सबै पालिकाका वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको नेकपा एमाले रूपन्देहीमा पालिका स्तरमा भने धेरै आकांक्षी देखिएपछि पार्टी नेतृत्वलाई मिलाएर लैजान कठिन देखिएको छ।
रूपन्देहीका १६ वटै स्थानीय तहका सबै वडामा एमालेले सर्वसम्मत कार्यसमिति चयन गरेको थियो। तर मंगलबार सुरू भएको पालिकास्तरको अधिवेशनमा भने धेरै आकांक्षी देखिएपछि सर्वसहमतिमा नेतृत्व चयन हुने सम्भावना न्यून रहेको पार्टी कार्यकर्ता बताउँछन्।
रूपन्देही एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको गृह जिल्ला हो।
पार्टीको केन्द्रीय तहमा रहेका पौडेल र भुसाल अहिले एउटै समुहमा रहे पनि यसअघि दुई नेता अलग-अलग गुट र समूहमा रहेका कारण जिल्ला तथा पालिका तहमा त्यसको प्रभाव अहिले पनि कायम देखिएको छ।
एमाले विभाजनको बखत माधव नेपाल समूहमा रहेका जिल्ला र पालिका स्तरका नेता/कार्यकर्ता पार्टी विभाजनपछि एमालेमै रहे पनि कार्यकर्ता पंक्तिमा एकअर्काबीच विश्वासको वातावरण बन्न नसकेको तिलोत्तमाका एक पार्टी सदस्यले बताए।
‘हिजो दुई समूहमा रहेकाहरू अहिले एउटै पार्टीमा रहे पनि आपसमा विश्वास गर्न सक्ने वातावरण बनिसकेको छैन, त्यसैले सहमतिमा नेतृत्व चयन हुन्छ भन्नेमा आशंका छ।’
तर जिल्लाबाट प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरू भने सबै पालिकामा सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा छन्।
अहिले पार्टीको आन्तरिक निर्वाचनमा दुई समूहमा विभाजन भए त्यसको असर तिनै तहका निर्वाचनमा देखिने भएकोले उनीहरू जसरी हुन्छ सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा छन्।
एमाले केन्द्रीय सदस्य एवं रूपन्देही इन्चार्ज दधिराम न्यौपानेले यसअघि पार्टी केन्द्रदेखि तल्लो तहसम्म नै अराजकता मौलाउँदै जाँदा पार्टी विभाजन हुन पुगेकोले अब कुनै पनि अराजकता पार्टीलाई स्वीकार नहुने बताए।
उनले अब पार्टीभित्रको अराजकता अन्त्य गर्न पनि यो पटक सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताउँछन्।
उपमहासचिव विष्णु पौडेलले पनि सकेसम्म सर्वसहमतिकै बाटो अपनाउन सुझाव दिएका छन्।
पार्टी विभाजनपछि एकताबद्ध बनेको एमालेलाई अझै एक ढिक्का बनाउनका लागि अहिलेको नेतृत्व चयन सहमतिमा गर्नुको विकल्प नभएको उनले बताए।
नेता पौडेलले सहमतिमा नेतृत्व चयनका लागि आन्तरिक रूपमा छलफल गरिरहेको एक नेताले जानकारी दिए।
एमाले रूपन्देहीका अध्यक्ष शिवराज सुवेदीले पार्टी नेतृत्वको पहिलो पहल सहमतिको लागि हुने र त्यो हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनु पनि अन्यथा नहुने भएकोले पार्टी नेतृत्वले कुनै हस्तक्षेप नगर्ने बताए।
अहिले एउटा उम्मेदवारलाई रोक्न खोज्दा त्यसको असर निर्वाचनमा देखिने भएकोले पार्टीभित्रको आन्तरिक चुनावमा पार्टी नेतृत्व फस्न नचाहेको देखिएको छ।
‘नेताहरूले कसलाई बस्न भन्ने, अहिले जसलाई बस्न भन्यो निर्वाचनको बेला उनीहरूबाट सहयोग पाइँदैन भन्ने डरले पनि एउटालाई उम्मेदवार बनाउँदा अर्कोलाई बस्न भन्न सकेका छैनन्,’ जिल्ला कमिटीका एक सदस्यले भने।
रूपन्देहीका महत्वपूर्ण पालिकाको रूपमा रहेका बुटवल, तिलोत्तमा, सैनामैना, देवदह सबैमा तीन/चार जना आकांक्षी देखिएका छन्। बुटवल उपमहानगरपालिकामा अध्यक्षका लागि ६ जना आकांक्षी देखिएका छन्।
वर्तमान नगर अध्यक्ष बाबुराम पन्थी, पूर्वनगर अध्यक्ष ज्ञानप्रसाद अर्याल, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष तथा पार्टी उपमहासचिव विष्णु पौडेलका स्वकीय सचिव यम पाण्डे, हालका नगरसचिव किसन ज्ञवाली, नगरसदस्य केशव पन्थी र राजेन्द्र ढकालले नगर अध्यक्षमा आकांक्षा देखाएका छन्।
तिलोत्तमा नगरपालिकामा भने वर्तमान नगर अध्यक्ष मोहन चापागाईंले आकांक्षा नदेखाए पनि अरू चारजना आकांक्षी देखिएका छन्। जसमध्ये मिनप्रसाद पोखरेल, नेत्र बन, सुरेन्द्रश्री विश्वकर्मा, तामनाथ पाण्डेले लबिङ गरिरहेका छन्।
पोखरेल हाल नगर कमिटी सचिव छन् भने विश्वकर्मा तिलोत्तमा नगरपालिकाका प्रवक्ता तथा पाण्डे वडा नं. १ का अध्यक्ष समेत हुन्।
त्यस्तै, देवदह नगरपालिकामा पनि चारजना आकांक्षी देखिएका छन्। हालका अध्यक्ष प्रकाश अर्याल, टीकाराम चापागाईं, विष्णु पौडेल र गुमानसिंह कुँवरले अध्यक्षमा दाबी गर्दै कार्यकर्तामाझ आफूलाई सहयोग गर्न आग्रह गर्दै हिँडेका छन्।
उता सिद्धार्थनगर र सैनामैनामा पनि तीन तिन जना अध्यक्षका आकांक्षी देखिएका छन्। सिद्धार्थनगरमा ध्रुब अधिकारी, थानेश्वर पौडेल र चक्रबहादुर थापाले अध्यक्षको लागि लबिङ गरिरहेका छन्।
सैनामैनामा हालका नगर अध्यक्ष नारायण न्यौपानेसँगै शालिकराम भण्डारी र जीवनाथ पाण्डेले आकांक्षा देखाएका छन्।
त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकामा प्रेस चौतारीका पूर्वकेन्द्रीय सदस्य समेत रहेका वीरेन्द्रकुमार मिश्र, निसाहर अहमद खाँ, जगदीश यादव र विनोद कहार गरि चारजना आकांक्षी देखिएका छन्।
नगरपालिकासँगै गाउँपालिकामा पनि एकभन्दा बढी आकांक्षी देखिएपछि पार्टी नेतृत्व मिलाएर लैजान छलफलमा जुटिरहेको छ।