'वेटिङ रूम' मा छिर्नेबित्तिकै रजिस्टर लिएर त्यहाँ बसेका उनका कार्यकर्ताले भने, 'बस्नुस्, भित्र अन्तर्वार्ता चल्दैछ।'
केही बेरमै उनले हाम्रो 'रजिस्ट्रेसन' सकाए।
सायद भित्र कोठामा अन्तर्वार्ता छिप्पिसकेको थियो। आवाजको तेजले त्यस्तै संकेत गर्थ्यो। करिब १५ मिनेट पछि कोठाबाट दुई जना बाहिर निस्किए, क्यामरासहित।
सँगसँगै निस्किए डा. सिके राउत। मुस्कुराउँदै भने, 'भित्रै आउनुस् न!'
थोरै अड्किएजस्तो, थोरै लजाएजस्तो र केही रहस्यमयीजस्तो लाग्थ्यो उनको मुस्कान। 'बडी ल्याङ्वेज' सहज र सरल थियो। सडकमा उनका कार्यकर्ताले देखाउने 'मिलिटेन्सी' को कुनै छनक त्यहाँ थिएन।
सेतो सुरूवाल, आकाशे कुर्ता र खरानी रङको इस्टकोटमा थिए राउत। गलामा थियो उनको 'ट्रेडमार्क' रातो गलबन्दी। अनि सन् ७० का दशकको सुनील दत्तको जस्तो कपालको 'कट'।
'सुटमा रातो टाइ, अरू बेला रातो मफलर, तपाईं रातो रङ छुटाउनु हुन्न नि?'
'रेड टाइ, रेड मफलर त पहिचान नै भइसक्यो। क्रान्ति र बलिदानीको प्रतीक भनेर मैले रातो प्रयोग गरेको हुँ। स्वराजको प्रतीकका रूपमा।'
अहिले उनका धेरै कार्यकर्ताले जुलुस र प्रदर्शनहरूमा टाउकोमा रातो फेटा कस्छन्। 'कतिले त हेयर स्टाइल पनि कपी गरेका छन्,' उनले थपे।
तपाईंको कपालको स्टाइल पनि ७०-८० दशकको हिन्दी सिनेमाको हिरोको जस्तो छ, है?
फेरि थोरै हाँस्दै उनले भने, 'हेर्नुस् न, मेरो कपालको पनि आलोचना गर्छन् कतिले। मधेस प्रदेशका कृषि राज्यमन्त्रीले सार्वजनिक रूपमै मलाई कपाल म्यानेज गर्नै मासिक कति धेरै पैसा लाग्छ भनेछन्।'
आफ्नो कपालको बचाउ गर्दै भने, 'प्राज्ञहरू यसलाई अनम्यानेज्ड भन्छन्। प्रायः वैज्ञानिकहरूले कपालको धेरै ख्याल गर्दैनन्, अनि प्राकृतिक रूपमै यस्तो भइदिन्छ। यो कुनै स्टाइल हैन।'
राउतले लामो समयसम्म मधेसमा छुट्टै मुलुक बनाउने भनेर राजनीति गरे। स्वराजको कुरा उठाए। अन्तत: राज्यसँग सम्झौता गरेर उनी शान्तिपूर्ण राजनीतिमा होमिएका छन्। अब स्थानीय र आउने संसदीय चुनावमा प्रतिस्पर्धा गर्ने उनको पार्टीको तयारी छ। त्यसका लागि पार्टी सदस्यता र संगठन विस्तार गर्ने, सुशासन र किसानका मुद्दा उठाउने कामलाई उनले तीव्रता दिएका छन्।
स्वराजको मुद्दाबाट प्रतिस्पर्धाको राजनीतिमा होमिएका उनलाई मधेसका जनताले कति पत्याउँछन्? उनको व्यक्तित्वले मतदातालाई कति तान्छ? उनको संगठन कति विस्तार भएको छ? कुन कुन जिल्लामा उनको पार्टीको प्रभाव बढी छ? उनले आउने चुनावहरूमा कति भोट ल्याउँछन्? अनि उनले मधेसमा मत बढाए भने त्यसले कुन-कुन पार्टीलाई असर गर्छ?
केही साताअघि हामी यिनै प्रश्नका उत्तर खोज्न मधेसका आम मतदाताकहाँ पुगेका थियौं।
धनुषा, महोत्तरी र सिरहा- तीन जिल्लाका ६ वटा नगर र गाउँपालिकाका आधा दर्जन ठाउँमा हामीले त्यहाँका मतदातासँग सामूहिक छलफल गर्यौं। राउत र उनको जनमत पार्टीबारे धारणा सोध्यौं। त्यही सिलसिलामा हामीले सिके राउतलाई पनि जनकपुरस्थित जनमत पार्टीको मुख्य कार्यालयमा भेटेका हौं। उनीसँग करिब दुई घन्टा कुरा गर्यौं।
जनमत पार्टीबारे अरू पार्टीका नेताहरूसँग पनि कुरा गर्यौं।
राउतका बारेमा मधेसी दल एक कोणबाट ढुक्क देखिन्छन्। ढुक्क यसकारण छन्, राउतले मधेसमा अलग देशको मुद्दा छाडेपछि उनको 'क्रेज' घटेको छ। 'स्वराजी' बाट उनी पनि आफूहरू जस्तै 'राजनीतिकर्मी' बनेको उनीहरूको ठम्याइ छ। 'स्वराजी' नै रहिरहे बिस्तारै जनमत राउतको पक्षमा जान सक्थ्यो र पछि उनी प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा आफूहरूलाई धक्का लाग्न सक्थ्यो भन्ने चिन्ता उनीहरूलाई थियो।
'अब त स्वराज र क्रान्तिका नाममा उहाँको पनि रातो मफलर मात्र बाँकी छ,' एक मधेसी नेताले भने।
उनको विश्लेषणमा अब मधेसमा राउतको पहिलेजस्तो क्रेज छैन। न त उनको जनमत बनेको छ, न पार्टी संगठन नै। उनले भने, 'घोडाको सवारबाट गधामा सरेपछि त मतदाताले किन पत्याउँछ?'
