नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनबाट रुपन्देहीमा पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलको स्थिति बराबर देखिएको छ।
रुपन्देहिमा महत्वपूर्ण मानिएका बुटवल उपमहानगर र देवदह नगरपालिकामा पौडेल पक्षको प्यानल बिजयी भएको छ।
बुटवलमा पौडेल पक्षका खेलराज पाण्डेयको प्यानल निर्वाचित भएको छ। पदाधिकारीमा एकजना सहसचिव बाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन्।
यसअघि दुई पटकसम्म बुटवल नगर सभापति रहिसकेका पाण्डेयसँग देउवा समूहकी रिता केसी निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन्।
निर्वाचनमा पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन्। उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मत सहित विजयी भए । सचिवमा पाण्डेय प्यानलकै गंगा पन्थीले ३०७ मत र छाया पोखरेलले २ सय ९४ मत पाएर विजयी भए।
दुईजना सहसचिवमध्ये पाण्डेय प्यानलका देवलाल अर्गली २९७ र गणेश घिमिरे ३०० मत सहित विजयी भए।
त्यस्तै देउवानिकट रहेका गृहमन्त्री बालकृष्ण खाणको गृहनगर तिलोत्तमामा झिनो मतले देउवा पक्षका हरिलाल पाण्डे विजयी भएका छन्।
पौडेल समूहका नारायण न्यौपाने र हरि तिवारी आपसमा भिड्दा दुई मतले पाण्डेय बिजयी भएका हुन्।
वर्तमान नगर सभापतिसमेत रहेका पाण्डेयले १७४ मत ल्याएर विजयी हुँदा न्यौपानेले १ सय ७२ मत र तिवारीले ३० मत प्राप्त गरेका छन्।
यता सिद्धार्थनगरमा देउवा पक्षका कोसिस खड्काले संजीव शर्मा रेग्मीलाई पराजित गरेका छन्। जिल्लामा भरत शाहनिकट रहेका रेग्मी केन्द्रमा भने सशांक कोईराला समुहका मानिन्छन्।
त्यस्तै देवदहमा भने पौडेल समूहका गुणाखर भुर्तेलले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गरेका छन्।
उता सैनामैना नगरपालिकामा भरतकुमार शाहनिकट मानिने रणबहादुर खनालले खाण समुहका कृष्णप्रसाद पोखरेललाई पराजित गरेका छन्।
केन्द्रमा देउवा समूहमा रहेका शाह र खाणले जिल्लामा भने अलग-अलग समूह स्थापित गरेका कारण पार्टी कार्यकर्ताहरुमा पनि त्यसको प्रभाव परेको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि शाहनिकट मोह्मद सहित खाँको नेतृत्वमा सर्वसम्मत कमिटी चयन भएको छ।
१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा लुम्बिनीसहित पाँचवटा स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको हो।
जसअनुसार गैंडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै पदाधिकारी र कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।
मतदान भएको रोहिणी गाउँपालिकामा ईकवाल खाँलाई १६ मतले पराजित गर्दै तारकनाथ योगी सभापतिमा निर्वाचित भएका छन्। कुल १ सय २५ मतदाता रहेको रोहिणीमा योगीले ७० मत प्राप्त गर्दा खाँले ५४ मत प्राप्त गरेका छन्। एक मत बदर भएको थियो। अन्य पदमा भने सर्वसम्मत भएको थियो।
मायाँदेवी गाउँपालिकामा पदम भण्डारीको प्यानल विजयी भएको छ। कूल १ सय २३ मत रहको मायादेविमा भण्डारीले ९१ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी मोहम्मद रफिक खाँनले २९ मत प्राप्त गरेका थिए।
सम्मरीमाई गाउँपालिकाको सभापतिमा रमेश यादव निर्विरोध निर्वाचित भएपनि अन्य पदको लागी भने मतदान हुन सकेको छैन।
त्यस्तै शुद्धोधन गाउँपालिकामा दामोदर पौडेल सभापतीमा ८२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। सभापतिका अर्का दुई प्रत्यासी पल्टन चौधरी र मञ्जीत यादव क्रमशः २१ र २३ मत प्राप्त गरेका छन्। निर्वाचित हुने पौडेल शाह निकट हुन्।
कन्चन गाउँपालिकामा देविराम रेग्मी र सियारी गाउँपालिकामा गोपाल पाण्डे निर्वाचित भएका छन्।