लुम्बिनी विकास कोषको जग्गामा गुरूयोजनाविपरीत रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढेको छ।
संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेको दबाबमा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय भएको कोषका एक सदस्यले बताए। मन्त्री आले लुम्बिनी विकास कोषका अध्यक्षसमेत हुन्।
संसारा वेलनेस कम्पनी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो। वैद्य आफूले लुम्बिनी विकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटल बनाउने योजना तयार गरेका थिए।
संसारा वेलनेसले लुम्बिनीग्रामस्थित श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउन्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो।
जापानिज वास्तुविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी विकास गुरूयोजनामा चार विगाहा क्षेत्रफलमा फैलिएको क्याम्पियन ग्राउन्डमा आठ/नौवटा कोठा, खुल्ला स्थान, शौचालय, क्याम्प फायर र पिकनिक स्पट राख्ने उल्लेख छ।
संसारा वेलनेसले पेस गरेको प्रस्तावमा भने ध्यान गर्न आउने पाहुनाका लागि रिसोर्ट सञ्चालन गर्ने भनिएको छ।
लुम्बिनी विकास गुरूयोजनामा लुम्बिनी ग्राममा स्वदेशी तथा विदेशी पाहुनाको उच्चस्तरीय आवासका लागि तीनवटा मात्रै होटल सञ्चालन गर्ने उल्लेख छ। त्यसैअनुसार होक्के होटल, होटल कासाइ र श्रीलंकाको पिलग्रिमेज हाउस यसअघि नै सञ्चालन भइसकेका छन्।
संसारा वेलनेसले तत्कालीन संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री भानुभक्त ढकालकै पालामा लुम्बिनी ग्राममा रहेको क्याम्पियन ग्राउन्डभित्र रिसोर्ट सञ्चालन गर्ने प्रस्ताव पेस गरे पनि अगाडि बढ्न सकेको थिएन।
गत असोजमा प्रेमकुमार आले मन्त्री बनेर आएपछि भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमार्फत मन्त्री आलेसमक्ष पुनः प्रस्ताव लगेर डेढ महिनामै उक्त जग्गा संसारा वेलनेसलाई दिने निर्णय गरिएको स्रोतको दाबी छ।
लुम्बिनी विकास कोषका अनुसार संसारा वेलनेसलाई जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै सिधै विकास कोषको बैठकमा पेस गरिएको थियो। ‘जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै आएको थियो,’ कोषका एक सदस्यले भने।
संसारा वेलनेसले प्रस्ताव गरेको क्षेत्र क्याम्पियन ग्राउन्ड रहेकाले त्यसलाई रिसोर्ट सञ्चालन निम्ति दिन नहुने पक्षमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) थिए। स्रोतका अनुसार उक्त प्रस्तावमा निर्णय गर्न कोषका पदाधिकारीले नमानेपछि मन्त्री आलेले राजीनामा गर्न दबाब दिएका थिए।
कोषका ती पदाधिकारीसँग रिसाएका मन्त्री आलेले लुम्बिनी गार्डेन फाउन्डेसनले गौतमबुद्ध विमानस्थलमा बुद्धमूर्ति राख्न आयोजित कार्यक्रममै उनीहरूलाई राजीनामा दिन निर्देशन दिएका थिए।
‘जग्गाको विषयमा मन्त्रीज्यू पहिलेदेखि असन्तुष्ट हुनुहुन्थ्यो, अर्कैले आयोजना गरेको कार्यक्रममा उहाँलाई बोल्न नदिएपछि त्यो रिससमेत हामीमाथि पोख्नुभयो,’ विकास कोषका एक सदस्यले सेतोपाटीसँग भने।
