नेकपा एमाले आउँदो मंसिर ४ गते गते हुने संघ र प्रदेशको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनसँग प्रतिष्पर्धा गर्दैछ। स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा गठबन्धनसँग प्रतिष्पर्धा गर्न एमालेलाई कठिन देखिन्छ। यस्तो अवस्थामा नेकपा एमालेले पाँच दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा)सँग कसरी प्रतिष्पर्धा गर्छ? के एमाले पनि कुनै गठबन्धन बनाउँदै छ? एमाले कुन एजेन्डामा निर्वाचन लड्छ? लगायत विषयमा सेतोपाटीकामनोज सत्यालले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग कुराकानी गरेका छन्। उक्त कुराकानीको सम्पादित अंश:
मंसिरमा हुने चुनावमा एमाले के एजेन्डा लिएर जाँदैछ?
पहिलो कुरा, २०७४ को निर्वाचनमा हामीले बनाएको चुनावी घोषणापत्रको समीक्षा गर्छौं। कति कार्यान्वयन गर्न सकियो, कति सकिएन भन्ने कुराबाट थप कार्यभार के भन्ने निर्धारित गर्छ। लामो समय नेपालका राजनीतिक दल व्यवस्था विरोधी आन्दोलनमा संलग्न हुनु परेको र अधिकारको प्रश्नमा बढी केन्द्रित हुनुपरेको थियो। मुलुकलाई विकास र समृद्धिका प्रश्नतर्फ डोर्याउन आवश्यक थियो। हामीले केपी ओलीको सरकार रहँदा राजनीतिक डिस्कोर्सलाई परिवर्तन गर्ने कोशिश गर्यौं। विकासका मुद्दाहरूको बहस त्यतिबेला नै सुरू भयो। कतिपय विषय आग्रहवश बहस गरियो होला। तर विकासका मुद्दाहरूमा बहस गरियो।
पछिल्लो समय नेपालको राजनीतिलाई पुरानै ठाउँमा फर्काउने प्रयास भएको छ। गठबन्धनको नाममा मुलुक फेरि पछाडि फर्कने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ। त्यसकारण गठबन्धन 'भर्सेस' विकास र समृद्धिको नेतृत्व गर्न सक्ने बलियो राष्ट्रिय शक्तिको छनौट नै नेपाली जनताका लागि मुख्य प्रश्न बनेको छ। कुन बाटो हिँडने?
व्यवस्थाविरोधी आन्दोलनमा दलहरूको सहकार्य स्वभाविक हुन्छ। हामीले पनि त्यही गर्यौं र सफल भयौं। त्यो ऐतिहासिक कुरा थियो। जब राष्ट्र निर्माणको प्रश्न आउँछ, त्यतिबेला गठबन्धनबाट राष्ट्रको विकास र समृद्धिको नेतृत्व भएको दुनियाँमा कहीँ पनि पाइँदैन। कम्तीमा नेपालका राजनीतिक दलहरूले यतिसम्म न्यूनतम ज्ञान राख्नुपर्छ। हामी गठबन्धनबाट अगाडि बढ्छौं भन्नुको अर्थ हामी विकास र समृद्धिको प्रश्नमा अहिले जान चाहँदैनौं भनेको नै हो। गठबन्धनद्वारा विकास र समृद्धिको नेतृत्व भन्ने कुरा न दुनियाँमा भएको छ न हुनेवाला छ। एक वर्षको गठबन्धनको राजनीतिले मुलुकको विकास र रूपान्तरणको प्रक्रिया ठप्प छ। त्यस अर्थमा मुलुकलाई विकास र समृद्धिमा लैजाने हो भने एउटा बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक छ। त्यसका लागि राजनीतिक ध्रुवीकरण आवश्यक छ भन्ने कुरालाई हामीले बहसमा अगाडी सारेका छौं। त्यही मान्यताका आधारमा हामी विकास र समृद्धिको मुद्दामा केन्द्रीत हुन्छौं।
आगामी निर्वाचनमा एकातर्फ पाँच दलीय सत्ता गठबन्धन छ अर्कोतर्फ नेकपा एमाले छ। स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा वडामा उम्मेद्वारले प्राप्त गरेको मतपरिणाम हेर्दा एमालेका लागि यो निर्वाचन कठिन देखिन्छ नि?
