नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनबाट पाल्पामा शेरबहादुर देउवा समूहभन्दा रामचन्द्र पौडेल समूहको वर्चश्व कायम भएको छ।
पाल्पाको दुवै निर्वाचन क्षेत्रका सभापति, अन्य पदाधिकारी र अधिकांश महाधिवेशन प्रतिनिधि पौडेल समूहबाट निर्वाचित भएका छन्।
पाल्पाबाट ५२ महाधिवेशन प्रतिनिधि चुनिएकोमा ३ जनामात्रै देउवा समूहबाट चुनिएका छन्। बाँकी ४९ जना महाधिवेशन प्रतिनिधि पौडेल समूहबाट निर्वाचित भएका छन्।
निर्वाचन परिणाम अनुसार क्षेत्र नं.१ को सभापतिमा पौडेल समूहका झमनबहादुर राजमगर विजयी भएका छन्। झमनले ४८८ मत ल्याउँदा देउवा समूहका विष्णु वमरेलले जम्मा १०२ मत ल्याएका छन्।
उक्त क्षेत्रबाट अन्य पदाधिकारीमा पनि झमनकै समूहबाटै सर्वसम्मत निर्वाचित भएका थिए। जसअनुसार सचिवमा कपिल खाण र मधु पराजुली, सहसचिवमा जंगबहादुर दर्लामी र दिपक अर्याल निर्वाचित भएका छन्।
महाधिवेशन प्रतिनिधिमा देउवा समूहबाट कल्प पौडेल, देवराज ढकाल, लक्ष्मण भट्टराई विजयी भए भने अरू सबै पौडेल समूहबाट विजयी भएका छन्।
क्षेत्र नं. २ मा मुक्तिराम जिसीको नेतृत्वमा पौडेल पक्षबाटै पूरै प्यानल विजयी भएको छ। सभापतिमा विजयी जिसीले ४६० मत ल्याउदा देउवा समूहका यादव सिंह कार्कीले २१४ मत ल्याएका छन्।
उक्त क्षेत्रबाट क्षेत्रीय सचिवमा कृष्णबहादुर आले, टंकनाथ न्यौपाने, सहसचिवमा मनसिंह कुँवर, झपेन्द्र पचभैया लगायत सबै सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए।
निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरू पौडेल समूहकै छन्। क्षेत्र नम्बर २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि पनि सबै पौडेल समूहका रहेको नेपाली कांग्रेस पाल्पाले जनाएको छ।
जिल्लामा पौडेल समूहको नेतृत्व जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले गरेका थिए भने देउवा समूहको नेतृत्व पार्टी केन्द्रीय सदस्य हरिप्रसाद नेपालले गरेका थिए।
महाधिवेशन प्रतिनिधिमा सबभन्दा बढी मत पार्टी सभापति वीरबहादुर रानाले ५४४ मत ल्याएका छन्।
क्षेत्रीय पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिमा पौडेल समूहको वर्चस्व रहे पनि मंसिर १० गते हुने जिल्ला अधिवेशनमा भने जिल्ला सभापतिका लागि पौडेल समूहबाटै तीन जनाले दाबी प्रस्तुत गरेका छन्।
जिल्ला सभापतिका लागि पौडेल समूहका यमलाल तिमिल्सिना, कृष्णप्रसाद बस्याल र हिमालदत्त श्रेष्ठसँगै देउवा समूहका देवराज ढकालले उम्मेदवारी दिने चर्चा छ।