रूपन्देही, भैरहवाकी ईशा खड्काले आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्।
कतिपय स्थानीय यो उनको लहड मात्र हो कि भनेर प्रश्न गर्छन्। ईशा भने आफ्नो उम्मेदवारीबारे प्रस्ट छिन्।
उनी आफूलाई लहडी उम्मेदवार मान्दिनन्, बरू 'अटेरी' उम्मेदवार भन्न रूचाउँछिन्। उनले युवाहरूको अटेरी अभियानअन्तर्गत उम्मेदवारी घोषणा गरेकी हुन्।
पोखराका गनेस पौडेलले सुरू गरेको यो अभियानले राजनीतिक दलका शीर्ष नेताहरूको गोजीबाट टिकट घोषणा हुने प्रथाविरूद्ध युवा पुस्तालाई स्वतन्त्र उम्मेदवारी दिन प्रेरित गरेको छ।
ईशाले कुनै राजनीतिक दलको सदस्यता लिएकी छैनन्। उनी एक स्वतन्त्र मतदाता हुन् र आफू बसेको ठाउँमा राजनीतिले राम्रो काम गरेको देख्न चाहन्छिन्। राजनीति गर्नेहरूले आममानिसको आकांक्षा बेवास्ता गरेकोमा उनी निराश छिन्।
‘सरकारी संरचनाहरूमा परिवर्तन आवश्यक छ,’ उनले भनिन्, ‘मेरो उम्मेदवारी कुनै व्यक्तिविरूद्ध होइन। स्थानीय तहदेखि नै सकारात्मक परिवर्तनको सुरूआतका लागि हो।’
ईशाका बुबा भोटबहादुर सामाजिक काममा रमाउँथे र राजनीतिक दलहरूबाट टाढा थिए। ईशाले नेपालको राजनीति अलिक ढिलो मात्रै बुझ्न थालिन्। उनले राजनीति थोरै थाहा पाउने हुँदा देशमा माओवादी सशस्त्र द्वन्द्व चर्किन थालेको थियो। बन्दुक र बम पड्किन थालेका थिए। आपसमा हुने काटमारले ईशाको दिमागमा राजनीति भनेको फोहोरी खेल हो भन्ने सोचाइ बलियो बनाएको थियो।
सशस्त्र द्वन्द्वपछि देश शान्ति प्रक्रियामा गएको डेढ दशक भयो। यसबीच दुईपटक संविधानसभा र एकपटक संघीय संसद, प्रदेश संसद र स्थानीय तहको निर्वाचन भयो। अबको दुई महिनापछि स्थानीय तहको अर्को निर्वाचन हुँदैछ।
'हाम्रो आकांक्षा भने ज्यूँका त्यूँ छ। राजनीतिको फोहोर सफा भएको छैन। राजनीतिक नेता र नेतृत्वप्रति वितृष्णा घटेको छैन। पहुँचवाला व्यक्तिहरूले लाभ हासिल गर्दै आएका छन्। आमजीवनमा ठोस परिवर्तन देखिएको छैन,' ईशाले भनिन्, 'हाम्रो अटेरी उम्मेदवारी यी सबै प्रवृत्तिविरूद्ध हो।'
ईशा अटेरी अभियानसँग कसरी जोडिइन्?