अब राउत पनि 'आफूहरू जस्तै' राजनीतिकर्मी बनेको धेरै मधेसी नेताहरूले बताए। प्रतिस्पर्धात्मक राजनीतिका जटिलता र त्यसको व्यवस्थापन गर्ने सीप र क्षमता आफूहरूसँगै धेरै रहेकामा उनीहरू ढुक्क देखिन्छन्।
हामीले राउतलाई सोध्यौं– छुट्टै देश बनाउने मुद्दा छाडेर मूलधारको राजनीतिमा आएपछि तपाईंको क्रेज कम भएको छ। आम मानिसको समर्थन छैन। खुला राजनीतिमा तपाईंलाई गाह्रो छ भन्ने धेरैको धारणा छ। पछिल्लो राजनीति तपाईंलाई कस्तो लागिरहेको छ?
'राजनीतिमा सम्झौता गर्नुपर्छ। महात्मा गान्धीले अंग्रेजसँग कति पटक सम्झौता गरे। उनले आन्दोलन गरे, रोके। जेल गए, जेलबाट निस्किए। त्यसैले मलाई सम्झौता गरेर प्रतिस्पर्धात्मक राजनीतिमा आएकोमा पछुतो छैन,' उनले भने।
मानिसहरूको सहानुभूति र सहभागिताबारे पनि उनको फरक धारणा छ।
'हिजो मैले फरक देश र स्वराजको मुद्दा उठाउँदा मप्रति सहानुभूति राख्ने मान्छे पक्कै थिए। सहानुभूति रहे पनि मानिसहरू मसँग लागिसकेका भने थिएनन्,' उनले भने।
हिजो आक्रोशित हुँदा मानिसहरूले 'म सिके राउतकोमा जान्छु' भन्ने तर संगठनमा नजोडिने उनको अनुभव छ। बरू प्रतिस्पर्धात्मक राजनीतिमा आएपछि आफू खुल्लमखुला गाउँसम्म जान, विचार राख्न र संगठन निर्माण गर्न पाएको उनले बताए। छुट्टै देश स्थापना गर्ने आन्दोलनको अन्तिम गन्तव्य निश्चित थिएन। त्यसैले कतिपय मानिसहरूको आफूप्रति सहानुभूति भए पनि पार्टीमा लाग्न हिच्किचाउने गरेको उनले बताए।
'स्वतन्त्रता दस वर्षमा आइहाल्ने कुरा थिएन। त्यसैले कति लामो लड्ने भन्ने थियो। म त्यो बाटो हिँडिरहेको भए धेरैको करिअर र जीवन बर्बाद हुन सक्थ्यो,' राउत भन्छन्, 'अहिले पार्टीको भविष्यबारे निश्चितता आएको छ। त्यसले कार्यकर्तालाई समर्पणका साथ खुला राजनीतिमा होमिन, काम गर्न सजिलो भएको छ।'
शान्तिपूर्ण र खुला राजनीतिमा आएपछि जनमत पार्टीका कार्यकर्तालाई पक्कै सजिलो भएको छ। अहिले पुलिस धरपकड छैन। बरू कार्यकर्ता सुशासन र किसानका मुद्दा लिएर आक्रामक रूपमा सडकमा उत्रिने गरेका छन्। कर्मचारीलाई कालोमोसो दल्ने, प्रदर्शनमा झडप भए प्रहरीमाथि जाइलाग्नेमा पनि राउतका कार्यकर्ता आक्रमक छन्। जुलुस र प्रदर्शनमा उनीहरू लाठीसहित सहभागी हुन्छन्।
शान्तिपूर्ण जुलुसमा तपाईंका कार्यकर्ता लाठी लिएर किन जान्छन्? लाठी बोक्ने र त्यही प्रहार गर्ने कसरी शान्तिपूर्ण राजनीति हुन्छ?
'लाठी त किसानको, आम जनताको सशक्तीकरणको प्रतीक हो। हाम्रा कार्यकर्ताले सुरूमै कसैलाई लाठी प्रहार गर्दैनन्। जब जुलुस र प्रदर्शनमा प्रहरी, प्रशासन वा अरू पार्टीका कार्यकर्ताले हस्तक्षेप गर्छन्, उनीहरूले प्रतिरोध गर्छन्,' उनले भने।
लाठी नहुँदा त सोझासाझा जनतालाई प्रदर्शन गर्न पनि नदिने, प्रहरीले आएर 'धक्का' दिएर भगाइदिने गरेको उनले दाबी गरे।
'जब जनता, कार्यकर्ता लाठी लिएर जुलुसमा निस्किए, त्यसपछि मात्रै उनीहरूमाथि प्रहरी हस्तक्षेप कम भयो,' उनले भने।
मानिसहरूलाई सिके राउतको पार्टी र उनका कार्यकर्ताले उठाएका मुद्दाले कति छोएको छ? उनीहरूको शैली कति मनपरेको छ? जनमत पार्टीको पक्षमा लागेर भोलि उनीहरू मतदान स्थलसम्म पुग्छन् कि पुग्दैनन्? पार्टीलाई मत दिन्छन् कि दिँदैनन्?
