विगतका वर्षजस्तै यसवर्ष पनि लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा ५७ जनालाई विभिन्न १० वटा विधामा विभूषित गर्ने घोषणा गर्यो।
सरकारले २०७६ सालदेखि विभिन्न क्षेत्रबाट प्रदेशको विकास र समृद्धिका लागि योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई विभिन्न पदकबाट विभूषित गर्ने निर्णय गरेको थियो।
सोही अनुरूप यसवर्ष पनि संविधान दिवसको अवसरमा आइतबार बिहान आयोजित कार्यक्रममा विभिन्न १० वटा विधामा ५७ जनालाई प्रदेश स्थापना दिवसको अवसरमा विभूषित गर्ने गरी घोषणा गरेको थियो।
तर विभूषित हुनेहरूको नामावली हेर्दा सरकारले आफ्नै मन्त्रालयका कर्मचारी र उनीहरूकै नातेदारहरू धेरै रहेका छन्। प्रदेश सरकारले विभिन्न तहमा प्रदेश सेवा समर्पण पदकबाट विभूषित गर्न घोषणा गरेका १८ जनामध्ये १० जना व्यक्तिहरू मन्त्रालयभित्रकै कर्मचारी रहेका छन्।
यसरी विभूषित हुनेहरूमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजेन्द्र थापा र जिन्सी शाखाका डिलाराम भण्डारी, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेल र रोशनलाल चौधरी र आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका देविराम पाठक छन्।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयका हितेन्द्र रायमाझी, वन तथा वातावरण मन्त्रालयका दीपक ज्ञवाली, शिक्षा तथा सामाजिक विकास मन्त्रालयका थानेश्वर ज्ञवाली, आर्थिक मामिला तथा योजना मन्त्रालयका जीवकला भण्डारी र प्रदेशसभा सचिवालयका लेखा अधिकृत आलोक अग्रहरीलाई पनि प्रदेश सेवा समर्पण पदक दिने घोषणा गरेको छ।
प्रदेशको कृषि मन्त्रालयबाट भने पदकका लागि कुनै कर्मचारीको नाम सिफारिस गरिएको छैन।
प्रदेश सरकारले विभूषित गर्ने घोषणा गरेका एक व्यक्ति नेपाल सरकारबाट समेत विभूषित भएका छन्। एकैदिन संघ र प्रदेश सरकारबाट विभूषित हुनेमा ओकेबाजे भनेर परिचित जापनिज नागरिक काजुमासा काकिमी रहेका छन्।
विगत २५ वर्षदेखि स्वयंसेवकको रूपमा पाल्पाको ग्रामीण बस्तीमा रही विपन्न तथा पछि परेका समुदायलाई शिक्षा, सरसफाइ, खानेपानी, खेलकुदको क्षेत्रमा योगदान पुर्याउँदै आएका ओकेबाजेलाई प्रदेश सरकारले समाजसेवा श्री पदक 'क' बाट विभूषित गर्ने घोषणा गरेको छ।
भाइको सिफारिसमा दाइलाई पदक
प्रदेश सरकारले विभूषित गर्ने ५७ जनाको नामावलीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्थ र शिक्षा मन्त्रालयका सचिव महादेव पन्थका दाजु यदुलाल पन्थ समेत रहेका छन्।
३३ वर्ष सामुदायिक विद्यालयमा अध्यापन गरी विगत तीन वर्षदेखि रूपन्देहीको रामपुर शहिद नारायण पोखरेल क्याम्पसको प्रमुख रहेका पन्थलाई भाइहरू महादेव र रविलालले प्रदेश प्रज्ञा पदक 'ख' का लागि सिफारिस गरेका हुन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पदक सिफारिस समितिका सदस्य सचिव समेत हुन्।
प्रदेश पदक ऐन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पदक सिफारिस समितिको सदस्य सचिव रहने व्यवस्था छ।
सोही ऐनले प्रदेश सरकारका कर्मचारीबाहेकका अन्य व्यक्तिको हकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले पदक सिफारिस गर्न पाउने व्यवस्था गरेको छ।
गुल्मीको रूरू गाउँपालिका- ४ स्थायी बसोबास रहेका यदुलाल रविलाल र महादेवका सहोदर जेठा दाइ हुन्।
पदक पाउने व्यक्तिहरूको नामावलीमा यदुलालको ठेगाना रूपन्देही लेखिएको छ। समितिमा रहेका सदस्यहरूले स्वार्थ बाझिने गरी व्यक्ति छनोट र वितरण गरेपछि पदक विवादित बनेको छ।
प्रदेश सरकारले २०७६ सालदेखि संविधान दिवसको अवसरमा पदक घोषणा गरी प्रदेश सरकार स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको छ।
जसअनुसार यस वर्ष प्रदेश प्रमुख जनसेवा पदक 'क' १ जनालाई, प्रदेश प्रमुख जनसेवा पदक 'ख' २ जनालाई, प्रदेश प्रमुख सेवा पदक 'ग' ४ जनालाई प्रदान गरिने भएको छ।
मुख्यमन्त्री प्रज्ज्वल दीप पदक 'क' १ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक 'ख' २ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक 'ग' २ जनालाई दिइनेछ।
प्रदेश सेवा समर्पण 'क' एक जनालाई, प्रदेश सेवा समर्पण 'ख' १५ जनालाई, प्रदेश सेवा समर्पण 'ग' २ जनालाई दिइने प्रदेश राजपत्रमा उल्लेख छ।
यस्तैगरी, उजिरसिंह दीप पदक 'ख' ४ जनालाई, उजिरसिंह दीप पदक 'ग' २ जनालाई, समाजसेवा श्री पदक 'क' १ जनालाई, 'ख' ८ जनालाई, 'ग' २ जनालाई, प्रदेश रत्न पदक 'ख' १ जनालाई, 'ग' २ जनालाई, पुथाश्री शिखर पदक 'ग' १ जनालाई, प्रदेश प्रज्ञा पदक 'ख' २ जनालाई दिइने भएको छ।
यस्तै प्रजापति गौतमी पदक 'ख' १ जनालाई, 'ग' २ जनालाई, दंगीशरण बलिहाङ पदक 'ख' १ जनालाई र 'ग' १ जनालाई दिइने राजपत्रमा उल्लेख छ।