२०६० सालमा एसएलसी दिएपछि तनहुँको खैरेनीटारका विशाल सुवेदी एकदिन अचानक घरबाट बेपत्ता भए।
एसएलसी अध्ययनपछि उच्च शिक्षा पढ्ने सपना बोकेर सहर पस्नुपर्ने बेला विशाललाई त्यो बेलाको उमेर र अवस्थाले अन्यत्रै मोडिदियो।
उनी पाँच ६ कक्षा पढ्दाखेरी नै खैरो पोशाक लगाएका युवाहरूको समूह बेलाबेला उनको विद्यालयमा आइरहन्थ्यो। सानो कक्षामा पढ्दा विद्यालयमा आउने युवाहरूको समूहप्रति उनको त्यति ध्यान जाँदैनथ्यो।
८/९ कक्षामा पुगेपछि भने विद्यालयमा आउने युवाहरूको समूहप्रति विशालको चासो बढ्न थाल्यो।
उनीहरू अहिलेको बुर्जुवा शिक्षा पढेर आफ्नो जीवन र समाज परिवर्तन नहुने बताउँथे।
समाज र युवाहरूको जीवन परिवर्तनका लागि क्रान्ति आवश्यक रहेकोले क्रान्तिमा होमिन प्रेरित गर्थे।
उनीहरूले दिने प्रशिक्षणमा सहभागी बन्दै जाँदा २०५९/६० मा उनी उक्त विद्यालयमा अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष बनिसकेका थिए।
विशाल क्रान्तिकारी विद्यार्थी संगठनमा लागेको पनि परिवारले पत्तो पाएको थिएन।
पढाइमा पनि राम्रै थिए, त्यो बेला पढ्नुपर्छ भन्ने भन्दा बुर्जुवा शिक्षा पढेर के गर्छस्, समाज परिवर्तनका लागि हामीसँग हिँड भन्ने साथीहरूको आग्रहलाई उनले स्वीकार गरे।
‘पढाइबाट समाज परिवर्तन गर्न सकिन्न, समाज परिवर्तन त केबल क्रान्तिबाट मात्र सम्भव छ भन्ने त्यो बेलाको बुझाइले विशाललाई ४ वर्ष भूमिगत बनायो,’ सम्झिदै विशाल भन्छन्।
घर र पढाइ छोडेर माओवादी जनयुद्धका लागि भूमिगत भएपछि कास्की, तनहुँ, स्याङजा र पाल्पाका विभिन्न स्थानमा लडाकु बनेर खटिए।
दुई वर्ष हतियार बोकेर हिँडेका विशाल त्यसपछि भने आक्रमणमा घाइते भएका लडाकुहरूको लागि स्वास्थ्य सामग्री बोकेर हिँड्थे।
‘तनहुँबाट कास्की, स्याङजा र पाल्पाका विभिन्न स्थानमा जनमुक्ति सेनाका घाइते लडाकुहरूलाई बोकेर सुरक्षित स्थानमा लैजाने र औषधिमूलो गर्न खटिन्थ्यौं, म अलि बोल्न सक्ने भएकोले बन्दुक बोकेर लड्ने भन्दा गाउँ-गाउँमा पुगेर सचेतना जगाउने, विद्यालयहरूमा बालबालिकालाई अनेरास्ववियु क्रान्तिकारीप्रति आकर्षित गर्ने काममा खटिइरहन्थेँ,’ उनी भन्छन्।
सानै हुँदा उनको सपना शिक्षक वा सशस्त्र प्रहरी बनेर देश र समाजको सेवा गर्ने थियो रे। तर जनयुद्धमा लागेकै कारण पढाइ बीचमै रोकिएपछि शिक्षक र सशस्त्र प्रहरी बन्ने सपना अधुरो रहेको उनी बताउँछन्।
‘उतिबेला पढेर के नै हुन्छ र भनेर हिँडियो, अहिले पश्चाताप लाग्छ,’ उनले भने।
सुवेदी परिवारको कान्छो छोरा विशाल जनयुद्धमा लागेर हिँडेपछि धेरै वर्षसम्म त बुवा र दाजुहरूसँग भेट गर्न पनि गएनन्।
‘कसरी भेट्न जानु, बुवा र दाजुहरूले भनेको नसुनी उहाँहरूको मन दुखाएर भूमिगत भएर हिँडेको थिएँ,’ विशाल भन्छन्।
विशालका बुवा लिलाधर सुवेदी तनहुँमा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता थिए। सानो छँदै आमाको मृत्यु भए पनि बुवा र तीन दाजुहरूले विशाललाई कुनै कमी हुन दिएका थिएनन्।
विशालका ठूलो दाजु बाबुराम सुवेदी पोखरामा कृषि विकास बैंकमा जागिरे छन्। माइलो दाजु नन्दलाल सुवेदी सडक विभाग खैरेनीटारमा काम गर्छन् भने साइलो दाइ रामप्रसाद सुवेदी रोजगारीको लागि दुबईमा छन्।
‘पढाइ छोडेर जनयुद्धमा नलागेको भएँ म पनि कि त शिक्षक बन्थे, कि त सशस्त्र प्रहरीमा जागिर खाएको हुने थिएँ,’ उनले भने।
