सूर्यनारायण-सत्यनारायण मोरबैता क्याम्पस सिराहाबाट 'ओपन डिस्ट्यान्स लर्निङ' (ओडिएल) विषयमा स्नातकोत्तर पास भइसकेका छन् वाचसपति बिमली। रिजल्ट आएको पनि एक वर्षभन्दा बढी भइसक्यो।
तर उनले अहिलेसम्म प्रमाणपत्र पाएका छैनन्।
'परीक्षा समयमै दियौं, रिजल्ट समयमै आयो। तर ट्रान्सक्रिप्ट पाएनौं। थेसिस बुझाएको झन्डै पाँच महिना हुन लाग्यो,' उनले भने, 'प्रमाणपत्र नहुँदा भने समस्या भइरहेको छ।'
उनी त्रिभुवन विश्वविद्यालय डिनको कार्यालय र परीक्षा नियन्त्रकको कार्यालय धाएको धायै छन्। फोन र आवतजावतमै ३० हजारजति खर्च भइसकेको बताउँछन्। तै पनि कुनै सुनुवाइ भएको छैन।
'यत्रो खर्च भयो, हामीमाथि साह्रै अन्याय भयो,’ उनले भने।
ट्रान्सक्रिप्टका लागि सुरूमा उनी कलेज पुगे। तर उसले परीक्षा नियन्त्रकको कार्यालय र डिन कार्यालयमा सम्पर्क गर्न सुझायो। जनकपुरको निजी विद्यालयमा अध्यापन गरिरहेका उनी विदा लिएर तीन पटक ती कार्यालय पुगे। तर आश्वासन बाहेक केही पाएनन्।
‘डिन कार्यालयले गर्ने परीक्षा नियन्त्रक कार्यालयको काम हुन बाँकी रहेको भन्छ परीक्षा नियन्त्रकको कार्यालयले डिन कार्यालयको दोष देखाउँछ। त्यसको असर हामीले भोगिरहेका छौं। ४ वर्षको लगानी, सपना र तीन लाख रुपैयाँ गएजस्तो लागिरहेको छ,’ उनले भने।
जनकपुरककी पिंकीकुमारी साह पनि पास गरेको प्रमाणपत्र नपाउँदा निराश भइसकेकी छन्। उनी २०७३ सालको ब्याचकी हुन्।
कामधाम छोडेर पढाइमै केन्द्रित भएकी उनले रेगुलर पास पनि गरिन्।
‘सबै निकायले एक अर्काको दोष देखाएर पन्छिरहेका छन्। हाम्रो भविष्यसँग खेलवाड गरिँदैछ। क्याम्पसले प्राज्ञिक परिषदको बैठक बसेपछि समस्या समाधान हुने बताएको छ। तर त्यो दिन कहिले हो भन्दैन,’ उनले भनिन्।
ओडिएलमा मास्टर्स डिग्री पास गरेर उनीहरूजस्तै झन्डै १०० विद्यार्थीले प्रमाणपत्र पाएका छैनन्। सिराहा क्याम्पसका प्रमुख रामहित यादवका अनुसार त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयको निर्णयमा २०७२ सालमा ओपन डिस्टान्स लर्निङ पाठ्यक्रम ल्याइयो।
फिनल्यान्ड सरकारले याे पाठ्यक्रम संचालनका लागि आर्थिक सहयोग गरेको थियो। यो पाठ्यक्रम संचालनका लागि जम्मा पाँच वटा क्याम्पसले स्वीकृति पाए। तर विभिन्न कारणवश तीनवटा कलेजले मात्र यो पाठ्यक्रम लागु गरे। दुई ब्याच तीन वर्षे कोर्ष चल्यो। जसमा ६ वटा सेमेस्टर थिए। पछि डिन कार्यालयले पाठ्यक्रम संशोधन गरेर ४ वर्षे मास्टर डिग्री लागु गर्यो। जसमा ८ वटा समेस्टरको व्यवस्था गरियो। अन्य पाठ्यक्रमको परीक्षासँगसँगै ओपन डिस्ट्यान्स लर्निङको जाँच लिइयो।
पहिलो ब्याचले प्रमाणपत्र पाइसके पनि दोस्रो ब्याच देखिका विद्यार्थीले पाउन नसकेको सिराहा क्याम्पसका प्रमुख यादवले बताए।
‘त्यतिबेला परीक्षा नियन्त्रकको कार्यालय बल्खुसँग जे-जे कुरा मिलाउनुपर्ने हो डिन कार्यालयले मिलाएन। डिन कार्यालयले जाँच लियो। सर्टिफिकेट दिनुपर्ने परीक्षा नियन्त्रकको कार्यालय बल्खुले दिएन। त्यहीँबाट लफडा भयो,’ उनले भने।
त्रिभुवन विश्वविद्यालयका सहायक डिन विष्णु खनालले पनि परिषद्को बैठकपछि यो समस्या समाधान हुने बताए।
‘हामीले त परीक्षा नियन्त्रक कार्यालयलाई सर्टिफिकेट दिनु भनेर पत्र पठाइसकेका छौं। सुरूका वर्षमा ओडिएल ब्राकेटमा राखेर सर्टिफिकेट दिए तर दोस्रो ब्याचमा यो मिलेन त्यो मिलेन भनेर दिन मानेनन्। अन्तिम समयमा गएर प्राज्ञिक परिषदको निर्णय चाहिन्छ भन्यो,' उनले भने।
परिषदको निर्णय आइसकेपछि विद्यार्थीले प्रमाणपत्र पाउने उनले बताए। यद्यपि परिषदको बैठक कहिले बस्ने बारेमा आफूलाई थाहा नभएको उनले बताए। परीक्षा नियन्त्रक पुष्पराज जोशीसँग यसबारेमा बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।