नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाण आफ्नै जिल्ला रूपन्देहीमा भने कमजोर देखिएका छन्।
नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत रूपन्देहीमा सम्पन्न निर्वाचन परिणामलाई हेर्दा खाण आफ्नै जिल्लामा कमजोर देखिएका हुन्।
शुक्रबार सम्पन्न प्रदेशसभा क्षेत्र निर्वाचनमा तीन वटा क्षेत्रमा मात्र खाण निकटको प्यानल विजयी भएको छ।
खाण समूहबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट नवीनराज आचार्यको समूह र ‘ख’ बाट मदनप्रसाद पोखरेलको प्यानल विजयी भएको छ। आचार्य र पोखरेल दुबै केन्द्रमा देउवा र जिल्लामा खाण समूहमा रहेका छन्।
गृहमन्त्री खाणको गृहनगर र बलियो पकड रहेको भनिएको प्रदेशसभा निर्वाचन क्षेत्र ३ ‘क’ मा मतगणना स्थलमा आक्रमण भएपछि मतगणना स्थगित भएको छ। ३ ‘ख’ बाट भने देउवा (खाण) समूहका घनश्याम चालिसे नेतृत्वको प्यानल नै निर्वाचित भएको छ।
रुपन्देहीको क्षेत्र नम्बर २ अन्तर्गत दुई वटै प्रदेशसभा क्षेत्रबाट भने पौडेल पक्षको प्यानल विजयी भएको छ। २ को ‘क’ बाट लुम्बिनी प्रदेश प्रतिनिधिको रूपमा उम्मेदवार बनेका खाणका स्वकीय सचिव विजेश न्यौपाने पनि पराजित भएका छन्।
रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटिएर बनेको उक्त निर्वाचन क्षेत्रबाट न्यौपानेसँगै खाण समूहको प्यानल नै पराजित भएको हो।
सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका वीरेन्द्र कनौडीयाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित भएका छन्।
२ को ‘क ’निर्वाचन क्षेत्रबाट खडकबहादुर महत नेतृत्वको पौडेल समूहको प्यानलका दुई जनाबाहेक सबै निर्वाचित भएका छन्।
उक्त क्षेत्रबाट खाण समूहबाट माधवलाल देवकोटाको प्यानल चुनावी मैदानमा उत्रिएको थियो।
त्यसैगरी, रूपन्देहीको क्षेत्र नम्बर २ ‘ख’ मा खाण समूहमाथि पौडेल समूह हावी भएको छ। निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रबाट समेत पौडेल समूहका परशुराम ढकाल नेतृत्वको प्यानल निर्वाचित भएको छ। उक्त निर्वाचन क्षेत्रमा ढकालले जित्दा देउवा समूहका रामेश्वर श्रेष्ठ पराजित भए।
यता प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ ‘क’ मा शिवकुमार यादव र ४ ‘ख’ मा श्रीराम यादव नेतृत्वको प्यानलै निर्वाचित भएको छ। उनीहरू दुबै महामन्त्री शशांक कोइराला निकट मानिन्छन्। उनीहरूलाई प्रतिनिधिसभा सदस्य प्रमोद यादवको दरिलो साथ थियो।
यता प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ५ मा ‘क’ र ‘ख’ दुबै निर्वाचन क्षेत्रमा भरतकुमार शाह पक्षका उम्मेदवारहरू विजयी भएका छन्।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘क’ बाट रामबहादुर थापा नेतृत्वको प्यानल नै निर्वाचित भएको छ भने ‘ख’ बाट यसअघि नै शाहनिकट समूह निर्विरोध निर्वाचित भएको छ।
नेपाली काङ्ग्रेस केन्द्रमा भरत शाह र गृहमन्त्री खाण दुबै एउटै समूहमा रहेको भए पनि जिल्लामा शाह र खाणको अलग-अलग समूह प्रतिस्पर्धामा छ।