कठिन त हरेक चुनाव कठिन हुन्छ। चुनाव भनेकै दलहरूले आफूलाई जनताको मूल्याङ्कनको भट्टीमा राख्ने हो। त्यो सजिलो विषय होइन। तर जनताको मनोविज्ञान स्थानीय चुनावमा पनि के देखियो भने संस्थापनको विपक्षमा रूझान देखियो। जहाँ जसले जितेको छ उसलाई पुन जित्न गाह्रो भएको देखियो। त्यसले के बताउँछ भने अहिले सत्तामा जो छ उसको विपक्षमा जनमत प्रकट हुँदैछ भन्ने देखिँदैछ। त्यसअर्थमा म एमालेलाई गाह्रो हैन, एमालेलाई अनुकूल र गठबन्धनलाई प्रतिकूल हुने देख्छु।
कतिपयले दलहरूले प्राप्त गरेको मतलाई जोडेर त्यही नै परिणामका रूपमा आउँछ भनेर आँकलन गरिराखेका छन्। त्यो जनमतमाथि उपेक्षा हो। वास्तवमा जनताले व्यक्ति र राजनीतिक दल हेर्छन्। कार्यकर्ताहरूले राजनीतिक दललाई बढी रोज्छन्। जनताले व्यक्ति रोज्छन्। हाम्रो समाजमा राजनीतिक कार्यकर्ताको संख्या तुलनात्मक रूपमा कम छ। गठबन्धन भनेको कार्यकर्ताको हो। जनताको त गठबन्धन हुँदैन। त्यसकारण जनताले हाल्ने मत व्यक्तिलाई केन्द्रमा राखेर हाल्छन्। गठबन्धन हुनेबित्तिकै परिणाम फरक पर्छ भन्ने बुझाइ मनोगत हो।
अर्को कुरा गठबन्धनले राजनीतिक ध्रुवीकरणमा सहयोग पुर्याएको छ। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनको राजनीतिमा चलाखी गरेको देखिन्छ। जहाँ उसले आफू बलियो छु भन्ने ठान्यो त्यहाँ गठबन्धन बनाएन। एक्लै चुनाव लड्यो। जहाँ नेकपा एमालेको हाराहारी छु भन्ने ठान्यो त्यहाँ उसले आंशिक गठबन्धन बनायो। कुनै एउटा दललाई साथमा लिएर चुनाव लड्यो। जहाँ उसले एमालेभन्दा कमजोर छु भन्ने ठान्यो त्यहाँ उसले पाँच दलीय गठबन्धन बनाएर चुनाव लड्यो। त्यस अर्थमा हामीले समष्टिगत विश्लेषण गरेको देख्छौं।
नेपाली कांग्रेसले अंगालेको नीतिका कारण कस्तो खालको 'रिजल्ट' आयो भन्ने विषयमा कसैले पनि मसिनो विश्लेषण गरेको देखिँदैन। जहाँ एक्लाएक्लै चुनाव लडिएको छ त्यहाँ नेकपा एमालेको मत २५ प्रतिशत आएको छ। जहाँ आंशिक गठबन्धन बनेको छ त्यहाँ एमालेको मत ३१ प्रतिशत छ। जहाँ पूर्ण गठबन्धन बनेको छ त्यहाँ नेकपा एमालेको मत ४१ प्रतिशत छ। हामीले ४१ प्रतिशत मत ४० प्रतिशत गाउँपालिकामा प्राप्त गरेका छौं। ३१ प्रतिशत मत पनि ४० प्रतिशत पालिकामा पाएका छौं। अनि २५ प्रतिशत मत हामीले २० प्रतिशत पालिकामा पाएका छौं। यो हिसाबले जति गठबन्धन बन्छ त्यति एमालेको प्रतिरोधी क्षमता बढेको देखिन्छ। त्यसअर्थमा गठबन्धन बन्दा भोट घट्ने होइन बढ्ने हो।
गत निर्वाचनमा एमाले गठबन्धनका कारण हार्यो भन्ने कुरा आंशिक सत्य हो। एक्लाएक्लै चुनाव लड्दा हामीले २९४ स्थान जितेका थियौँ। पाँच दलसँग मुकाबिला गर्दा २०६ ठाउँ जित्यौं। गठबन्धनले हामीलाई हराएको कति त? ८८ ठाउँमा हरायो। २०६ ठाउँ त हराउन सकेन।
सबै महानगरमा त तपाईंहरू हार्नुभयो नि?
त्यो गठबन्धनले होइन। महानगर र उपमहानगरको सन्दर्भमा कुरा गर्दा कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारले हराए। त्यसलाई कुन रूपमा हेर्ने? जनमतलाई हामीले गठबन्धनसँग दाँज्ने कुरा उपयुक्त होइन। एउटा व्यक्तिले समेत दलहरूलाई हराउन सकेको छ भनेपछि जनताको अभिमत भनेको स्वभाविक रूपमा प्रकट हुन्छ भन्ने त महानगरको चुनावले पनि देखाएको छ। म के ठान्छु भने अहिले हामी जसरी गठबन्धनमा रहेको दलले प्राप्त गरेको मतलाई जोडेर चर्चा गरिराखेका छौं, यो जनभावना माथिको उपेक्षा हो।
स्थानीय तहको निर्वाचनको मतपरिणाम आएपछि तपाईंहरूले पनि मत जोडेर एमाले लोकप्रिय पार्टी बन्यो भन्नुभयो। अहिले वडागत मत जोडेर आइरहेको समाचार विश्लेषणमा एमाले एक्लै लडे ९ सिट मात्र प्रत्यक्षमा जित्ने देखियो। त्यसले त एमाले कार्यकर्तामा हिनताबोध पलाएको देखिन्छ नि?
जसले विश्लेषण गर्नुभएको छ, उहाँहरूले सत्य बुझ्नु भएको छैन। हिजो नेकपा एमाले समाप्त पार्न सकिन्छ भनेर स्थानीय चुनावमा गएको हैन? परिणाम त त्यस्तो भएन। यो विषय पनि अर्को एउटा मजाकको विषय हो।
अहिले पनि नेकपा एमाले गठबन्धनसँग मुकाबिला गरेर पहिलो शक्ति बन्ने सामर्थ्य राख्छ। हाम्रो प्रयास बहुमतको प्रयास रहन्छ। नेपालमा स्थायित्वका लागि विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक छ। त्यो चिज नेपाली जनतासँग अपिल गर्दा जनताले हाम्रा कुरा सुन्छन् भन्ने विश्वास छ।
अहिले भइराखेको सरकारले के 'पर्फरमेन्स' गर्यो र गठबन्धनलाई भोट हाल्ने? यसको जवाफ त विश्लेषण गर्नेहरूले दिनुपर्यो नि। अहिले भइराखेको पाँच दलीय गठबन्धनले जनतालाई के दियो र जनताले उनीहरूलाई भोट हाल्ने? सम्भव छ त्यो कुरा? काम नगर्नेले भोट पाउँछ भन्ने दृष्टिकोण हामीले बनाउन खोजेको हो? होइन होला नि!
