स्थानीय तहको निर्वाचन आउन अब ३२ दिन बाँकी छ। वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडासदस्यका आकांक्षीलेसमेत आफ्ना पार्टीका नेता तथा मतदातासँगको भेटघाटलाई तिव्र बनाउन थालेका छन्।
चार वटा उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कुल १०९ वटा स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा बुटवल उपमहानगरपालिकामा यतिबेला धेरैको चासो छ।
लुम्बिनी प्रदेशको मुकाम रहेको बुटवल समग्र आर्थिक क्षेत्रको केन्द्र मात्र होइन देशका हरेक परिवर्तन र आन्दोलनको उभार क्षेत्र पनि मानिन्छ।
एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको बुटवललाई लामो समयदेखि एमालेको गढको रूपमा चिनिन्छ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछिका तीन वटा निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित भईरहेका छन्। बुटवल उप-महानगरपालिकामा पनि २०५१ सालदेखि एमालेकै नेतृत्व छ। २०५१ सालमा भोजप्रसाद श्रेष्ठ मेयर बनेको बुटवलमा देश संघीय संरचनामा गएपछि २०७४ सालको पहिलो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनमुक्ति पार्टीका साझा उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेलाई हराउँदै एमालेका शिव सुवेदी मेयर बने। उप-मेयरमा पनि तीन दलीय गठबन्धनबाट माओवादी केन्द्रका जगत पोखरेललाई हराउँदै एमालेकै गोमा आचार्य उपमेयर बनिन्।
मेयरमा निर्वाचित सुवेदीले २३ हजार २४९ मत पाउँदा कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत पाएका थिए। उपमेयरमा निर्वाचित आचार्य र पराजित बनेका पोखरेलको मतअनन्तर झण्डै ११ हजार हाराहारी थियो। आचार्यले २५ हजार ३०१ मत पाउँदा पोखरेलले १४ हजार ७९२ मत पाएका थिए।
१९ वटा वडा रहेको बुटवलमा वडा नं. १३, १८ र १९ मा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित सात जना मात्रै जनप्रतिनिधि जितेपनि मेयर, उपमेयर र १६ वटा वडा अध्यक्षसहितका बाँकि जनप्रतिनिधि एमालेबाटै विजयी भएका थिए।
स्थानीय तह बनेपछिको पाँचवर्षे पहिलो कार्यकाल सकिँदै गर्दा अर्को कार्यकालको लागि राजनितिक दलले कसलाई उम्मेदवार बनाउँदै छन्, सबैको चासोको विषय बनेको छ। सत्तारूढ पाँचदलीय गठबन्धनले देशभर गठबन्धन गरेरै चुनावमा जाने निर्णय गरिरहँदा एमालेले भने एक्लै मैदानमा उत्रिने बताईरहेको छ।
जिल्ला, प्रदेश र केन्द्रमा समेत धेरै नेताले प्रतिनिधित्व गरेको बुटवलमा एमालेलाई उम्मेदवार छान्न सकस देखिएको छ। अघिल्लो निर्वाचनमा मेयरमा आकांक्षी बनेका बाबुराम भट्टराई र गोपाल रानासँगै अहिलेका मेयर शिव सुवेदीले पनि मेयरमा आकांक्षा देखाएका छन्।
उनीहरूसँगै एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, वर्तमान उपमेयर गोमादेवी आचार्य र एमाले केन्द्रिय सदस्य सावित्रा अर्याल र उपमहानगरपलिकाका प्रवक्तासमेत रहेका रामप्रसाद रेग्मीले पनि मेयरको टिकटका लागि पार्टी केन्द्रसम्म नै लबिङ गरिरहेका छन्।
