रूपन्देहीमा आगामी स्थानीय तहको निर्वाचनका लागि एउटै पालिकाबाट एउटै पदमा आठ जनासम्मले आकांक्षा देखाएपछि जिल्ला कमिटीलाई उम्मेदवारहरूको नाम सिफारिस गर्न सकस परेको छ।
स्थानीय पालिकाहरूबाट उम्मेदवारका आकांक्षीहरूको नाम संकलन गर्ने, जिल्लाभित्रै टुंग्याउने नाम जिल्लाबाटै टुंगो लगाउने र टुंगो लगाउन नसक्नेहरू मात्रै चैत ३० गतेभित्रै माथिल्लो कमिटीमा पठाउन एमालेलाई निर्देशन गरिएको छ।
तर १६ वटा स्थानीय तह रहेको रूपन्देहीबाट दुई वटा पालिकाका प्रमुख, उपप्रमुखसहित वडाअध्यक्ष र सदस्यको नाम मंगलबारसम्म पनि जिल्लामा पुगेको छैन।
उम्मेदवारका आकांक्षीहरूको नामावली पठाएका नगर कमिटी र गाउँ कमिटीले पनि एउटै पदमा आठ जनासम्मको नाम सिफारिस गरेर पठाएपछि कसको पक्षमा टुंगो लगाउने भन्नेमा जिल्ला कमिटी अलमलमा परेको छ।
जिल्ला कमिटीले वडा अध्यक्षहरूको विषयमा बढीमा तीन जनासम्मको मात्र नाम सिफारिस गरेर पठाउन नगर तथा गाउँ कमिटीहरूलाई परिपत्र गरेको थियो। तर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यमा आठ जनासम्मको सिफारिस गरेर जिल्लामा आएको एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए।
लुम्बिनी प्रदेशमा सबै दलहरूले चासोको रूपमा लिएको बुटवल उपमहानगरनगरपालिकाबाट मेयरमा सात जना र उपमेयरमा ५ जनाको नाम सिफारिस गरिएको छ।
एमाले बुटवल नगर कमिटीका अध्यक्ष किशन ज्ञवालीले धेरै जना आकांक्षी देखिएपछि सबैको नाम जिल्ला कमिटीमा पठाइएको बताए। बुटवल उपमहानगरपालिकामा हालका मेयर शिवराज सुवेदी र उपमेयर गोमादेवी आचार्य, यसअघि नै मेयरका आकांक्षी बनेका गोपाल राना र बाबुराम भट्टराई, एमाले केन्द्रीय सदस्य सावित्रा अर्याल, एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी र वडा नं. १६ का अध्यक्ष रहेका रामप्रसाद रेग्मीको नाम सिफारिस गरिएको छ।
त्यस्तै, उपमेयरमा पनि पाँच जनाको नाम पठाइएको ज्ञवालीले बताए। उपमेयरमा वर्तमान वडाअध्यक्ष टंक पराजुली, खेमप्रसाद लुइँटेल, ज्ञानु केसी, मधुकला कुवँर र कल्पना थापाको नाम सिफारिस गरिएको छ।
त्यस्तै, तिलोत्तमा नगरपालिकामा पनि वर्तमान मेयर बासुदेव घिमिरेसहित मोहन चापागाईं, यज्ञ गैरे, दिनेश फुल्लेलको नाम सिफारिस गरिएको एमाले नगरअध्यक्ष तामानाथ पाण्डेले बताए। उपमेयरमा पनि वर्तमान उपमेयर जगेश्वरदेवी चौधरीसहित संगीता गुरुङ, रेनुका खरेल र जमुना लम्सालको नाम सिफारिस गरिएको छ।
उता सिद्धार्थनगर नगरपालिकामा एमालेबाटै मेयरमा आठ जना आकांक्षी बनेका छन्। नगरसचिव नारायणप्रसाद भण्डारीले आकांक्षी आठै जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको बताए। जसअनुसार भरत पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्र पन्थी, जीवलाल अर्याल, अर्जुन गिरी र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस गरिएको छ।
उपमेयरमा भने तीन जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार उमा अधिकारी, सिता काफ्ले र पम्फावति खनालको नाम सिफारिस गरिएको नगरसचिव भण्डारीले जानकारी दिए।
सैनामैना नगरपालिकाबाट प्रमुखमा ६ र उपप्रमुखमा ६ जनाको नाम सिफारिस गरिएको नगर इन्चार्ज मीनप्रसाद पौडेलले जानकारी दिए। सैनामैनामा नगर इन्चार्ज पौडेलसहित वर्तमान मेयर चित्रबहादुर कार्की, नरबहादुर घर्ती, जीवनाथ पाण्डे, खुसीराम चौधरी, चेतनारायण न्यौपानेको नाम सिफारिस गरिएको छ।
त्यस्तै, उपमेयरमा वर्तमान उपमेयर बिना रानासहित शोभा ज्ञवाली, कल्पना कुँवर, सविता भुसाल भण्डारी, मन्जु ज्ञवाली र रीता शाहीको नाम सिफारिस गरिएको पौडेलले बताए। ‘उम्मेदवार बन्न आकांक्षी देखिएका सबैको नाम जिल्लामा सिफारिस गरेर पठाइएको छ, कसलाई पठाउने कसलाई नपठाउने भन्ने टुंगो जिल्लाले नै लगाउला,’ पौडेलले सेतोपाटीसँग भने।
बुटवल उपमहानगरपालिकासहित ६ वटा नगरपालिका रहेको रूपन्देहीमा चार वटा नगरपालिकामा गत निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए। देवदह नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका हिरा केसी र उपमेयरमा एमालेकी विद्या गुरुङ विजयी भएकी थिइन्। त्यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्रबाट चुनाव लडेका मनमोहन चौधरी मेयरमा विजयी भएका थिए।
यी पालिकाहरूबाट पनि एमालेले सर्वसम्मत् रूपमा उम्मेदवार टुंग्याउन सकेको छैन।
जिल्लाका दुई वटा कञ्चन र गैंडहवा गाउँपालिकाबाट मंगलबारसम्म पनि उम्मेदवारका आकांक्षीहरूको नाम जिल्लामा पठाइएको छैन। नगर र गाउँ कमिटीबाट आएका नामहरूमाथि छलफल गरी प्रदेश र केन्द्रिय कमिटीमा पठाउनुपर्नेमा पालिकाबाटै नाम सिफारिस गरेर नपठाइँदा ढिलाइ भएको जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए।
पालिका कमिटीहरूबाट आएका नामावलीमा जिल्ला कमिटीका पदाधिकारी, इन्चार्ज र सहइन्चार्जको रायसहित प्रदेश र केन्द्रीय कमिटीमा नाम सिफारिस गरिने पन्थीले जानकारी दिए।