कोभिड-१९ को समय लकडाउनका बेला जति पुँजीगत खर्च भयो त्यो भन्दा कम पुँजीगत खर्च यो सरकारले गरिराखेको छ। यस्तो अवस्थामा यो सरकार यति असक्षम र असफल छ फेरि उसैका पक्षमा जनमत जान्छ भनेर 'डेटा' देखाएर हामी जनतालाई गुमराहमा पार्न खोज्छौं भने त त्यसले विश्लेषकहरू राष्ट्र निर्माणप्रति गम्भीर छैनन् भन्ने अर्थ लाग्छ।
हुनुपर्थ्यो के भने सरकार असफल छ, जनमत सरकारको पक्षमा जाँदैन भन्ने विश्लेषण आजको सत्य हो। बरू त्यसको विकल्प को हुन सक्छ त्यो छलफलको विषय हो। सरकारमा रहेकाहरू नै विकल्प हुन् र उनीहरूले नै 'स्विङ' गर्छन् भन्ने प्रकारको 'डेटा' प्रस्तुत गरेर छलफल र बहसको अर्थ म देख्दिनँ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले एक वर्षमा गरेका कयौं कमी कमजोरी छन्। विगतमा एमाले सरकार भएका बेला गरेका काम यो सरकारले पनि निरन्तरता दिएको देखियो। तर मानिसहरूले नेकपा एमाले र माओवादी मिलेर नेकपा बन्दा पनि के गर्यो त? एमालेलाई सत्तापक्षको विकल्पभन्दा पनि त्यही क्याटेगोरीमा राखेका छन् नि?
त्यो सत्य होइन। हामी कहाँ एउटा आग्रह छ, त्यो आग्रह पुष्टि गर्न यिनीहरूले सकेनन् अघिल्ला पनि सकेका थिएनन् भन्ने तर्क गरिन्छ। त्यो आग्रहको कुरा हो। कतै हामी त्यो आग्रहद्वारा प्रभावित छौं कि भन्ने अर्थ लाग्छ।
नत्र बुझ्ने कुरा के हो भने नेकपा एमालेको सरकार अथवा नेकपाको सरकारको कुरा गर्दा हरेक प्रकारका सूचकहरूमा सकारात्मक परिवर्तन थियो। हामीले हेर्ने त त्यो होला नि। ऊ सरकारमा आउनुभन्दा पहिलाका आर्थिक सामाजिक सूचकको अवस्था के थियो र उसले सरकार चलाउँदा सूचकहरूमा के प्रभाव पर्यो? नकारात्मक पर्यो कि सकारात्मक पर्यो? हेर्ने त त्यही होला! हरेक सूचकमा सकारात्मक प्रभाव पर्यो तर काम भएको छैन भन्ने निष्कर्ष सही हो र? यतिसम्म कि मुलुकको आर्थिक विकासको दर ३ वर्षसम्म उच्च दरमा हासिल गर्ने श्रेणीमा विश्वका दश मुलुकको श्रेणीमा नेपाल पुग्यो। यो केही नभएको चिज हो र!
अहिले के कुराको बढी आलोचना भएको छ भने ठूलाठूला आयोजनामा वैदेशिक ऋण ल्याएर मुलुकलाई अफ्ठ्यारोमा पार्ने काम भयो। ठूलाठूला आयोजना अघि बढेको त सत्य हो नि। विकास निर्माणका काम अगाडि बढेको त यसले बताउँछ नि।
केही गेमचेन्जर पहिला नभएका आयोजनाको कुरा गर्दा भारत र चीन जोड्ने सात वटा करिडोरको काम अघि बढेको छ। केही भएको हैन? पूर्व-पश्चिम राजमार्ग ४ लेनमा निर्माण प्रक्रिया अघि बढेको छ। पूर्व-पश्चिम रेलमार्ग निर्माणको प्रक्रिया अघि बढेको छ। हुलाकी सकड रूग्ण थियो। ८० प्रतिशत निर्माण सम्पन्न भएको छ। तराईका २२ जिल्लाको सदरमुकाम आधुनिकीकरणको काम अघि बढ्यो। केपी ओली नेतृत्वको सरकार बन्नुभन्दा पहिला तराईका सदरमुकाम कस्ता थिए? केपी ओली नेतृत्वको सरकार बनेपछि ती सदरमुकामको रूपरंग कस्तो छ भनेर तपाईं मिडियाकर्मी गएर सोध्नु? चेन्ज के भएको छ भन्ने कुरा जनताले भन्दैन? एउटा आँखामा पट्टी बाँधेर राजनीतिक दलहरूप्रति नेगेटिभ दृष्टिकोण बनाएर गरिने विश्लेषणको अर्थ छैन। त्यो त जनताले अनुभूति गरेको छ।
अर्को कुरा नदी पथान्तर योजना। पानी जति सबै भारततिर बगेर जाने र भारतले अधिकारको रूपमा प्रयोग गरिराखेकोमा केपी ओली नेतृत्वको सरकारले आँट गरेर अघि बढाउँदा सुनकोसी मरिन डाइभर्सन आयोजना अघि बढिराखेको छ। गेमचेन्जर हैन? विगतका ले किन गरेनन्?