पोखराका गनेस र भैरहवाकी ईशा कुनै समय पोखराको पृथ्वीनारायण क्याम्पसका समकालीन विद्यार्थी थिए। गनेसले सुरू गरेको ‘अटेरी’ अभियान क्रममा दुवैको भेट भयो। यही भेटले ईशालाई पनि ‘अटेरी’ अभियानमा सहभागी गरायो।
गनेसको अटेरी अभियानको मुख्य उद्देश्य हो– देशका सबै सरकारी तथा सार्वजनिक कार्यालयमा हुने गलत काम र गलत प्रवृत्तिविरूद्ध ‘अटेरी’ गरौं र ठाउँको ठाउँ आवाज उठाऔं। राम्रो परिणामका लागि आफैं पनि जिम्मेवारी लिन अग्रसर बनौं भन्ने अर्को उद्देश्य हो।
'कुनै राजनीतिक दलमा आबद्ध हुनु गलत होइन तर दलको सिद्धान्त र नीतिका पछाडि नभई नेताका पछाडि लाग्ने र नेताहरूलाई खुसी पारेर लाभ हासिल गर्ने प्रवृत्ति गलत हो,' उनले भनिन्, ‘सबै राजनीतिक दलहरूको नीति र सिद्धान्त राम्रो छ तर व्यक्तिलाई महत्व दिनुपर्ने प्रवृत्ति छ। यस्तो प्रवृत्तिले राजनीति गलत दिशातिर गयो। व्यक्तिगत लाभ हासिल गर्ने र अपारदर्शी ढंगले तीव्र गतिमा धन कमाउने दिशातिर गयो।’
ईशाको बुझाइअनुसार नेताको आशीर्वादमा पार्टीको पद हासिल गरेपछि गलत नीतिविरुद्ध बोल्ने आँट कार्यकर्ताहरूमा हुँदैन। ठिक यसैगरी सहयोगी कार्यकर्ताले गलत तरिकाले हासिल गरेको आर्थिक लाभप्रति नेताले आँखा चिम्लिदिए।
राजनीतिक दलबाट चुनाव जित्न ठूलो परिमाणमा पैसा खर्च गर्नुपर्ने भएपछि भ्रष्टाचार बढेको ईशाको निष्कर्ष छ। पार्टीबाट उम्मेदवारी दिने आधिकारिकता पाउन र उम्मेदवारीपछि चुनाव जित्न अकल्पनीय ढंगले धेरै पैसा खर्च गर्नुपर्ने भएपछि आर्थिक अनुशासन बन्दैन भन्ने ईशाको निष्कर्ष छ।
भन्छिन्, ‘बिरालो बनेर राजनीतिमा प्रवेश गर्ने र बाघ बनेर निस्किने प्रवृत्तिले राजनीति प्रदूषित बनाएको छ।’
बिनाकारण कसैसामु नझुक्ने स्वभावका कारण भैरहवामा मन्टेश्वरी विद्यालय सञ्चालन गर्दासमेत धेरै झन्झट बेहोर्नुपरेको ईशाको अनुभव छ। विद्यालयमा भर्ना हुने सबै बालबालिका आफ्ना लागि समान भए पनि पहुँचका आधारमा भर्नाको दबाब झेल्नुपरेको उनको भनाइ छ। यसलाई पनि उनी राजनीतिक विकृतिकै अंग मान्छिन्।
ईशा ‘अटेरी’ अभियानमा खडा हुनमा आफ्ना बुबाको पनि प्रेरणा रहेको बताउँछिन्। उनका बुबा आत्मसन्तुष्टि र अरूको भलाइको लागि काम गर्नुपर्छ भन्थे। बुबाको यो भनाइ उनका लागि आदर्श बन्यो।
‘सानैदेखि बुबाले सत्यलाई सत्य र असत्यलाई असत्य भन्न सिकाउनुभयो,’ उनी भन्छिन्, ‘अहिले बुबा नभए पनि बुबाकै भनाइलाई आदर्श मानेर हिँडेकी छु।’
आफ्नो उम्मेदवारी घोषणामा धेरैको सकारात्मक प्रतिक्रिया पाएको ईशाको भनाइ छ।
‘मैले धेरै परिवर्तन गर्न त नसकुँला तर पद, पहुँच र शक्ति नभएकाहरूलाई पनि राज्यबाट पाउने सुविधामा विभेद हुने छैन भन्ने मान्यता स्थापित गर्छु,’ उनले भनिन्, ‘राजनीति भनेको जनताको सेवाको काम हो, धन कमाउने पद होइन भन्ने पनि स्थापित गर्न चाहन्छु।’
राजनीतिक दलमा ईशालाई मन नपरेको अर्को पक्ष हो, जी–हजुरी प्रथा। आफूले भोट दिएर जिताएर पठाएका नेतालाई जी–हजुरी गर्नुपर्ने प्रथा अन्त्य हुनुपर्छ भन्नेमा ईशा प्रस्ट छिन्।
राजनीतिमा व्याप्त यस्तो विकृत प्रथा परिवर्तन गर्न चुनाव जितेर पदमा पुग्नुपर्दैन भन्नेमा पनि ईशा प्रस्ट छिन्।
‘जुन ठाउँ सफा गर्नुछ, त्यहीँभित्र पस्नुपर्छ। बाहिर बसेर पनि दबाब सिर्जना गर्न सकिन्छ तर यो ढिलो प्रक्रिया हो,’ उनले भनिन्, ‘भित्रै पसेर सफा गर्न छिटो हुन्छ र सबैका लागि उदाहरण पनि हुन्छ।’
राजनीतिमा व्याप्त फोहोर तल्लो तहदेखि सफा गर्ने अभियानमा देशव्यापी सक्रियता बढेको उनको भनाइ छ।