यद्यपी उम्मेदवार छनोटका लागि पार्टीको नगर, जिल्ला र प्रदेशहुँदै केन्द्रिय कमिटीमा पठाईने र उपमहानगरपालिकाको हकमा कसलाई टिकट दिने भन्ने निर्णय केन्द्रबाटै हुने भएकोले कसले टिकट पाउँछ भन्ने यसै भन्न सकिने अवस्था छैन।
एमाले बुटवल नगर कमिटीका अध्यक्ष किशन ज्ञवाली उप-महानगरपालिकाको मेयर र उपमेयरको टिकट कसले पाउने भन्ने पार्टी केन्द्रबाट तोकेर आउने भएकोले आकांक्षा देखाएका सबै जनाको नाम सिफारिस गरेर पठाउने बताउँछन्। ‘पार्टीबाट उम्मेदवार बन्न आकांक्षा देखाएकाको नाम सिफारिस गरेर केन्द्रमा पठाउन परिपत्र गरेको छ,’ उनले सेतोपाटीसँग भने।
उपमेयरमा पनि अहिलेसम्म पाँच जनाले आकांक्षा देखाएको ज्ञवालीले बताए। उपमेयरमा वर्तमान वडाअध्यक्ष टंक पराजुली, खेमप्रसाद लुईटेल, ज्ञानु केसी, मधुकला कुवँर र कल्पना थापा आकांक्षी देखिएका छन्।
एमालेका एक नेताका अनुसार मेयरमा १२ जना आकांक्षी देखिए पनि बाबुराम भट्टराई र गोपाल रानामध्ये एक जनाले मेयरको टिकट पाउने सम्भावना देखिएको छ। ‘आकांक्षा देखाउन त सबैले पाईयो तर टिकट पाउने भनेको दुई जना मध्ये एकजनाले हो’, ती नेताले सेतोपाटीसँग उनले भने।
अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेका बाबुराम भट्टराई २०३६ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध भई जिल्ला कमिटीहुँदै हाल प्रदेश कमिटी सदस्य छन्।
तत्कालिन लुम्बिनी अञ्चल अस्पताल विकास समितिको अध्यक्ष, नेपाल औषधि व्यवसायी महासंघका केन्द्रिय अध्यक्षसमेत भईसकेका भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए।
बुद्धिजीवी परिषदमा रहेर समेत काम गरेका भट्टराईलाई पार्टी भित्र र बाहिर पनि बौद्धिक व्यक्तिका रुपमा चिन्ने गरिन्छ। सबैलाई सन्तुलित व्यवहार गर्ने र आफू कम बोल्ने व्यक्तिगत स्वभावका कारण भट्टराईमा विपक्षीको मत तान्न सक्ने क्षमता रहेको पार्टीका कतिपय नेताहरू बताउँछन्।
यता होटल व्यवसायमा रूपन्देहीमा मात्र होईन नेपालकै अब्बल व्यवसायीको परिचय बनाएका राना युवामाझ लोकप्रिय मानिन्छन्। झण्डै डेढ दशकदेखि मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट सञ्चालन गरेका रानाले यसै वर्षदेखि बुटवलमा ड्रिम इन्टरनेशनल सञ्चालन गरेका छन्।
उनी एमालेका निवर्तमान जिल्ला उपसचिव, हालका प्रदेश कमिटी सदस्य तथा होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत छन्। बुटवलमा रहेको जनजाती र युवाहरुको मत तान्न पार्टीले रानालाई मेयरको उम्मेदवार बनाउनुपर्ने कतिपय एमाले नेताहरुको मत छ।
मेयरमा कसले टिकट पाउँछ त्यसैको आधारमा उपमेयरको लागि उम्मेदवार छनोट गरिने एमाले स्रोतले बतायो। ‘भट्टराईले मेयरमा टिकट ल्याउन सके उपमेयरमा मेयरकै आकांक्षी सावित्रा अर्याल पनि हुन सक्नुहुन्छ, भट्टराईबाहेक मेयर बन्नुभयो भने सावित्रा बाहेकको अर्को पात्र पनि आउनसक्छ,’ स्रोतले भन्यो।