केपी ओली सरकारमा आउनूपूर्व लोडसेडिङ १८ घन्टा थियो। अहिले बिजुली बेच्ने ठाउँमा पुगेका छौं। केही नभएको हो? भएको कुरा देख्दै नदेख्ने अनि पहिलाकाले नि केही गरेका होइनन्, अहिलेका ले पनि केही गरेनन् भन्ने आग्रह राख्न हुन्न भन्ने लाग्छ।
निर्वाचनका लागि पाँच दलको गठबन्धन बनेको छ। एमालेले पनि राप्रपासँग वा मधेश केन्द्रीत दलहरूसँग गठबन्धन बनाएर जाने विषयमा छलफल गरिराखेको छ?
हामी नीतिगत रूपमा कसैसँग गठबन्धन गर्दैनौं। स्थानीय तह निर्वाचनमा पनि हाम्रो नीतिमा सहमत हुन चाहने दलहरूसँग गठबन्धन गर्छौं भन्यौं। दुई वटा दलहरूलाई स्थानीय तहमा तालमेल हुन सक्यो भने चिन्ह प्रयोग गर्ने अधिकार दिएका थियौं। यद्यपी तालमेल कहीँ पनि भएन। मान्छेहरूले एमालेको पनि गठबन्धन गठबन्धन भनेर प्रचार गरे। यथार्थतामा त्यहाँ गठबन्धन नै भएन। त्यो गठबन्धन पनि होइन। स्थानीय तहमा सहमति भएको अवस्थामा चिन्ह प्रयोग गर्न पाउने भन्ने नीतिगत समझदारी भएको हो।
अहिले पनि हामी गठबन्धन गर्दैनौं। स्थानीय आवश्यकताका आधारमा तालमेल हुनसक्छ। तालमेललाई हामीले अस्वीकार गरेका छैनौं। त्यस अर्थमा स्थानीय तहमा आवश्यकताका आधारमा तालमेल भइहालेछ भने अस्वभाविक हुँदैन। त्यसैले हाम्रो नीतिका आधारमा राष्ट्रको नेतृत्व गर्ने हो। नीति छाडेर हामीले गठबन्धनको राजनीति गर्दैनौं।
पाँच दलीय गठबन्धन टुट्ने र माओवादी केन्द्र/एकीकृत समाजवादी र एमालेबीच चुनावी तालमेल हुने सम्भावना छ कि छैन?
गठबन्धन टुटाउने हाम्रो रूची नै छैन। गठबन्धनसँग मुकाबिला गरेर र बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने नीति अघि सारेको पार्टीले गठबन्धन टुटाउने विषयलाई आफ्नो प्रधान विषय बनाउँछ र? उनीहरूको स्वार्थ्य मिलेन भने टुट्छन्।
२०७४ को समानुपातिक तर्फको मतपरिणाम हेर्ने हो भने नेकपा एमाले र नेपाली कांग्रेसबीच एक प्रतिशतले मत तलमाथि भएको देखिन्छ। यसरी हेर्दा नेपालको राजनीतिमा नेपाली कांग्रेस र नेकपा एमाले हाराहारीको शक्तिको रूपमा देखिएका छन्। निर्णायक अवस्थामा माओवादी केन्द्र पुगेको छ। एमालेले अघिल्लो पटक माओवादी केन्द्रलाई साथ लियो। यसपटक कांग्रेसले साथ लिएको छ। यो अवस्थामा नेकपा माओवादी नै नेपाली राजनीतिमा निर्णायक शक्ति देखियो नि?
विचारधाराका हिसाबले विगतमा गरिएको प्रयोग गठबन्धन थिएन। त्यो एउटा पार्टी निर्माणको प्रयास थियो। चुनावी तालमेल त्यतिबेला एउटै बलियो पार्टी निर्माण गर्ने उद्देश्यमा आधारित थियो। जुन असफल भयो। त्यस अर्थमा हिजोको प्रयास बलियो पार्टी निर्माणको प्रयास थियो। गठबन्धन होइन। हामीले त्यसरी बुझ्नुपर्छ।
अर्कोतर्फ प्रचण्ड र माधव नेपालले गरेको के भने कांग्रेसविरूद्धको जनमतलाई कांग्रेसको पक्षमा सुम्पिएको हो। जनमत माथिको अपराध हो। चुनावमा जाँदा कांग्रेसका विरूद्ध भाषण गरेर भोट प्राप्त गर्ने र त्यो भोट लगेर कांग्रेसलाई प्रधानमन्त्री बनाउन प्रयोग गर्ने भनेको जनमतलाई खण्डित गर्ने, जनमतलाई अपमान गर्ने लोकतन्त्र विरोधी काम हो। त्यो चिज गलत हो भन्ने कुरा राजनीतिमा स्थापित गर्न सकेनौं भने चुनावको कुनै अर्थ हुँदैन। चुनावका बेला जे प्रतिबद्धता गरिन्छ त्यो प्रतिबद्धतामा कम्तीमा आवधिक अवधि पाँच वर्षसम्म कायम रहनुपर्छ। तब न चुनावको अर्थ हुन्छ। चुनावमा एउटा कुरा गर्ने चुनावपछि अर्को काम गर्ने भन्ने कुरा अनैतिक कुरा हो।
जहाँसम्म नेपाली कांग्रेस र माओवादी लगायतका शक्तिको गठबन्धनको कुरा छ त्यो वैचारिक, राजनीतिक र नीतिगत होइन। त्यो आत्मसुरक्षाको भावनाद्वारा ग्रस्त मनस्थितिको परिणाम हो। न त यसको कुनै उद्देश्य छ, न त लक्ष्य, गन्तव्य छ। यस्तो प्रकारको गठबन्धनले मुलुकलाई सही बाटो दिदैँन। कम्तीमा बौद्धिक जमातले यो कुरा बुझ्नुपर्छ।