बोल्न नपाएर रिसले चुर भएका मन्त्री आलेले तिमीहरूले राजीनामा दिए देऊ, नदिए ठेगान लगाउँछु भन्दै सार्वजनिक रूपमा बोलेका थिए।
गुरूयोजनाभन्दा बाहिर गएर कुनै पनि संरचना निर्माण गर्न नहुने भन्दै अडान राख्दै आएका उपाध्यक्ष त्रिपाठीले मन्त्रीको दबाब थेग्न नसकेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पुगेर आफ्नो अवधि सकिन लागेकाले मन्त्रीलाई मनाउन आग्रह गरेका थिए।
तर रिसोर्टका लागि विकास कोषको जग्गा दिन नहुने भन्दै अडान राख्दै आएका त्रिपाठीलाई नै नबोलाई बसेको विकास कोषका पदाधिकारी/सदस्यको गत मंसिर ११ को बैठकले रिसोर्ट सञ्चालनको लागि जग्गा दिने निर्णय गरेको हो।
सोही जग्गाकै विषयमा मन्त्री आलेसँग कुरा नमिलेपछि पछिल्लो एक महिनायता उपाध्यक्ष त्रिपाठी क्यानडा गएर बसेको उनीनिकट स्रोतले जानकारी दियो।
‘जग्गाको विषयमा तीन महिना पहिलेदेखि नै मन्त्रीज्यू र उपाध्यक्षज्यूको बीचमा विवाद बढिरहेको थियो, मन्त्रीज्यूले त उपाध्यक्षज्यूलाई हटाएरै भए पनि जग्गा दिने भनेपछि उपाध्यक्षज्यूलाई बैठकमा समेत बोलाउन छाडिएको थियो, अहिले त उहाँ नेपाल बाहिर जानुभएको छ,’ त्रिपाठीनिकट स्रोतले भन्यो।
यसैबीच लुम्बिनी विकास कोषका सदस्य-सचिव सानुराज शाक्यले भने उपाध्यक्षलाई बैठकमा नबोलाएको नभई उनी आफैं उपस्थित नभएको दाबी गरे।
‘बैठकमै नबोलाएको भन्न मिल्दैन, बैठकमा म आफैंले बोलाएको हो, एउटा बैठकमा आफैं उपस्थित हुनुभएन, अर्कोमा भने त्यस्तै भयो,’ शाक्यले भने।
शाक्यले संसारा वेलनेस नामक कम्पनीलाई जग्गा दिई नसकिएको तर मेडिटेसन सञ्चालन गर्ने र मेडिटेसन गर्न आउनेलाई बस्ने सुविधासहितको रिसोर्ट सञ्चालनका लागि प्रस्ताव पेस गरेकाले त्यसको विस्तृत परियोजना माग गर्ने निर्णय गरिएको जानकारी दिए।
शाक्यले संसारा वेलनेसले प्रस्ताव गरेको जग्गा मोनास्ट्री जोनभित्रको नभई गुरूयोजनामा नै क्याम्पियन ग्राउन्डका लागि छुट्टयाएको क्षेत्र भएकाले सैद्धान्तिक रूपमा मात्रै निर्णय गरिएको बताए।
‘उहाँहरूलाई गुरूयोजनाअनुरूपको संरचना निर्माण गर्न दिने भन्ने निर्णय भएको छ, गुरुयोजनाभन्दा बाहिर प्रस्ताव आयो भने स्वीकृत हुँदैन,’ शाक्यले भने।
लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईले क्याम्पियन ग्राउन्डको जग्गा रिसोर्टका लागि दिई नसकिएको र प्रस्ताव गरेको कम्पनीको विस्तृत योजना माग गर्ने निर्णय मात्रै गरिएको दाबी गरे।
‘सुरज वैद्य आफैं पनि लुम्बिनी विकास कोषको पूर्वउपाध्यक्ष हुनुभएकाले गुरूयोजनाभित्र के राख्ने के नराख्ने भन्ने थाहा होला, त्यहीअनुसार प्रस्ताव पनि गर्नुभएको होला तर गुरूयोजनाविपरीत आउने प्रस्तावमा विकास कोषले निर्णय गर्दैन,’ भट्टराईले भने।
भट्टराईले गुरूयोजनामै पिकनिक स्पट र क्याम्प फायरका लागि भनेर क्याम्पियन ग्राउन्ड तोकिएकाले त्योभन्दा बाहिर गएर जग्गा नदिइने बताए।