नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतालाई सरकारले संसदमा पेश नगरि नेपाली जनतालाई गुमराहमा राखेको बताएका छन्।
ज्ञवालीले शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल भदौ २९ गते गरेको एमसिसी सम्झौतालाई देउवा नेतृत्वकै गठबन्धनका नेताले अनावश्यक गिजोल्ने काम गरेको बताए।
प्रेस चौतारी नेपाल रूपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले सरकारमा संलग्न दलकै नेताले अमेरिकासँग एकथरी र नेपालभित्र अर्कोथरी कुरा गरि दोहोरो चरित्र देखाएको आरोप समेत लगाए। ‘सरकारले जनतालाई एमसिसीबारे अब धेरै गुमराहमा नराखी स्पष्ट पार्नुपर्छ, अमेरिका फर्किदा एउटा कुरा नेपालतर्फ फर्किदा अर्को कुरा गर्नु हुँदैन,’ ज्ञवालीले भने।
उनले प्रधानमन्त्री देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत असोज १३ गते ५ महिनाभित्र संसदबाट एमसिसी पारित गर्ने भन्दै पत्र पठाईसकेकोले अब संसदमा पेश गर्न आग्रह गरे। ‘एमसिसीसँग उहाँहरु आफैंले मागेको ५ महिनाको समयसिमा फागुन १६ गते सकिदै छ, त्यसअघि छलफलका लागि संसदमा पेश गर्नुस्,’ उनले भने।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेको ज्ञवालीले एमसिसीलाई संसदमा पेश गर्न सभामुखले ढोका बन्द गरिदिएको समेत बताए। ‘सभामुखले सरकार र सांसदहरुको बीचमा पुलको काम गर्नुपर्ने हो, तर एमसिसी ल्याउने विषयमा उहाँले बाटो छेकनुभएको छ,’ ज्ञवालीको भनाई छ।
संसदमा पेश भएपछि एमसिसी पास गर्न गठबन्धनसँग रहेकोले गठबन्धनले चाहे एमसिसी पास हुने भन्दै उनले यस विषयमा एमालेले भने संसदमा प्रवेश पाएपछि मात्रै आफ्नो धारणा राख्ने बताए। ‘संसदमै पेश नभएको विषयमा एमालेले आफ्नो धारणा दिँदैन, जब संसदमा पेश हुन्छ तबमात्रै त्यसबारे एमालेले धारणा राख्छ,’ उनले भने।
केपी ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेको एमसिसी सम्झौताको विषय संसदमा पेश गरे पनि माओवादी केन्द्रका नेताहरुको दोहोरो चरित्रका कारण अगाडि बढ्न नसकेको उल्लेख गर्दै अहिले पनि सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाए। ‘आफैंले हस्ताक्षर गरेको विषयलाई अगाडि बढाउन उहाँहरुलाई कसले रोकेको छ, कि त्यतिबेला कसैले झुक्याएर वा आफैं निद्रामा रहेको बेला हस्ताक्षर गर्नुभएको थियो?,’ उनको प्रश्न थियो।
ज्ञवालीले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने षडयन्त्रमा लागेको भन्दै यदि त्यस्तो अवस्था आए प्रधानमन्त्री देउवाको निधारमा कलंकको अर्को टिका लाग्ने बताए। स्थानीय तह लोकतन्त्रका सबैभन्दा आधारभूत र महत्वपूर्ण खम्बा भएको उल्लेख गर्दै ज्ञवालीले समयमा निर्वाचन नभई स्थानीय तह जनप्रतिनिधि विहिन भए लोकतन्त्र गम्भीर संकटमा पर्ने दाबी गरे।
संविधानले स्थानीय तहलाई एकदिन पनि जनप्रतिनिधि विहीन नहुने भनेर परिकल्पना गरेकोले त्यसको लागि दुई महिना अगाडि नै चुनाव गर्नुपर्नेमा सरकार आफ्नो दायित्वबाट भाग्न खोजेको बताए। उनले एमालेमा अहिले जागेको पुनर्जागरणले गठबन्धन अत्तालिएर चुनाव सार्ने षडयन्त्रमा लागेको भन्दै अविलम्ब स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरे।
नेता ज्ञवालीले केही व्यक्ति एमाले छोडी अर्को दल खोलेर गए पनि एमालेलाई कुनै असर नपरेको भन्दै उनीहरू बाहिरिएपछि एमालेले गति लिएको दाबी गरे। ‘उहाँहरुको बहिर्गमनपछि एमालेले गति लिएको छ, हिजो कहि न कही उहाँहरुका कारण पार्टीमा ब्रेक लागेको रहेछ सायद,’ उनले भने।
नेता ज्ञवालीले मुलुक अहिले राजनीतिक, कानुनी, आर्थिक सबै हिसाबले गम्भीर संकटमा रहे पनि सरकारको ध्यान यसतर्फ नगएको बताए। मुलुकको अर्थतन्त्रका समग्र सूचकहरू नकारात्मक देखिएको बताउँदै उनले वर्तमान सरकार जनताका न्यूनतम आवश्यकता पूरा गर्न असफल देखिएको बताए।
अर्को प्रशंगमा नेता ज्ञवालीले सरकार र न्यायालयबीच अनैतिक रुपमा राजनीतिक साँठगाँठ हुँदा न्यायालय समेत विवादित बनेको बताए।