जो असुरक्षित छ उसले संरक्षण खोज्छ। प्रतिष्पर्धाबाट विजय हासिल गर्न सक्ने सामर्थ्य गुमाएँ भन्नेले नीतिगत नेतृत्व छाडेर गठबन्धन गर्नसक्छ। मलाई लागेको के थियो भने नेपाली कांग्रेस त्यो अवस्थामा पुगेको पार्टी होइन उसले नीतिगत नेतृत्व गर्न सक्छु भन्ने आँट गर्नुपर्थ्यो। तर उसले विगतको चुनावको पराजयबाट होला नीतिगत नेतृत्वको सामर्थ्य गुमाएको छ। जसले नेपाली कांग्रेसको भविष्यलाई अन्धकारतर्फ लैजाँदैछ भन्ने म ठान्दछु। अहिले नेपाली कांग्रेस जुन गठबन्धनको ढाँचामा जान खोज्दैछ त्यसले नेपाली कांग्रेस भारतीय राष्ट्रिय कांग्रेसको हालतमा पुग्छ भन्ने लाग्दछ। आउने चुनावमा परिणाममा थोरै लाभ प्राप्त गर्न सक्लान् गठबन्धनवालाहरूले। तर उनीहरूको राजनीतिक भविष्य बर्बाद हुन्छ। त्यसैले हामीले धेरै चिन्ता गर्नुपर्ने विषय छैन।
तपाईंले अहिले माओवादी केन्द्रसँग गठबन्धन अस्वीकार गर्नुभयो। यो निर्वाचनपछि माओवादी केन्द्रसँग एमालेको सहकार्यको सम्भावना रहन्छ कि रहन्न?
जबसम्म उनीहरूले विगतमा गरेका भुलहरूलाई स्वीकार गर्दैनन् तबसम्म त्यो सम्भावना रहँदैन। किनकी गल्तीको पुनरावृत्ति गर्ने खालको कुरा उचित हुँदैन। एकपटक इतिहासको कालखण्डमा कार्ल मार्क्सले भनेको सन्दर्भ छ- ऐतिहासिक घटनाहरू एक पटक नाटकको रूपमा र अर्कोपटक प्रहसनका रूपमा घटित हुन्छन्। प्रहसन गर्नुको कुनै अर्थ छैन। जे कुरा हिजो असफल भएको छ त्यसको पुनरावृत्ति गर्ने कुराको अर्थ हुन्छ र? त्यही भएर मैले भन्ने गर्छु- नेता जोड्ने कुरा स्वार्थ्यका कारण असफल भयो। अब कार्यकर्ता जोड्छौं हामी। विचार जोड्छौं। प्रचण्ड र माधव नेपाललाई जोडेपछि मात्र कम्युनिष्ट आन्दोलन बलियो हुन्छ भन्ने मान्यता त असफल भइसक्यो। त्यो असफल भएको मान्यता फेरि दोहोर्याउने कुरा उचित हुन्छ र?
हामी कार्यकर्ताको भावना जोड्छौं। आन्दोलन जोड्छौं बलियो बनाउँछौं।
निर्वाचनपछिको परिणाममा नेकपा एमाले दोस्रो शक्ति बन्ने सम्भावना छ। दोश्रो शक्ति बनिरहँदा जसरी विगतमा नेपाली कांग्रेसले प्रचण्डलाई ५ वर्ष सरकारको नेतृत्व 'अफर' गर्यो त्यस्तै अवस्था निर्वाचनपछिको परिदृश्यमा सम्भव छ कि छैन? प्रचण्डललाई एमालेले सरकारको नेतृत्व दिने अवस्था हुन्छ कि हुँदैन?
गठबन्धन, गठबन्धनको रूपमा कायम रहनुपर्छ। अस्ति नेपाली कांग्रेसले एमसिसी प्रकरणमा सरकारको अफर नगरेको होइन। हामीले के भन्यौं भने तपाईंहरू जब अदालतद्वारा एउटा म्यान्डेटसहित सरकारमा सामेल हुनु भएको छ भने तपाईंहरूकै कर्तव्य हो के गर्ने? एमसिसीका विषयमा सत्तापक्षलाई नै एक ठाउँमा उभ्याउनुहोस्। उनीहरूले मानेनन् त्यसैले तपाईं हामीले मिलेर जाऔं भन्ने कुरा उचित हुँदैन। पहिलो कर्तव्य सत्तापक्षसँगै केन्द्रित हुनुपर्छ भन्यौं। गठबन्धन नखल्बलियोस् भन्ने मान्यतामा हामी गयौं त।
कांग्रेसका साथीहरूलाई सोध्नुहोला, एमसिसी प्रचण्ड र माधव नेपालसहित टुङ्ग्याउनुहोस् भन्नेमा हामी गयौं। भन्नुको अर्थ, तपाईंहरू जसरी ठान्नुहुन्छ- एमाले आत्तिएको छ, हतारिएर केही गरिहाल्छ कि। नीतिगत नेतृत्व गर्नेले त्यस्तो गर्दैनन्। राष्ट्रको दिशा के हो भन्ने कुरामा बाटो देखाउने नेताहरूलाई अब कसरी जित्ने भन्ने प्रश्न प्रधान हुन्छ र? मुलुकको समृद्धिको प्रश्न प्रधान हो। उद्देश्य र लक्ष्य प्रधान हो। त्यो विषय कसरी हासिल हुन्छ भन्ने कुरा हो। जुन बाटोबाट लक्ष्यमा पुग्न सकिँदैन त्यो बाटो हिँड्ने कुरा उचित हो र? उचित होइन। मुलुकलाई दिशाहीन बनाउने बाटोतर्फ उनीहरू धेरै छन् बलियो छन्, त्यसलाई कमजोर पारेर आफू बलियो हुने भन्नु दिशाहीनता तर्फको यात्रा त हो नि। म के भन्छु भन्दा नीतिमा सहमति हुन्छ भने एउटा प्रश्न हो। यदि नीतिमा सहमति हुन्न भने त्यसपछाडि गठबन्धन गर्ने भन्ने कुराको खास अर्थ हुँदैन।
मैले तपाईंलाई यो किन सोधेको भने निर्वाचनपछि त राष्ट्रपति, सभामुखदेखि सात वटा प्रदेशमा सरकार बनाउने कुरा आउँछ। एमालेले पक्कै पनि तपाईंले भनेजस्तै समृद्धिको काम गर्न पनि सरकारको नेतृत्व चाहला?
