रम्प विरोधीहरूले त 'ट्रम्प आफै पनि बालिकाहरूसँगको यौन सम्बन्धमा संलग्न रहेको' आरोप लगाएका छन्। यस्ता आरोप हाल ट्रम्पसँग सम्बन्ध बिग्रिएका इलन मस्कको सामाजिक सञ्जाल 'एक्स' मा धेरै आइरहेका छन्।
यही सन्दर्भमा ट्रम्पकै रिपब्लिकन पार्टीको समर्थन गर्ने जर्नलले एपस्टिनको ५० औं जन्मदिनको अवसरमा ट्रम्पले अश्लिल पत्र लेखेको समाचार गत हप्ता छापेको थियो। त्यसपछि एपस्टिनको फाइलमा ट्रम्पको नाम रहेको भनेर महान्यायाधिवक्ता बन्डीले केही महिनाअघि ट्रम्पलाई जानकारी गराएको भनेर पनि समाचार आइसकेका छन्।
विपक्षी डेमोक्र्याटिक पार्टीले यो विषय संसदमा उठाउँछ भनेर ट्रम्पको रिपब्लिकन पार्टीका सभामुख माइक जोन्सनले त्यसपछि हतार-हतार प्रतिनिधि सभाको सत्र गृष्मकालीन बिदाका लागि बन्द गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)