मधेसमा भ्रष्टाचार र कुशासनलाई लिएर ठूलो असन्तोक छ। धनुषा, महोत्तरी र सिरहाका गाउँ र नगरमा पुग्दा मानिसहरूले प्रदेश र स्थानीय सरकारले झनै भ्रष्टाचार बढाएको गुनासो गरे। आफ्ना मान्छेलाई जागिर दिने, शिक्षामा पार्टीकरण गर्ने, मिलेमतोमा आफू नजिकका मानिसलाई ठेक्का दिने, आफ्नाले गरेको भ्रष्टाचारमा उन्मुक्ति दिने लगायतका गुनासा मधेसका गाउँगाउँमा बग्रेल्ती छन्।
सायद त्यही असन्तोकको परिणाम होला जनमत पार्टीका कार्यकर्ताले सरकारी कर्मचारीलाई कालोमोसो दलेको वा प्रहरीमाथि आक्रमण गरेको कुरामा धेरै स्थानीय खुसी नै देखिन्छन्। सायद धेरैका लागि त्यो आफूले सरकारी कार्यलयमा पाएको दु:ख र सास्तीको मनोवैज्ञानिक क्षतिपूर्ति पनि हो!
तर के जनमत पार्टीले सत्तामा पुगेर किसानका समस्या समाधान गर्छ, सुशासन ल्याउँछ, अरू पार्टीभन्दा राम्रो गर्छ भन्ने मधेसका आम जनतालाई विश्वास छ?
आजकाल पहाड होस् वा मधेस, कुनै पनि दल वा नेताले आफूले भनेको काम गर्छन् भनेर थोरै मानिसले मात्र पत्याउँछन्। राजनीतिज्ञले बिगारेका काममा आम मानिसको गुनासो र आक्रोश प्रशस्त छ, तर नयाँ वा पुरानै पार्टीका कुनै नेताले भोलि राम्रो गर्छन् भन्नेमा मानिसहरूले हत्तपत्त विश्वास गर्दैनन्। उनीहरूमाथि मानिसलाई खासै भर छैन।
राउतले उठाएका विषयमा भने कसैको बिमति देखिँदैन। तर उनी यी विषयप्रति साँच्चै गम्भीर छन्। उनले यी विषय पार लगाउँछन् भन्नेमा धेरैको विश्वास छैन। नेताका रूपमा राउतको र दलका रूपमा जनमत पार्टीको विश्वसनीयता स्थापित भइसकेको देखिन्न।
हामीसँग कुरा गर्दै धनुषाको बट्टेश्वर गाउँपालिका वडा नम्बर ३ का राम एकवाल महतोले भने, 'राउतले उठाएको किसानको एजेन्डा ठीक हो। तर राजनीति चर्काउन मात्र उठाएको हो। यहाँका मानिसले पत्याएका छैनन्। किसानले उहाँलाई खासै समर्थन गरेका छैनन्।'
स्थानीय किसान आफ्नो समस्या समाधान नभएकामा निर्वाचित नेताहरूसँग पक्कै असन्तुष्ट छन्। त्यसमाथि किसानका समस्या समाधान गर्नुभन्दा बजेट अन्यत्र खर्च गरेको भनेर पनि उनीहरूको रिसको पारो चढेको छ।
मिथिला नगरपालिका, कुसुमबिसौनाका श्यामनन्दन महतोले किसानका समस्या हल गर्नुको साटो नेताहरू मठमन्दिर बनाउतिर लागेको भन्दै आक्रोश पोखे। 'यो किसानको क्षेत्र हो। यहाँ हामीलाई चाहिएको बोरिङ छ, उनीहरू बनाउँछन् मठमन्दिर। बाँदरले बाली नास पारेर दु:ख दिन्छ, त्यसमा पनि सुनुवाइ गर्दैनन्,' उनले भने।
हामीले सोध्यौं– सिके राउतको पार्टीले किसानका मुद्दा उठाएर आन्दोलन गरिरहेको छ। जित्यो भने किसानका मर्का बुझ्छ होला। तपाईंहरू यसपालि जनमत पार्टीलाई भोट दिने हो?
'खै उसले गर्छ कि गर्दैन के थाहा? सबै पार्टीले आफ्ना कार्यकर्ताले भनेको मात्र सुन्छन्, आफ्नो फाइदाको मात्र काम गर्छन्,' उनले भने।
कुसुमबिसौनामा जनमत पार्टीका कार्यकर्ता पनि भेटिए। करिब २५-३० वर्षका सन्तोषकुमार महतो जनमत पार्टीको मिथिला नगरपालिका वडा नम्बर ८ का अध्यक्ष हुन्। उनले उक्त नगरपालिकाका ९ वटै वडामा जनमत पार्टीको वडा समिति बनिसकेको सुनाए। वडामा २१ देखि ४२ जनासम्म सदस्य छन्।
मानिसहरूले के भनिरहेका छन्, यसपालि जनमत पार्टीलाई भोट दिन्छन् त?
'मैले त एक पटक सिके राउतलाई हेरौं भनिरहेको छु। मानिसहरू मानिरहेका छैनन्। अरू पार्टीहरू भ्रष्टाचारमा डुबिरहेका छन्, तर पनि हाम्रो पार्टीमा आउन कति जनता मानिरहेका छैनन्,' महतोले भने।
पार्टी भर्खरै खुलेको र चुनावमा भाग लिन लागेको पहिलो पटक भएकाले गाह्रो भएको उनले सुनाए।
'चुनावमा अरू पार्टीले पैसा दिन्छन्, मासु, चिया-खाजा दिन्छन्। तिमीहरू के दिन्छौ भनेर कतिपय मानिसले सोध्छन्। हामी त्यस्तो दिन सक्दैनौं,' महतोले भने।
तपाईं आफू चाहिँ किन लाग्नुभएको जनमत पार्टीमा?