नेकपा एमालेले चैत ३० गतेभित्र देशभरका सबै पालिकाबाट प्रमुख र उपप्रमुखहरुको नाम माथिल्ला कमिटीमा पठाउन तल्ला कमिटीमा निर्देशन गरिसकेको छ। नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरू जिल्ला कमिटिको समन्वयमा प्रदेश कमिटिले टुंग्याउन सक्ने भए पनि उपमहानगर र महानगरपालिकाको हकमा भने केन्द्रमा नै सिफारिस गनुपर्ने भनिएको छ।
मेयर र उपमेयर मात्र होईन वडाअध्यक्ष र सदस्यमा समेत धेरै जना आकांक्षी देखिएपछि बुटवल नगरसमितिले जिल्ला कमिटीलाई अझै नाम सिफारिस गरेर पठाउन सकेको छैन। एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले सोमबार साँझसम्म पालिकाबाट उम्मेदवारको नाम सिफारिस भएर आए मंगलबार नै केन्द्रमा र प्रदेश कमिटीमा पठाउने बताए।
‘नगर र गाउँकमिटीबाट अझै कुनै पनि उम्मेदवारको नाम सिफारिस गरेर पठाईएको छैन, पहिलो नगर र गाउँकमिटीबाट सिफारिस गरिएका नामहरु हेरौं, त्यसपछि कति नाम माथि सिफारिस गरेर पठाउने भन्ने विषयमा छलफल होला,’ उनले भने।
उता अघिल्लो निर्वाचनमा मेयरमा ३ हजार मात्र मतले पराजित बनेको नेपाली कांग्रेस यसपटक बुटवलको नेतृत्व हत्याउन सकिन्छ भन्नेमा ढुक्क छ। अहिले गठबन्धनमा रहेको माओवादी केन्द्र र जनमुक्ति पार्टी अघिल्लो निर्वाचनमा सँगै रहे पनि अहिलेको गठबन्धनमा जनता समाजवादी पार्टी, एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत पाएपछि निर्वाचन जित्नेमा गठबन्धन ढुक्क छ।
गठबन्धनबाट सबैभन्दा बलियो उम्मेदवारको रूपमा नेपाली कांग्रेसका खेलराज पाण्डेकै नाम अहिले पनि चर्चामा छ। कांग्रेसले पनि बुटवल उपमहानगर समिति सभापति समेत रहेका पाण्डेकै पक्षमा सहमती जुटाएर उम्मेदवार सिफारिस गर्ने कसरतमा छ।
नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाणले बुटवलको मेयरको लागि पार्टीबाट पाण्डेसँगै क्षेत्रीय सभापति हरि लम्साल, महेशमान सिंह र रिता केसीको नाम चर्चामा आए पनि सहमती जुटाएर पठाउने कसरतमा पार्टी लागेको बताए।
सभापतिका आकांक्षी लम्साल नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व सभापती हुन् भने सिंह प्रदेशसभा चुनावमा रुपन्देही प्रदेशसभा २ ‘क’ बाट चुनाव लडेर पराजित भएका व्यक्ति हुन्।
कांग्रेसको बुटवल नगरसभापतिमा पाण्डेसँगै पराजित भएकी केसी सधै महिलाहरू नै उपप्रमुख बन्नुपर्छ भन्ने सोंचलाई बदल्न पनि आफूले मेयरमा दाबी गरिरहेको बताउँछिन्।
पाँच दलीय गबठन्धन भएको खण्डमा पाण्डे नै मेयरको उम्मेदवार बन्ने गठबन्धनमा रहेका दलका स्थानीय नेताहरू समेत बनाउँछन्। गठबन्धन नभएको अवस्थामा भने नेकपा एकीकृत समाजवादीबाट राजु गुरूङ र बालकृष्ण चापागाईको नाम पनि मेयरको चर्चामा छ।
त्यस्तै माओवादी केन्द्रका मनोज रानाले पनि गठबन्धन नभएको अवस्थामा बुटवलको मेयरमा दाबी गरिरहेका छन्।
त्यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसकी बालकुमारी भण्डारी, सावित्रा टण्डन र नेकपा माओवादी केन्द्रबाट टिका वली र मनोज रानाको नाम चर्चामा रहेको छ।