अहिले त नेकपा एमालेले त्यो सबै चिज एक्लै लडेर हासिल गर्ने परिस्थिति बन्दैछ भनेपछि किन मिलिराख्नुपर्यो। हामी राष्ट्रलाई बाटो देखाउने बलियो राष्ट्रिय शक्तिबाटै हो र त्यो सामर्थ्य एमालेसँग छ भनेर जनतामा जाँदैछौं। त्यसरी हामी बलियो शक्तिका रूपमा स्थापित हुन सक्छौं भन्ने कुरा देख्दादेख्दै अनि गठबन्धनतिर किन जाने? जनताले यो सच्चाइलाई बुझ्न समय लागेछ भने धैर्यता गर्नुपर्छ। बुझे भने त अहिले नै आइहाल्छ परिणाम। सत्य त गठबन्धन गरेर मुलुकको समृद्धि र राष्ट्रहित सम्भव छैन भन्ने कुरा जनताले बुझ्नेबित्तिकै परिणाम आउनेवाला छ। त्यसपछि राष्ट्रपति पनि आउँछ, प्रधानमन्त्री पनि आउँछ। एउटै पार्टीको आउँछ। नीतिगत नेतृत्व गर्ने सम्भावनाको रूपमा आउँछ। त्यो नीतिगत नेतृत्वको सम्भावना हुँदाहुँदै अर्कोखालको बाटो जाने भन्ने कुरा त अन्यौलताको विषय हो।
जब सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र छुट्यायो त्यसपछि एमाले एउटै बन्ने अवस्था थियो। एमाले भित्रको विवादका कारण माधव नेपालहरूले छुट्टै पार्टी बनाउनुभयो। अब तपाईंहरूले फेरि नेकपा समाजवादीलाई एमालेमा मिलाउने, त्यसका नेता कार्यकर्तालाई ल्याउने वा नेतृत्वलाई ल्याउने विषयमा कुराकानी गरिराख्नु भएको छ कि छैन?
हामी त माओवादीलाई पनि ल्याउँदैछौं। एकीकृत समाजवादीकालाई पनि ल्याउँदैछौं। पार्टी ल्याउँदैनौं। नेता कार्यकर्ता ल्याउँछौं। ल्याइराखेकै छौं। किनकी नेताहरूले गल्ती गरेका हुन् कार्यकर्ताले होइन। कार्यकर्तालाई हामीलाई नेताको आँखाबाट हेर्नुपर्छ भन्ने छैन।
नेकपा एमाले भनेको नेकपाको निरन्तरता हो। एमाले हेर्नुभयो भने नेकपाको अनुहार देखिन्छ। माओवादी केन्द्रभित्र माओवादी देखिन्छ। एकीकृत समाजवादीभित्र पूर्वएमाले देखिन्छ। एमालेभित्र माओवादी पनि र एमाले पनि देखिन्छ। सत्य यही हो। यो पार्टी नै वामपन्थी आन्दोलनको मूल शक्ति हो। चुनावले पनि त्यो प्रमाणित गर्यो।
माधव नेपालहरू एमालेबाट अलग हुँदा झन्डै ४ प्रतिशतको हाराहारीमा मत उहाँहरूले प्राप्त गरेको देखिन्छ। तर एमालेको भोट बढेर ३४ प्रतिशत पुगेको छ। यसको अर्थ माधव नेपाल र झलनाथ खनालको अनुपस्थितिमा हामीले भोट बढायौं नि त। उहाँहरूले लगेको भोटलाई एमालेको मान्ने हो भने पाँच प्रतिशत मत वृद्धि गर्न सफल भयौं। र पुरानै अवस्थाको पार्टीमा हामीले २१ प्रतिशत 'स्ट्रेन्थ' वृद्धि गर्यौं। करिब ७ लाख मत बढाउन सफल भएका छौं। अर्कोतिर माओवादीतिर हेर्नुभयो भने १७ प्रतिशतबाट १२ प्रतिशतमा झरेको छ। ४ प्रतिशत मत उसले गुमाएको छ। त्यसअर्थमा नेपालको वामपन्थी आन्दोलनभित्र माओवादी ओरालो यात्रामा हामी विकासको प्रक्रियामा छौं।
स्थानीय तहको निर्वाचनमा धेरै पालिकाहरूमा तपाईंहरूले थौरै मतान्तरले पराजय भोग्नुपर्यो। त्यो हिसाबले हेर्दा तपाईंहरूलाई एमाले फुटेर एकीकृत समाजवादी बन्दा घाटा भएको देखिन्छ नि?