'सिके राउतको सोच ठीक लाग्यो। फेरि उहाँ इमान भएको मान्छे हो। अमेरिकाबाट यति धेरै पैसाको जागिर र सुख छाडेर देशका लागि केही गरौं भनेर आउनुभएको,' उनले भने। गाउँमा आफूजस्तै पढेका केही युवा जनमत पार्टीतिर आकर्षित भएको उनले सुनाए।
जनकपुरस्थित पार्टी कार्यालयमा हामीले राउतलाई सोध्यौं– तपाईंलाई कस्ता मानिसको समर्थन छ? तपाईंको पार्टी समर्थकहरूको 'बेस' के हो?
आफ्नो पार्टीको सबभन्दा ठूलो समर्थनको आधार विदेशमा रहेका नेपाली युवा रहेको उनले सुनाए। विशेषगरी वैदेशिक रोजगारीमा गएका युवा। दोस्रोमा, पढेलेखेका युवा। तेस्रोमा, अरू पार्टीमा नलागेका, कसैले कुनै महत्व नदिएका विपन्न र सीमान्त जनता।
राउतले अमेरिकामा हुँदा नै गैरआवासीय मधेसी संघ खोलेका थिए। त्यसमा धेरै मधेसीहरू संलग्न थिए। त्यसले खाडीका मुलुकहरूमा रहेका नेपाली कामदारलाई सहयोग गर्ने, कसैलाई अप्ठ्यारो पर्यो वा ठगियो भने सघाउने, मृतकको लास उद्धार गर्ने जस्ता काम गर्थ्यो। त्यसले गर्दा संघ लोकप्रिय भयो।
'सुरू-सुरूमा शतप्रतिशतजस्तै मानिस हाम्रो संघमा थिए। पछि अरू पार्टीहरूले पनि संगठन खोले। पार्टीगत विभाजन भयो। तर अहिले पनि विदेशी रोजगारमा रहेका बहुसंख्यक मधेसीहरू हाम्रै संघमा आवद्ध छन्,' राउतले दाबी गरे।
विदेशमा रहेका नेपालीले भोट दिन नपाउने भएकाले आफूहरूलाई घाटा भएको उनले सुनाए।
'अर्थतन्त्रमा सबभन्दा ठूलो योगदान गर्ने समुदाय नै मतदाता बन्न नपाउने पनि हुन्छ?' उनले आक्रोश पोखे।
खाडी मुलुकमा रहेका नेपालीहरूले दिने आर्थिक सहयोग नै आफ्नो पार्टीको मूल आयस्रोत रहेको पनि उनले सुनाए, 'उहाँहरूकै चन्दाले यो पार्टी चलेको छ।'
आफू पढेलेखेको भएर पनि होला, पढेलेखेका र आफ्नो पेसा गरिरहेका डाक्टर, इञ्जिनियर र कर्मचारीहरूको ठूलो संख्यामा आफूलाई सहयोग र समर्थन रहेको राउतले सुनाए। गाउँघरका उच्च र मध्यम वर्गको समर्थन आफूलाई नरहेको पनि उनले बताए।
'जो मानिस अरू पार्टीमा लागिसकेका छन्, त्यसबाट लाभ लिइरहेका छन्। उनीहरू मेरो पार्टीमा छैनन्,' उनले भने, 'वर्गीय रूपमा उच्च र मध्यम वर्गको समर्थन मेरो पार्टीलाई छँदै छैन भने पनि हुन्छ।'
राजनीतिक दलका नेता-कार्यकर्ताले गाउँमा आफ्नो लाभ समूहबाट पन्छाएका, सोझा, सीमान्त मानिसहरू भने आफ्नो पार्टीमा आकर्षित भएको उनले दाबी गरे। कांग्रेस, एमाले, माओवादी र मधेसी पार्टीहरू नपुगेका र हिजो राजनीतिक रूपले नजोडिएका धेरै मानिस आफ्नो पार्टीमा लागेको उनको दाबी छ।
'वृद्ध, किसान, महिला जसको हिजो कुनै दलसँग राजनीतिक निकटता हुन सकेन, जसले कुनै दलबाट आर्थिक फाइदा लिएका छैनन्, उनीहरू हाम्रो पार्टीमा छन्,' राउतले भने।
राउतले दाबी गरेको मतदाताका यी समूह भोलि निर्वाचन बेला कसरी परिचालित हुन्छन् वा हुँदैनन्, त्यो हेर्न बाँकी छ। अहिले तल ग्राउन्डमा भने दुइटा 'ट्रेन्ड' देखिन्छन्।
राजमार्ग वा जिल्ला सदरमुकाममा हुने जनमत पार्टीको जुलुस र प्रदर्शनहरूमा मानिसको राम्रै सहभागिता देखिन्छ। तिनमा विपन्न समूहका मानिस र युवा नै मुख्य सहभागी हुन्छन्। तर यो समूह पार्टीका रूपमा धेरै संगठित भएको देखिँदैन। उनीहरू विभिन्न कारणले प्रदर्शन र जुलुसमा आउँछन् र त्यसपछि तितरबितर हुन्छन् कि गाउँगाउँमा संगठन निर्माणमा पनि छन्, थाहा छैन।
हामी तीन जिल्लाका ६ वटा नगर र गाउँपालिका घुम्दा जनमत पार्टीको बलियो संगठन देखेनौं। फाट्टफुट्ट कार्यकर्ता भने भेटिए। आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको आत्मविश्वास पनि उनीहरूमा देखिएन।
