नेकपा एमालेले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। लुम्बिनी प्रदेशका ३ जना राष्ट्रियसभाका सदस्यको २० फागुनबाट पदावधि सकिँदै छ।
एमालेकी कोमल ओली, राम लखन चमार र कांग्रेसका दृगनारायण पाण्डेयको २० फागुनबाट पदावधि सकिने भएपछि ती पदमा निर्वाचन हुने लागेको हो।
२०७५ साल असार ४ गते राष्ट्रिय सभा निर्वाचित सदस्यको गोला प्रथाबाट कार्यकाल तोकिएको थियो। जसमा २० जना सांसदको कार्यकाल चार वर्ष निर्धारण भएको थियो । त्यी मध्ये लुम्बिनी प्रदेशका ३ जना थिए।
जसमध्ये कांग्रेसका दृगनारायण पाण्डे गत २०७८ जेठ १७ गते गठबन्धन दलहरुबाट निर्वाचित भएका हुन्। लुम्बिनी प्रदेशसभा सदस्यमा कपिलवस्तुबाट सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका पाण्डे प्रदेशसभा सदस्यबाट राजीनामा दिएपछि कांग्रेसमा प्रवेश गरेका थिए। उनी लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुको समर्थनमा राष्ट्रियसभा सदस्यमा विजयी भएका थिए।
यसअघि निर्वाचित चन्द्रबहादुर खड्काको पद रिक्त भएपछि उप-निर्वाचन भएको थियो। गोलाप्रथा गर्दा खड्काको कार्यकाल चार वर्ष थियो। त्यसैले पाण्डेयको कार्यकाल पनि २० फागुनमा सकिन लागेको आयोगले जनाएको छ।
२० फागुन पछि रिक्त हुने ३ जना राष्ट्रियसभा सदस्यका लागि एमालेले गुल्मीका कृष्ण सुनार, दाङका रामदयाल गुप्ता र नेपालगञ्जकी भारती खनालको नाम टुंगो लगाएको छ।
राष्ट्रियसभा सदस्यसमेत रहेका एमाले केन्द्रिय सदस्य खिमलाल भट्टराईले लुम्बिनी प्रदेशबाट दलिततर्फबाट गुल्मीका कृष्ण सुनार, खुल्ला सदस्यबाट दाङका रामदयाल गुप्ता र महिलाबाट नेपालगञ्जकी भारती खनालको नाम टुंगो लगाएको जानकारी दिए।
यता सत्तागठबन्धन दलहरुले भने अझै उम्मेदवारको टुंगो लगाइसकेका छैनन्। सोमबार बिहान काठमाडौंमा भएको सत्ता गठबन्धनको बैठकको निर्णय अनुसार लुम्बिनीमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १-१ जनाले उम्मेदवारी दिने सहमति भए पनि उम्मेदारको टुंगो लागि नसकेको ती दलले बताएका छन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुनले संसदीय दलको बैठकले उम्मेदवारको नाम टुंगो लगाउने बताए।
निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म जिल्ला अदालत दाङको परिसरमा मनोनयनको समय तय गरिएको छ।
राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ १२ गते हुँदैछ।
निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशको मतदान दाङस्थित कर्मचारी मिलन केन्द्रमा हुनेछ।
लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र २ सय १५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरि २ सय ९६ जनाले मतदान गर्ने छन्।