पूर्व-पश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन बुटवल-नारायणगढ सडकखण्डको अस्तव्यस्तताको कारण दुई घण्टाको यात्रा दूरीमा रहेका महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरू एक दिन पहिले नै हिँड्न बाध्य भएका छन्।
१ सय १५ किलोमिटर दूरीको बुटवल नारायणगढको यात्रा समय सामान्यतया साढे दुई घण्टादेखि तीन घण्टाको रहनुपर्ने हो। तर पछिल्लो केही महिनायता भने बुटवलदेखि नारायणगढ पुग्न ५ देखि १० घण्टासम्म लाग्ने गरेको छ।
निर्माणका क्रममा रहेको यो सडकखण्ड लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट नारायणगढसम्म आउने एकमात्र सडक हो।
अन्य कुनै विकल्प नभएको तथा अत्यन्त साँघुरो, उकालो–ओरालोमा घुमाउँरो मोडसहितको यो सडकखण्ड निर्माणको क्रममा रहेकोले अस्तव्यस्त छ।
निर्माणका कारण भत्किएर खाडलै-खाडल र धुलाम्मे बनेको सडकमा कुनै अवरोध नभएको अवस्थामा समेत नारायणगढसम्म पुग्न ६/७ घण्टा लाग्छ।
सडकमा कुनै गाडी बिग्रिने वा ओभरटेक गरी कुनै गाडी अगाडि जान खोजे त्यसले हुने सडक जामले यात्रुहरू १२ घण्टासम्म सडकमै बस्नुपर्ने अवस्था छ।
नेकपा एमालेले ५ लाख कार्यकर्ता महाधिवेशनमा सहभागी गराउने भन्दै सबै जिल्ला तथा प्रदेशमा कार्यकर्ता चितवन उतार्न निर्देशन गरेको छ। रूपन्देहीबाट मात्र २५ हजार कार्यकर्ता लैजाने तयारी गरेको एमालेले लुम्बिनी प्रदेशबाट ७५ हजार कार्यकर्ता चितवन लैजाने तयारी गरेको छ।
कर्णाली र सुदूरपश्चिमका महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरू चितवन आउने सडक पनि यही रहेकोले शुक्रबार यो सडकमा गाडीको चाप धेरै हुनेछ।
तीनवटा प्रदेशका प्रतिनिधि र कार्यकर्ता आउने सडक एउटै रहेकोले दूरीको हिसाबले नजिक रहे पनि पश्चिम-नवलपरासी र रूपन्देहीका सहभागी पनि आफूले अड्कल गरेको समयमा सजिलै पुग्न सक्ने छैनन्।
त्यसकारण पनि दाउन्नेदेखि पश्चिमबाट आउने एमाले महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरू बिहीबार नै बुटवलदेखि हिँड्न बाध्य छन्।
रूपन्देहीबाट महाधिवेशन प्रतिनिधि रहेकी ज्ञानु केसीले बिहीबार बुटवलदेखि नहिँडे शुक्रबारको उद्घाटनसत्रमा पुग्न नसकिने भएकोले बिहानै चितवनका लागि हिँडिसकेको बताइन्।
'अरू समयमा त नारायणगढ पुग्न ६/७ घण्टा लाग्थ्यो, भोलि त सडकमा गाडीको लाइन हुन्छ। बिहान बुटवलबाट हिँडे पनि साँझसम्म नारायणगढ पुगिँदैन,' उनले भनिन्।
रूपन्देहीका अधिकांश प्रतिनिधि बिहीबार नै चितवन हिँडिसकेको उनले बताइन्।
एमाले रूपन्देहीका सचिवालय सदस्य तेजेन्द्र केसीले साँघुरो र भत्किएको सडक भए पनि धेरै संख्यामा सहभागीलाई निर्धारित समयमा कसरी लैजान सकिन्छ भनेर पार्टीले समन्वय गरिरहेको बताउँछन्।
'महाधिवेशन प्रतिनिधि र अगुवा कार्यकर्ताहरू अघिल्लो दिन नै जान सके भोलिको लागि सहज हुन्छ', केसीले भने।
बुधबारमात्र महाधिवेशन प्रतिनिधिमा मनोनित भएका केसीले शुक्रबार हिँडे समयमा पुग्न नसकिने भएकोले आफू पनि बिहीबार बिहानै बुटवलदेखि हिँडिसकेको सेतोपाटीलाई बताए।
महाधिवेशनमा सहभागी हुन आउनेहरूलाई यात्रामा कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित जिल्ला प्रशासन, ट्राफिक प्रहरी लगायत सडक निर्माण आयोजनासँग समन्वय गरिरहेको एमालेले जनाएको छ।
एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले शुक्रबार उक्त सडकमा मालवाहक गाडीलाई रोकेर यात्रुवाहक गाडीलाई मात्र चल्न दिने गरी एमालेले समन्वय गरिरहेको जानकारी दिए।
'वैकल्पिक सडक नभएकोले सम्भवत: आज साँझदेखि नै भार बोक्ने गाडीहरू चल्न रोकिने छन्, शुक्रबार त बिहानैदेखि यात्रुवाहक सवारीलाई मात्र चल्न दिने निर्णय भएको छ', भट्टराईले भने।
धुलो, खाडल र सवारी जामका कारण महाधिवेशनमा आएकाबीच बाटोबाट फर्किनु नपरोस् भनेर मालवाहक गाडीलाई रोक्न केन्द्रबाट नै आग्रह गरिएको उनले बताए।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक योगबहादुर थापाले निर्माणको क्रममा जीर्ण बनेको सडकमा भार बोक्ने गाडीहरू बिग्रिने र सडक जाम हुने भएकोले त्यस्ता गाडीलाई रोकेर महाधिवेशनमा बढ्ने चापलाई सकेसम्म व्यवस्थापन गर्ने योजना बनाएको बताए।
यो समयमा ठूला भारवहन रहेका गाडीलाई सञ्चालन नगर्न सरोकारवालालाई आग्रह गरिएको उनले बताए।
'साँघुरो र उकालो ओरालो रहेको यो सडकमा भारवहन गाडी बिग्रिँदा सडक जाम हुन सक्छ, यात्रुवाहक सवारी बिग्रिए पनि तत्काल साइड लगाउन ठाउँ-ठाउँमा क्रेनको व्यवस्था गरिएको छ, सकेसम्म यात्रुवाहक सवारीलाई समयमै र सहज आवागमनका लागि सबैले समन्वय गर्नुपर्ने छ,' उनले भने।
सडक विस्तारका क्रममा रहेको यो सडकखण्ड वर्षाभरि हिलाम्मे बनेको थियो। अहिले भने धुलो र सडकमा परेका खाडलका कारण अस्तव्यस्त छ।