जनमत पार्टीको संगठन तीव्र रूपमा विस्तार नहुनुमा केही निश्चित कारण छन्। त्यसै पनि नयाँ पार्टीको संगठन निर्माण गर्नु भनेको फलामको चिउरा चपाउनुसरह हो। त्यसमाथि जनमत पार्टीमा सहानुभूति राख्ने भनिएका जुन समूह छन्, ती संगठन विस्तारमा सहयोगी छैनन्।
वैदेशिक रोजगारीमा रहेका मधेसीहरूले नेपालमा बसेर पार्टी संगठन विस्तार गर्ने कुरै भएन। पढेलेखेको पेसागत समूहलाई जागिरकै चटारो र अन्य छेकबार छ। त्यसैले उनीहरू पनि संगठन विस्तारमा लाग्ने कुरा भएन।
यो कुरा राउत पनि सहजै स्वीकार्छन्।
'धेरै पढेलेखेका र पेसामा भएकाबाट ग्राउन्डको राजनीति सम्भव हुँदैन। उनीहरू चाँडै आत्तिन्छन् पनि,' राउतले भने, 'यस्ता धेरै मानिस जनमत पार्टीको आन्दोलनमा टिकेनन्, राजनीतिमा अलि रफटफ मानिस नै चाहिने रहेछ।'
जनमत पार्टीले दाबी गरेको समर्थकको तेस्रो समूह विपन्न र सीमान्त समुदायका मानिसहरू अक्सर मतदाता हुन्, संगठनकर्ता होइनन्। उनीहरूलाई आफ्नै जीविकाको चटारो हुन्छ। संगठन निर्माणमा लाग्ने समय वा त्यसका लागि अरू मानिसलाई मनाउने, परिचालित गर्ने कौशल र क्षमता उनीहरूमा कमै हुन्छ। त्यसैले जनमत पार्टीको संगठन मूलतः कलेज पढ्ने विद्यार्थीले धानिरहेका छन्।
सायद यिनै कारणले, मधेसका गाउँ घुम्दा जनमत पार्टीको बलियो संगठन देखिँदैन। समर्थक पनि धेरै भेटिँदैनन्। आम मानिसमा पनि व्यापक आकर्षण देखिँदैन।
महोत्तरीको भंगाह नगरपालिका-२ मा राम सुरेश यादवको कृषि बिउ-बिजन र कृषिका अन्य सामग्रीको सानो पसल छ। यादव मलेसिया, दुबई र कतारमा विभिन्न समय गरेर १२ वर्ष बसेका छन्।
किसानले मल नपाएर भुट्भुटिएकोमा उनको मन कुँडिएको छ।
'यहाँका किसानलाई ५ सय बोरा मल चाहिएको छ। आज कृषि सामग्री संस्थानले जम्मा २५ बोरा मल पठाइदियो,' उनले भने, 'अब मैले कसलाई दिने, कसलाई नदिने? मल सरकारले दिँदैन, किसानका नजरमा म दोषी बन्छु।'
यादवले प्रधानमन्त्री, कृषिमन्त्रीले किसानको कुरा सुन्नुपर्ने, मलको समस्या तुरून्त समाधान गर्नुपर्ने बताए।
हामीलाई लाग्यो, लामो समय वैदेशिक रोजगारीमा बसेका, कृषकहरूप्रति सहानुभूतिशील यादवको सिके राउत र उनको पार्टीप्रति सहानुभूति होला। सिके राउतको पार्टीले पनि कृषकका समस्याबारे आन्दोलन गरिरहेको छ नि, तपाईंलाई कस्तो लागेको छ?
उनले सपाट भने, 'मलाई उनको पार्टीबारे केही भन्नु छैन। समर्थन पनि छैन, विरोध पनि।'
कुराकानी क्रममा थाहा भयो, धेरै मधेसीलाई जस्तै उनलाई पनि राजनीतिक दल र तिनका नेतामा धेरै भर छैन। सिरहाको गोलबजार नगरपालिकासँग जोडिएको छ नराह गाउँपालिका। राजमार्गमा पर्ने गोलबजार र नराह गाउँपालिकाबीच मेनावती खोला छ। यो खोलामा भर्खरै पक्की पुल बनेको छ।
'सर, यो पुल बन्न करिब १४ वर्ष लाग्यो,' विनोद यादवले हामीलाई सुनाए, 'यो पुल बन्नुअघि बर्खामा खोला तर्न मान्छे बाढी नघटुन्जेल पर्खिन्थे।' यादव जनमत पार्टीको गोलबजार नगरपालिका ११ नम्बर वडा समितिका अध्यक्ष हुन्।
खोलाले विकट बनाएको नराह गाउँपालिका आर्थिक विकासमा पनि पछि नै छ। सामाजिक हिसाबले झनै पछि। यो गाउँपालिकाको वडा नम्बर १ मा अन्य समुदायको बस्तीभन्दा अलग्गै एउटा सानो मुसहर बस्ती छ। यो वडामा मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस हुन्। वडा अध्यक्ष एमालेका छन्।
यहाँका गाविस अध्यक्ष, वडा अध्यक्षले कस्तो काम गरेका छन्?
बान्ठा सरदारले प्रतिप्रश्न गरे, 'गरिबको काम कसले सुन्छ? कसले राम्रो गर्छ?'