विशाल अहिले श्रीमती र दुई छोराछोरी लिएर रूपन्देहीको देवदहमा साँझविहान हातमुख जोड्नको लागि संघर्ष गरिरहेका छन्।
शान्ति प्रकृयापछि तनहुँ छोडेर देवदह आए पनि सुरूका केही वर्ष समाजमा घुलमिल भएर बस्न अप्ठ्यारो भएको उनको अनुभव छ।
‘माओवादी भन्ने बित्तिकै त्यतिबेला मानिस मारेर आएका हुन् भन्ने सोचाइ हुन्थ्यो, बोल्न पनि डराउँथे, सामाजिक काममा पनि सहभागी गराउँदैनथे, विस्तारै सबैलाई बुझाउन सकियो अहिले भने जीवन सामान्य रूपले बितिरहेको छ,’ उनी भन्छन्।
स्याङ्जाको कृषि विकास बैंकमा आक्रमण गर्दाको घटना उनि अहिले पनि सम्झिन्छन्।
‘बैंकमा आक्रमण गरेपछि म घाइते लडाकु साथीहरूलाई औषधि लिएर गएको थिएँ।
फर्किंदा बोराभरि पैसा बोकेर तनहुँको खैरेनीटारसम्म पुर्याएको थिएँ। त्यति धेरै पैसाको गड्डी मैले पहिलो पटक देखेको हो,’ कतिपयले पार्टीले मागेको चन्दा उठाएर लुकाउने गरे पनि आफू भने इमान्दार भएकै कारण पार्टीबाट विस्थापित हुँदै गएको उनको अनुभव छ।
‘घरपरिवार र पढाइ समेत छोडेर जसका पछि लागेर हिँडे उनीहरू अहिले कार चढेर मलाई भेट्न आउँछन्, म भने चप्पल किन्ने पैसाका लागि पसिना बगाइरहेको छु,’उनले भने।
जुन उद्देश्यले उनी पढाइ छोडेर आन्दोलनमा लागेका थिए, राजनीतिक दलहरूले पूरा गर्न नसकेको उनको गुनासो छ।
‘सर्वहारा वर्गको लागि लड्ने पार्टी भनेपछि माओवादीप्रति आकर्षित गरेको थियो, तर त्यत्रो संघर्ष गरेर हिँडियो कस्ले के गर्यो खोई त?’ उनी भन्छन्।
राजनीतिक दलहरूको पछिल्लो क्रियाकलापले राजनीतिप्रति नै वितृष्णा जाग्ने गरेको बताउँछन्।
जनयुद्धमा हतियार चलाएका विशालका हातले अहिले घरहरूमा रङ लगाउने काम गर्छन्।
रङ लगाउने कामको ठेक्का लिने उनले आफैंले पनि रङ लगाउने र चार पाँच जना युवाहरूलाई पनि रोजगारी दिएका छन्।
केही वर्ष गाउँघरमा सचेतना केन्द्र बनाएर सामूहिक बाख्रापालन गरे पनि त्यसबाट राम्रो आम्दानी नभएपछि रङ लगाउने काममा लागेको उनले बताए।
विशाललाई श्रीमती लक्ष्मी सुवेदीले पनि घरमै चिया चमेना बिक्री गरेर सघाउने गर्छिन्।
आफ्नो जीवन र समाज परिवर्तनका लागि पढ्नु पर्दैन भन्दै जनयुद्धमा लागेका विशाल आफ्ना छोराछोरीलाई भने राजनीतिबाट टाढै राख्न चाहन्छन्।
‘राजनीतिमा लागेर मेरो जीवन बिग्रियो, म चाहन्छु छोराछोरीले आफ्नो जीवन नबिगारून्, इमान्दार र आर्थिक अवस्था कमजोर भएकाहरू राजनीतिमा लागेर माथि उठ्न नसकिने रहेछ,’ उनी भन्छन्।
उनले सात कक्षामा पढ्दै गरेको छोरीलाई डाक्टर बनाउने सपना बुनेका छन्।
‘मेरो बलबुता र क्षमताले भ्याएसम्म छोराछोरीलाई भने राम्रै पढाउँछु, छोरीको सपना डाक्टर बन्ने छ सके डाक्टर बनाउँछु नसके नर्सिङ पढाउँछु,’ उनले भने।
देवदह नगरपालिका- ६ शिवालय टोलमा बस्दै आएका विशाल आफ्नो टोलका विपन्न, सरकारी सेवा र अधिकारबाट बञ्चित भएकाहरूको अगुवा बन्ने गरेका छन्।
स्थानीय तहमा जनप्रतिनिधी आउनुभन्दा पहिले देवदह नगरपालिकामा सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत गठित नागरिक सचेतना केन्द्रको संयोजक भएपछि समुदायसँग हातेमालो गरेर हिँड्नुपर्छ भन्ने ज्ञान सिकाएको उनको बुझाइ छ।
‘राजनीतिक कार्यकर्ताभन्दा सामाजिक कार्यकर्ता बनेपछि आफ्नो अधिकारका लागि बोल्न सिकियो, निर्णय प्रक्रियामा सहभागी हुन, बैठक र भेलामा छलफल गर्न सिकियो,’ उनी भन्छन्।