त्यसो होइन। अर्कोपटक एकीकृत समाजवादी आउँदा पनि थोरै भोटले हार्ने ठाउँ भइहाल्छ। हामी यो नबिर्सिउँ, पहिला पनि ५ सयको अन्तरले हारेका सिट खोज्यौं भने भेटिदैँन र? अघिल्लो चुनावमा भेटिन्छ, यसपटक पनि भेटिन्छ र अर्को चुनावमा पनि भेटिन्छ। त्यसअर्थ त्यो मत कुन पार्टी आउँदा जोडिन्छ भनेर यान्त्रिक समिकरणबाट आउनेवाला छ र? हामी कति प्राविधिक हुन खोज्दैछौं भने यति कम मत आयो भनेपछि त्यति बराबरको अर्को पार्टी जोड्नेबित्तिकै मत प्राप्त हुन्छ भन्ने कुरा राजनीतिमा सम्भव हुन्छ? गणितको सुत्र राजनीतिको मैदानमा सम्भव हुन्छ भन्ने मलाई लाग्दैन।
राजनीति भनेको स्वभाविक रूपमा मनोविज्ञानसँग ज्यादा जोडिन्छ। त्यसले भविष्यमा आफ्नो ठाउँको विकास र समृद्धिमा भूमिका खेल्न सक्छ भन्नेमा जोडिन्छ। राष्ट्रको नेतृत्व कसले गर्छ भन्ने कुरासँग जोडिन्छ। त्यसले भोटको वृद्धिमा प्रभाव पार्छ।
हामीले के भनेका छौं भने कार्यकर्ताको आकांक्षामा व्यवस्थापनमा भएको कमजोरीले हामीले केही ठाउँ 'लुज' गर्यौं। एकीकृत समाजवादी वा अर्को दलका कारण भनेर हामीले विश्लेषण गरेका छैनौं। कार्यकर्ताको आकांक्षा बढ्यो। त्यसलाई व्यवस्थापनमा हामीले ध्यान दिन सकेनौं त्यसकारणले केही ठाउँ गुमाएका छौं। अब आन्तरिक व्यवस्थापनको पक्षलाई विशेष ध्यानदिनुपर्छ भन्ने हाम्रो विश्लेषणको विषय हो।
बरु हाम्रा कार्यकर्ताको प्रतिरोधी क्षमतामा कमी आयो। अलिक सुरक्षा निकायप्रतिको निर्भरता बढ्यो र सुरक्षा निकायको दुरूपयोग राज्य पक्षले ज्यादा गरेका कारण परिणाममा तलमाथि भएको छ भनेका छौं। यो चिज मुख्य चिज हो। यस्ता चिजमा सुधार गर्न सकियो भने परिणाममा सुधार हुन्छ।
अर्को कुरा विगतमा हामीले दुई कारणले तटस्थ मतलाई आफ्नो पक्षमा ल्याउन सकेनौं। प्रयास त गर्यौं तर सकेनौं। एउटा एमाले फुटेको छ। कमजोर छ, जित्न गाह्रो छ भन्ने प्रचार बढी भयो। यद्यपी हामी कमजोर भएका छैनौं, हामीले रिकभर गरिसकेका छौं भन्यौं तर आम मतदाताको बीचमा कमजोर भएको छ भन्ने कुरा बढी प्रवाहित भयो। अर्कोतर्फ पाँच दलसँग एमाले लड्न सक्दैन भन्ने कुरा गयो। र त्यो चिजलाई हामीले स्थानीय चुनावबाट खण्डित गर्यौँ। एमाले कमजोर भएको छैन भन्ने कुरा परिणामले देखायो। पाँच दलसँग लड्न सक्छ भन्ने कुरा एमाले लडेको ठाउँमा भोट त ४१ प्रतिशत आयो त। यसबाट स्वीकार त गर्नुपर्यो नि। जति गठबन्धन गरेर आउँछन् एमालेले आफ्नो सामर्थ्य वृद्धि गर्ने हैसियत राख्छ भन्ने कुरा त देखियो। त्यो जगमा हो हामीले गठबन्धनसँग मुकाबिला गर्ने।
तपाईंले जति पनि नयाँ मतदाता छन् उनीहरूले केपी ओलीलाई मत दिन्छन् वा एमाले रोज्छन् भनेर अन्तर्वार्ताहरूमा बताउने गर्नु भएको थियो। तर स्थानीय निर्वाचनको ट्रेण्ड हेर्ने हो भने कांग्रेस र एमालेमा भन्दा स्वतन्त्र र नयाँ उम्मेदवारले मत लगेको देखियो। नयाँ मतदाताको आकर्षण एमालेमा देखिएन। बरू स्वतन्त्र उम्मेदवारले मत लैजाने देखियो?