एउटी महिला अघि सरेर ठूलो-ठूलो स्वरमा बोलिन्, 'गरिबको घर हेर्नुस्, छाना चुहिएको छ। घर भत्किएको छ। कसैले हेर्दैन।'
उनले आफ्नो नाम भन्न मानिनन् र भित्र पसिन्।
हामीले बान्ठा सरदारतिर प्रश्न तेर्स्यायौं– अब चुनावका बेला फेरि नेताहरू आए भने भोट दिने हो?
'नहीँ देवे, अप्नेके रख्वे।'
मुसहर गाउँमा पनि सिके राउतको चर्चा छ। उनले नयाँ पार्टी खोलेका छन् भन्ने उनीहरूलाई थाहा छ। राम्रो मान्छे भन्ने पनि सुनेका रहेछन्।
राउतको पार्टीलाई भोट दिने त?
सरदारले आँखा ठूला पार्दै भने, 'सुनेर मात्र कहाँ हुन्छ, उनलाई हामीले देखेकै छैन। अहिले कहाँ विश्वास हुन्छ?'
संगठन राम्ररी विस्तार नभएको, जनमत पार्टी कार्यकर्ता मतदाताका घरदैलोमा धेरै नपुगेको, राउत स्वयंलाई मानिसहरूले नजिकबाट देख्न, सुन्न नपाएको र उनको विश्वसनीयता स्थापित नभइसकेको अहिलेको अवस्थामा स्थानीय निर्वाचनमा जनमत पार्टीले कस्तो गर्ला? कति सिट जित्ला? निर्वाचनमा के चुनौती होला? हामीले यी प्रश्न राउतलाई नै सोध्यौं।
यसपालि कतिवटा नगर वा गाउँपालिका जित्नुहुन्छ?
स्थानीय निर्वाचन र त्यसको परिणामलाई लिएर राउत पनि आशावादी देखिएनन्। उनले भने, 'यसमा अलि गाह्रो छ। नेपालमा राजनीति विकृत अवस्थामा छ। त्योभन्दा विकृत निर्वाचन छ। अहिलेको राजनीतिमा एजेन्डाअनुसार आन्दोलन गर्न सजिलो छ। त्यसमा मानिसले समर्थन पनि गर्छन्। तर त्यो समर्थनलाई मतपत्रमा बदल्न गाह्रो छ।'
यसपालि मधेसमा गाउँ, नगरपालिकाका टिकट बिक्रीमा रहेको उनले दाबी गरे।
'पैसा दिनुस्, टिकट लैजानुस् भनिरहेका छन् दलहरूले। निर्वाचनमा पैसा खर्च हुन्छ। हाम्रोमा त्यो आर्थिक हैसियत भएका मानिस छैनन्। हाम्रा मानिससँग पाँच हजार खर्च गर्ने हैसियत छैन। त्यही भएर हामीलाई गाह्रो छ,' उनले भने।
संगठनसँगै निर्वाचनमा उठने लोकप्रिय उम्मेदवार नहुनु पनि जनमत पार्टीका लागि एउटा चुनौती हो। अरू राजनीतिक पार्टीमा लागेका नेता कार्यकर्ता विरलै जनमत पार्टीमा गएका छन्। उसका कार्यकर्तासँग निर्वाचन लडेको अनुभव छैन। नजिकबाट निर्वाचन देखेकै छैन। निर्वाचनमा पैसा एउटा पाटो हो, सँगसँगै त्यसको व्यवस्थापन र परिचालन, आफ्ना मतदातालाई मतदानस्थलसम्म पुर्याउने कौशल अर्को पाटो हो।
हामीले मधेसका गाउँ, नगर घुम्दा उम्मेदवार हुने आत्मविश्वास भएका जनमत पार्टीका कार्यकर्ता विरलै भेट्यौं। आमजनताले पनि फलानो जनमत पार्टीको कार्यकर्ता हो, ऊ असल छ, यसपालि चुनाव जित्न सक्छ भनेर विरलै भने।
हामीले राउतलाई सोध्यौं– मधेसका गाउँगाउँमा निर्वाचित जनप्रतिनिधिप्रति असन्तोष छ। भ्रष्टाचार गरेको, आफ्ना नाता र कार्यकर्तालाई रोजगारी वा लाभ दिलाएको, विकास निर्माणका काम अघि बढाउन नसकेको वा कमसल काम गरेको आरोप छ। पुराना दलहरू नै 'यसपालि पदमा रहेका २० प्रतिशत पनि मेयर वा गाविस अध्यक्षलाई जित्न गाह्रो छ' भन्दैछन्। यस्तोमा जनमत पार्टीका उम्मेदवारलाई सजिलो होला नि?
'यहाँ एन्टी इन्क्युबेन्सी (सत्तामा बसेकाविरूद्ध जनमत) को हल्ला त हुन्छ, जनताले पनि यसपालि देखाइदिन्छु भन्छन्। तर भन्ने मात्र हो, गर्दैनन्। मधेसमा लाइनमा लागेका बेला मत परिवर्तन हुन्छ। कहिलेकाहीँ ५ हजार अफर गरे पनि मतदाता पल्टिछन्। त्यही भएर यसमा म धेरै विश्वास गर्दिनँ,' उनले भने।
राउतका नजरमा सत्तामा बसेकालाई मधेसको चुनावमा 'एड्भान्टेज' छ।
उनको दृष्टिमा पहिलो 'एड्भान्टेज' पैसा हो। गाउँ, नगर र वडामा यसपालि यति धेरै पैसा छ। एउटा गाउँमै पाँच वर्षमा एक-डेढ अर्ब बजेट आएको छ। दस प्रतिशत भ्रष्टाचार गर्दा पनि उनीहरूसँग १०-१५ करोड हुन्छ।
'मतदाताले पनि भ्रष्टाचारी भनेर एकछिन गाली गर्ला तर भोट फेरि उसैलाई दिन्छ। उसलाई भ्रष्टाचारको पनि खासै मतलब छैन,' उनले भने, 'किसान आन्दोलनमा पर्चा छाप्ने पनि पैसा नभएको आफ्नो पार्टीले अहिले सत्तामा रहेकासँग कसरी प्रतिस्पर्धा गर्नु?'