गएको स्थानीय चुनावलाई आधार मान्दा त्यो एक हदसम्म सत्य हो। सहरी मतदाताको रूझान पार्टीहरूबाट अलिक टाढिन खोजेको देखियो। त्यो चिजलाई हामी समीक्षा गर्छौं। कतै हाम्रा उम्मेदवारहरूका कारण त्यस्तो भयो कि नीति वा एजेन्डाहरूप्रति युवाको आकर्षण पैदा गर्न सकिएन कि भन्ने कुरा हामी विश्लेषण गर्छौं। सहरी मतदातामा एकहदसम्म त्यस्तो देखिएको छ।
सहरी मतदातामा कांग्रेस र माओवादीको तुलनामा हामी नै बलियो छौं। जस्तो कि नगरपालिकाहरूमा हामीले परिणामका हिसाबले नेपाली कांग्रेसलाई उछिनेको एउटै ठाउँमा हो। नगरपालिकाको उपमेयरमा हामीले कांग्रेसलाई जितेका छौं। त्यसले हाम्रो जनाधार सहरी क्षेत्रमा बढी छ भन्ने देखाउँछ। सबै चिज यान्त्रिक हिसाबले विश्लेषण नगरौं। काठमाडौं, धरान र इटहरी जस्ता केही ठाउँमा हामीले सोचेभन्दा फरक प्रकारको रिजल्ट आयो। दुई ठाउँमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे। जुन कुरा राजनीतिक दलहरूले अनुमान पनि गरेका थिएनन्। यस्तो किन भयोभन्दा केही हाम्रा उम्मेदवारका 'पर्फरमेन्स'सँग जोडियो होला। उनीहरूको प्रस्तुतिको शैलीसँग जोडियो होला। काठमाडौंको हकमा प्रतिवाद गर्ने शैली जनताले रूचाएनन्। हामीलाई 'डिफेन्सिभ' बनायो। यद्यपी जनमतका हिसाबले हामी कमजोर होइनौं। किनकी काठमाडौं महानगरपालिकामा वडास्तरमा प्राप्त गरेको मत हाम्रो सबैभन्दा धेरै छ। वडा अध्यक्षको संख्या कांग्रेसको धेरै छ तर मत हामीले धेरै ल्याएका छौँ। त्यो हिसाबले हेर्दाखेरी के होइन भने महानगरहरूमा हामी कमजोर छौं भन्ने कुरा सत्य होइन। पोखरामा हेर्ने हो भने महानगर हार्यौं भने दलीय हिसाबले जाँदा बलियो नै छौं।
तपाईंको व्यक्तिगत कुरा गर्दा अघिल्लो पटक प्रदेशको निर्वाचन लडेर मुख्यमन्त्री बन्नुभयो। यसपटक तपाईं संघीय निर्वाचन लड्ने कि प्रदेशमा जानुहुन्छ?
अहिले म जे भूमिकामा छु, त्यसले मलाई प्रदेशमा जान दिँदैन। त्यस अर्थमा चुनावमा जाने क्षेत्र संघीय क्षेत्र नै हो। त्यसमा अहिले हामी छलफलको प्रक्रियामा छौं। को कहाँ भन्ने बेला भइसकेको छैन।
एमाले वृत्तमा दाङका दुई उपमहानगर जितेका हिसाबले तपाईं दाङबाट चुनाव लड्नुहुन्छ भन्ने छ। तपाईं दाङबाट चुनाव लड्नुहुन्छ कि समानुपातिक बस्नुहुन्छ?
चुनाव लड्दाखेरि लड्ने ठाउँ भनेको आफू लडिराखेका ठाउँ हो। फरक ठाउँमा जाने भन्ने कुरा मतदाताका हिसाबले पनि उचित मानिँदैन। उनीहरूको अपेक्षा पनि आफ्नै ठाउँमा चुनाव लडोस् भन्ने हुन्छ।
तपाईं दाङबाट चुनाव लड्नुहुन्छ?
लड्दाखेरिको अवस्थामा।
नेपाली कांग्रेसमा अब म प्रधानमन्त्रीको उम्मेदवार हुन्छ भनेर गगन थापाले बहस सुरू गर्नुभएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा पुराना नेता बिदा गरौं भनेर मान्छेहरूले कमेन्ट र सेयर गर्ने गरिराखेका छन्। अभियानै जस्तो देखिएको छ। यो अवस्थामा नेकपा एमालेभित्र पनि नेतृत्व हस्तान्तरण वा सरकारको नेतृत्व दाबी गर्ने अवस्था आयो भने तपाईंहरूको दाबी गर्ने अवस्था बन्छ कि बन्दैन?
नेकपा एमालेको परिस्थिति अन्यन्त्रको जस्तो परिस्थिति होइन। अन्य दलले आफ्नो सामर्थ्य गुमाएर मिल्नुपर्ने बाध्यता छ। नेकपा एमाले सामर्थ्य राख्छ। अरू बाँकी एमालेसँग लड्न गठजोड गर्न बाध्य छन्। त्यसकारण एमालेमा नेतृत्वको विषय प्रश्नको विषय होइन। त्यसमा सबैभन्दा ज्यादा सुल्झिएको पार्टी एमाले नै हो। जहाँ नेतृत्वको कारण पार्टी कमजोर हुँदैछ त्यहाँ नेतृत्वको बहस चल्नु स्वभाविक हो। जहाँ नेतृत्वको सक्षमताका कारण र प्रभावका कारण अरू मिल्न बाध्य छन् त्यो पार्टीले नेतृत्वको बहस चलाउँछ र! चलाउँदैन नि। अहिले एमालेका लागि नेतृत्वको बहस प्रधान होइन। एमालेका लागि विकास र समृद्धिको विषयमा राष्ट्रको नेतृत्व गर्ने प्रश्न प्रधान कुरा हो। स्वभाविक रूपमा पार्टी भनेको सामूहिकताको उपज हो। हामी मिलेर पार्टीलाई सफल बनाउँछौँ। हाम्रो पार्टी नेतृत्व गर्न सक्षम छ। हाम्रो पार्टीका लागि नेतृत्वको कुनै समस्या होइन। अरु पार्टीको जस्तो नेतृत्वको बहस गर्नुपर्ने तहमा एमाले छैन।