राउतका अनुसार अहिलेका मेयर, गाउँपालिका र वडा अध्यक्षको अर्को 'एड्भान्टेज' स्थानीय सरकारले मतदातालाई बाँडेको स्रोतसाधन हो।
'उनीहरूले बहुतै वितरणमुखी काम गरेका छन्। ग्यास सिलिन्डर, ब्ल्यांकेट, छाताजस्ता समान बाँडिदिने गरेका छन्,' राउतले भने, 'फेरि जनता पनि कस्ता छन्, नेताजीले दिनुभएको भन्छन्। नेता पनि मैले तिमीहरूलाई यस्तो दिएँ भन्छन्।'
यी सबै कारणले स्थानीय निर्वाचन आफूहरूलाई अप्ठ्यारो भएको, बरू आउने संघीय निर्वाचनमा जनमत पार्टीले राम्रो गर्ने उनले सुनाए।
कति राम्रो गर्छ जनमत पार्टीले?
कम्तीमा मधेसी दलहरूभन्दा राम्रो गर्ने उनले बताए। त्यो बेलासम्म पार्टीको संगठन धेरै मजबुत हुने जिकिर गरे। राउतले अहिले नै आफ्नो पार्टीका सक्रिय कार्यकर्ता एक लाखभन्दा बढी रहेको र साधारण सदस्य पाँच लाख पुगेको दाबी गरे।
'त्यो बेलासम्ममा दस लाख पुर्याउन काम गर्नेछौं,' उनले भने, 'अहिले सिरहा, सप्तरी र रूपन्देहीमा हाम्रो संगठन बलियो छ। त्यो बेलासम्म अरू जिल्लामा पनि विस्तार गरिसक्छौं।'
अनलाइनका सम्पादकलाई पाठक कति छन् नसोध्नू, नेतालाई पार्टी सदस्य कति छन् नसोध्नू, धेरै बढाएर भनिदिन्छन्!
जनमत पार्टीको साधारण सदस्य अहिले नै पाँच लाख पुगेका भए संसदीय निर्वाचन मात्र होइन, स्थानीय निर्वाचनमा पनि उक्त पार्टीले धेरै ठाउँमा निर्वाचन जित्ने थियो। गत संसदीय निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले समानुपातिकतर्फ क्रमश: समान चार लाख ७२ हजार र चार लाख ७० हजार मत ल्याएका थिए। त्यसैले जनमत पार्टीका साधारण सदस्य नै पाँच लाख भन्ने दाबी पत्यारिलो छैन।
जातीय र वर्गीय हिसाबले जनमत पार्टीलाई मधेसमा अर्को चुनौती पनि छ। जसपाजस्तो यादवहरूको ठूलो समर्थन यो पार्टीलाई छैन। न राजपालाई जस्तो मधेसको कथित उच्च जात र वर्गको समर्थन जनमत पार्टीलाई छ। मधेसमा दलित जनसंख्या १८ प्रतिशत जति छ। दलितको मुद्दा बलियोसँग उठाउने पार्टी पनि होइन यो।
सुशासन र डेलिभरीको मुद्दा उठाउने 'सेक्युलर' पार्टी हो जनमत पार्टी। यी मुद्दा पनि भारतको आम आदमी पार्टीले जस्तो बलियो गरी उठाएको र त्यसमा विश्वास जितेको पार्टी होइन यो। अर्कै देश बनाउने मुद्दाबाट जन्मिएको पार्टीले एक किसिमले 'आइडेन्टिटी क्राइसिस' झेल्दै छ।
जनमत पार्टीले कति मत ल्याउला, त्यो आगामी स्थानीय र संसदीय निर्वाचनमा देखिनेछ। यसले कुन दलको मत खोस्छ, त्यो अर्को महत्वपूर्ण कुरा हो। जनमत पार्टीको आकार जति ठूलो हुन्छ, त्यसले त्यति नै अरू पार्टीलाई घक्का दिनेछ।
कतिपयको अनुमान जनमत पार्टीले मधेसी दललाई सबभन्दा ठूलो असर पर्छ भन्ने छ। मधेसमै आधारित दल भएकाले पनि जनमत पार्टीले मधेसी दलहरूकै मत धेरै काट्ने सम्भावना कतिपयले औंल्याएका छन्। अहिले घम्साघम्सी र रिस पनि यिनै दलका कार्यकर्ताबीच बढी देखिन्छ।
मधेसी दलका नेताहरू भने आफूहरूलाई जनमत पार्टीले धैरै फरक नपार्ने दाबी गर्छन्। एक नेताले भने, 'एकीकृत समाजवादी पार्टीले एमालेको जति मत काट्छ, जनमत पार्टीले पनि हाम्रो त्यति नै काट्ला!'
राउत पनि हिजो मधेसी दल र कम्युनिस्ट पार्टीहरूलाई गएको मत नै आफ्नोमा आउने बताउँछन्।
'सुरूमा मलाई कांग्रेस समर्थकको मत पनि आउँछ भन्ने लागेको थियो। अहिले म त्यस्तो देख्दिनँ,' उनले भने, 'वर्गीय हिसाबले पनि कम्युनिस्ट पार्टीमा जाने मत मलाई आउँछ। मधेसी दलको मत पनि आउँछ।'
मधेसमा मुख्य राजनीतिक शक्ति बन्न अरू पार्टीबाट थोरैथोरै मत तानेर जनमत पार्टीलाई पुग्ने छैन। जनमतमा ठूलो राजनीतिक बदलाव आउनुपर्छ। हामी मधेसका गाउँ, नगर घुम्दा चुनाव धेरै टाढा थियो। अझै पनि उम्मेदवार छानिइसकेका छैनन्। त्यसैले राजनीतिक हावा कसरी, कतातिर बग्छ, अनुमान गर्न चाँडो हुन्छ।
माघ अन्तिम साता मधेसी मतदातासँग गरेको कुराकानीका आधारमा यति भन्न सकिन्छ— महसुस हुनेगरी जनमत पार्टीको पक्षमा कुनै राजनीतिक हावा चलेको छैन। न त आउने दिनमा त्यो सम्भव बनाउने राजनीतिक संगठन नै जनमत पार्टीको बनिसकेको छ।
त्यसो भन्दैमा सिके राउत मधेसको प्रतिस्पर्धात्मक राजनीतिमा नउदाउँदै अस्ताउँछन् भन्ने होइन।
उनका लागि, दुइटा कुरा सकारात्मक छन्।
पहिलो, उनी पैसा वा नाम कमाउन होइन, बरू समाजका लागि केही गरौं भनेर नेपाल फर्किएको भन्ने छवि व्यापक छ। मधेसीका लागि अमेरिकाको लाखौंको जागिर र सुखसयल छाडेको भनेर धेरैले भन्छन्। तर पनि उनलाई धेरैले नजिकबाट देख्न पाएका छैनन्, सुन्न पाएका छैनन्। हामीले कुरा गरेका धेरैले 'पहिले उनी हाम्रो गाउँघरमा आऊन्, उनलाई हेरौं, सुनौं' भनेका छन्।
मतदाता तान्ने जुन हतार राउतलाई छ, त्यो हतार मतदातालाई भने छैन। उनीहरू आरामसँग राउतलाई देख्न, सुन्न र पर्गेल्न पर्खेर बसेका छन्। त्यसको अर्थ हो- उनीसँग सुषुप्त भए पनि अपेक्षा छ। यो दीर्घकालमा राउतका लागि आफैंमा ठूलो पुँजी हो। उनी जति राजमार्ग र सदरमुकाम केन्द्रित आन्दोलन थाती राखेर मधेसका गाउँगाउँ पुग्छन्, जनताका घरदैलोमा पुग्छन्, बिस्तारै र दीर्घकालमा उनको पक्षमा जनमत बन्न सक्छ।
दोस्रो, आम मानिसमा स्थानीय सरकार र नेताप्रति मधेसमा व्यापक असन्तुष्टि छ। आफ्ना कार्यकर्ता र मानिसलाई मात्र च्याप्ने जुन प्रवृत्ति छ र जसरी भ्रष्टाचार व्यापक छ, त्यसप्रतिको आक्रोश घटेर जाने कम सम्भावना छ। त्यो राजनीतिक आक्रोश मतपत्रमा खनिएका दिन सत्तामा बसेकाहरू सडकमा पुग्छन्, सत्तामा कहिल्यै नपुगेकाहरूको दिन आउन सक्छ।
त्यो दिनसम्म सिके राउत र उनको जनमत पार्टी टिकिरहन्छ, डटिरहन्छ कि उसका खुट्टा त्यसअघि नै लुला हुन्छन्, यो पार्टीको भविष्य त्यसैमा निर्भर हुनेछ।
मधेसमा अलग राष्ट्र माग गरेर हिरासतमै अनसन बसेका बेला उनलाई भेट्न तत्कालीन मन्त्री मीनेन्द्र रिजाल पुगेका थिए। उनले केही जिस्किँदै र केही सम्झाउँदै राउतलाई भनेका थिए, 'डाक्टर साब, कांग्रेसले प्रजातन्त्र मागेर आन्दोलन गरेको ७० वर्ष भयो। बल्ल हामी संविधान लेख्ने, गणतन्त्र स्थापित गर्ने क्रममा छौं। अलग देश बनाउन त कति समय लाग्छ, लाग्छ।'
उनले सम्झाउँदै भने, 'तपाईंका प्रतिस्पर्धी दल त अनसन नटुंगियोस् भन्ने चाहन्छन्। तर हामी चाहन्छौं, तपाईंको जीवन रहनुपर्यो। राजनीति त्यसपछि गर्ने हो। अनसन टुंग्याउनुहोस्।'
राउतले केही दिनपछि अनसन टुंग्याए। पछि अलग देश बनाउने माग बिसाएर प्रतिस्पर्धी राजनीतिमा आए। सायद अलग देश बनाउने बाटो कति दुरूहपूर्ण छ भन्ने बुझेरै त्यो छाडे।
नयाँ पार्टी स्थापित गर्ने काम पनि कम अप्ठ्यारो छैन भन्ने उनले पक्कै बुझ्दै गएका होलान्। उनीसँगको संवादमा त्यो प्रशस्त झल्किन्थ्यो। यो अनुभूतिसँगै राजनीतिमा टिक्ने र निरन्तर प्रभाव र संगठन विस्तार गर्ने कौशल र धैर्य उनले कति विकास गर्छन्, सायद त्यसैले कुनै दिन उनको पार्टीको पक्षमा जनमत जान्छ कि जाँदैन निर्धारण गर्नेछ।
(अमित ढकालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)